कञ्चनपुरमा सडक निर्माणमा भारतीय सुरक्षा बलको अवरोध
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित आफ्नै भूमिमा सडक निर्माण गर्ने क्रममा आज भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ ।
सीमा प्रहरी चौकी ब्रह्मदेवका प्रमुख प्रहरी नायब निरीक्षक जनकबहादुर कार्कीले एसएसबीले नेपाल–भारतको विवादित भूमि रहेको दाबी गर्दै सडक निर्माणमा अवरोध गरेको जानकारी दिनुभयो । टनकपुर ब्यारेजदेखि नेपालको सिमानासम्म यसअघि भारतले सडक निर्माण गरिसकेको छ ।
टनकपुर ब्यारेजबाट ब्रह्मदेव बजार आउने उक्त सडक कालोपत्रे गर्न भीमदत्तनगरपालिकाले ४३ लाखका ठेक्का सम्झौता गरेको थियो । नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले भने, “हामीले अरुको भूमिमा सडक कालोपत्रे गर्न बोलपत्र गर्ने कुरै आउँदैन । ठेक्काअनुरुप निर्माण कम्पनी काम शुरु गर्न त्यहाँ गएको हो ।”
सडक निर्माणका लागि ब्रह्मदेव (निर्माणक्षेत्र) पुगेको न्यू जोशी निर्माण सेवाले काम शुरु गर्न डोजरको प्रयोग गर्दा अवरोध गरेका हुन् । ब्रह्मदेव सीमा प्रहरी चौकीले दुई देशबीचको संयुक्त सीमा बैठकबाट उक्त क्षेत्रकोबारेमा रहेको समस्याको समाधान खोज्न एसएसबीले आग्रह गरेको जानकारी दिएको छ । केही महीनाअघि पनि सोही क्षेत्रमा नेपाली भूमिसम्म पुगेर भारतीय पक्षले सडक निर्माण गर्न खोज्दा विवाद भएको थियो ।