स्वास्थ्य

जान्नुहोस्, कुकुरको दिसाबाट यस्ता रोग निम्तिन्छन्

जान्नुहोस्, कुकुरको दिसाबाट यस्ता रोग निम्तिन्छन्

काठमाडौं, चैत ८ । विशेषगरी काठमाडौंलगायत सहरका बासिन्दा मर्निङवाकका लागि भन्दै सडक किनार वा सार्वजनिक ठाउँमा कुकुर लिएर निस्किएका भेटिन्छन् । तर, ती सहरिया शिक्षित भनिने गरेका मानिसको उद्देश्य खाली मर्निङवाक मात्रै हुँदैन । उनीहरूको उद्देश्य त कुकुरलाई शौच गराउने हुन्छ । त्यो पनि सडकका गल्ली, चौरजस्ता सार्वजनिक ठाउँमा । यसरी जथाभावी कुकुरलाई दिसा–पिसाब गराउँदा यसले हावामा ब्याक्टेरिया फैलाउँछ । जो मानव स्वास्थ्यका लागि निकै नै हानिकारक हुन्छ । 

 

यसरी सर्छ ब्याक्टेरिया
सामान्यतया कुकुरको एक ग्राम दिसामा करिब ३० हजारभन्दा बढी ब्याक्टेरिया हुन्छन् । शरीरमा पसेपछि तिनले टेपवर्म (नाम्लेकिरा) को रूप लिन्छन् । नाम्लेकिरा यस्तो एउटा परजीवी हो, जुन पाँच हजारभन्दा धेरै प्रजातिको हुन्छ । यसको लम्बाइ १५ मिटरसम्म लामो हुन्छ । खासगरी कुकुरको पेटमा हुने सेक्सुअल साइकलबाट नाम्लेकिराको अन्डा बन्छ । त्यो दिसामार्फत बाहिरी वातावरणमा आइसकेपछि सागसब्जी, श्वासप्रश्वास आदिको माध्यमबाट मानिसको शरीरमा पस्छ । सो अन्डा हाम्रो शरीरमा प्रवेश गरेपछि रगतको माध्यमबाट विभिन्न अंगमा पुग्छ । अनि, स्वास्थ्यमा विभिन्न समस्या सिर्जना गर्छ । अब जानौँ, समस्याबारेः

 

आन्द्रामा समस्या
नाम्लेकिरा रगतको माध्यमबाट आन्द्रामा गएर बस्छ । यसको आफ्नै पाचनअंग नहुने भएकाले पचाएको मात्रै खानेकुरा खान्छ । कतिपय अवस्थामा एकै ठाउँमा गुजुल्टिएर बस्ने र आन्द्रामा अवरोध सिर्जना गर्ने गर्छ । जसले गर्दा पेट दुख्ने, खाना नपच्नेजस्ता समस्या देखा पर्छन् ।

 

कलेजोमा समस्या
नाम्लेकिरा आन्द्रामा मात्रै नबसी शरीरका जुनसुकै अंगमा पनि प्रवेश गर्न सक्छ । कलेजोबाट उत्पादित पित्त रगतको माध्यमबाट बाहिर जानबाट यसले रोक्छ । अनि, त्यो पित्त पुनः कलेजोमै गएर बस्छ । यस्तो अवस्थामा कमलपित्त रोग लाग्छ ।

 

दिमागमा असर
कतिपय अवस्थामा नाम्लेकिरा मानिसको दिमागमा गएर बस्न सक्छ । यो निकै हानिकारक हुन्छ । यसले गर्दा, टाउको बेस्सरी दुख्ने, रिगंटा लाग्ने, बेहोस हुने हुन्छ । यसबाहेक, आँखा धमिलो हुने, छाला पहेँलो हुने, खोकी लाग्ने र श्वास फेर्न ग्राहो हुने आदिजस्ता समस्या देखा पर्छन् ।

 

रोकथाम र उपचार
घरपालुवा कुकुरलाई बाहिर जथाभावी दिसा–पिसाब नगराउने ।
त्यस्तै, छाडा कुकुरहरूको पनि उचित व्यवस्थापन गर्नुपर्छ ।
सागसब्जी, बंगुरको मासु आदिमार्फत नाम्लेकिरा शरीरमा सर्ने भएकाले यस्ता खानेकुरा राम्ररी
पकाएर खानुपर्छ । रोग लागेको थाहा पाउनेबित्तिकै तुरुन्त सम्बन्धित चिकित्सककोमा जानुपर्छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कुकुर दिसा

विशेष