बराबरीमा सकियो नेपाल र कुवेतको खेल
काठमाडौं । नेपाल र कुवेत बीचको मैत्रीपूर्ण फुटवल गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति अबेरसम्म भएको खेलमा गोलरक्षक किरण चेम्जोङका कारण नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए ।
दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा कुवेतले जित दर्ता गर्न सकेन । खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।
प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ खेलाडीलाई डेब्यु दिएका थिए । उनले मिडफिल्डरद्वय रवी पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज विक र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्रदान गरे । विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए । नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ ।
नेपाल भर्सेस कुवेत किरण चेम्जोङ मैत्रीपूर्ण फुटवल