प्रवास

भाषा पास गरेका साढे ९ हजार नेपाली कोरिया जानबाट बञ्चित

भाषा पास गरेका साढे ९ हजार नेपाली कोरिया जानबाट बञ्चित

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये नौ हजार चार सय नेपाली कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन्।

 

कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोरिया जान पाउने गरेका छैनन् । परीक्षा छनोटको आधारमात्रै बनेको छ । कोरियाले हरेक वर्ष कोटा निर्धारण गर्छ। त्यसैअनुसार भाषा परीक्षामा उत्तीर्ण हुनेको नामावली प्रकाशन हुँदै आएको छ । कामदार आफैँले पनि रोजगारदाता छनोट गर्न पाउँदैनन् । ‘हामीले परीक्षा सञ्चालन गर्ने र रोजगारदाताले चयन गरेकालाई पठाउन समन्वय मात्रै गर्ने हो’, ईपीएसका सूचना अधिकारी शोभाकर भण्डारीले भने।

 

भाषा परीक्षा पास गर्नेले दुई वर्षभित्र रोजगारदाताले चयन नगरे पुनः परीक्षामा सहभागी हुनुपर्छ । ‘हाम्रो समय र पैसा मात्रै सकियो’, कोरिया जान नपाएका ताप्लेजुङका रमेश लिम्बूले भने, ‘भाषा सिक्न काठमाडौंमा आए । नाम निस्कियो । कोरिया जान पाइन्छ भनेर कुरेर बसियो । अवसर आउँदा अरू काम पनि गरिएन ।’  यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

रोजगार अनुमति प्रणाली भाषा परीक्षा

विशेष