जीर्ण विद्यालयहरु नमुना बन्दै

विराटनगर । विराटनगर - १ परोपकार टोलमा अवस्थित सयपत्री परोपकार आधारभूत विद्यालयको कक्षा चारमा अध्ययनरत सलिना खातुन गुँइठा बनाउनमा व्यस्त थिइन् । वार्षिक परीक्षा आउन एक हप्ता मात्र बाँकी थियो । तर, विद्यालय जाने फुर्सद थिएन उनलाई । न त घरमा पढेर बस्ने वातावरण ।
सलिनाको यो दैनिकी एक दिनको मात्र होइन । घर नजिकैको सयपत्री परोपकार आधारभूत विद्यालयको कक्षा ४ मा पढ्ने उनी वर्षभरमा मुस्किलले ३०–४० दिन विद्यालय गएको आफैं बताउँछिन् । उनलाई बोर्डमा लेखेको सार्न आउँछ तर पढ्न आउँदैन । अक्षर चिन्न सक्दिनन् । विद्यालय किन नगएको भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पापा मम्मी काममा जान्छ । दिनभर घरको काम गर्नुपर्छ, बहिनी हेर्नुपर्छ ।’
कक्षा ४ सम्म अध्यापन हुने उक्त विद्यालयमा ७ शिक्षक शिक्षिका छन् भने विद्यार्थीको संख्या १० छ । त्यो पनि नियमित आउँदैनन् । विद्यालय नआउने कारण सबैको एउटै छैन । कोही घरमा काम भएर आउँदैनन, कोही खेल्न जान्छन्, कसैको सानै उमेरमा काम गरेर परिवार पाल्नुपर्ने बाध्यता छ । कोही भने विद्यालयमा पढाई नै हुँदैन भनेर खेल्दै दिन बिताउँछन् ।
सयपत्री एउटा उदाहरण मात्र हो । विराटनगरमा भएका ५५ सामुदायिक विद्यालयमध्ये ३५ को अवस्था अत्यन्तै कमजोर रहेको महानगरका शिक्षा हेर्ने कर्मचारीहरु नै बताउँछन् । बाँकी रहेकाको अवस्था पनि त्यति चित्तबुझ्दो छैन । जेनतेन काम चलेकै छ ।
समग्र शिक्षा र विशेषगरी सामुदायिक विद्यलयको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउनुपर्छ भन्दै एउटा समुह राष्ट्रिय अभियानमा होमिएको छ । ‘सीप, संस्कार र प्रविधिसहितको शिक्षा आजको आवश्यकता’ भन्ने नारासहित विद्यालय सुधारको अभियानमा हिँडेका दुई युवाहरुले विराटनगरका तीन विद्यालयमा निःशुल्क वार्षिक परामर्श तथा सुधार योजनाको जिम्मा लिएका छन् ।
सार्वजनिक विद्यालय सुधार अभियान अन्तर्गत अभियानताहरुको तर्फबाट विराटनगर महानगरपालिका भित्र जीर्ण अवस्थामा रहेका तीन विद्यालयलाई वर्ष दिन भित्र भौतिक तथा शैक्षिक स्वरुपमा परिवर्तन ल्याउने जिम्मा लिइएको संयोजक अभिषेक घिमिरेले बताए । विराटनगर १ मा अवस्थित सयपत्री परोपकार आधारभूत विद्यालय, विराटनगर ३ स्थित शहीद आधारभूत विद्यालय तथा विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउने जिम्मा लिएको घिमिरे जानकारी दिए ।
‘वृहत राष्ट्रिय शिक्षा अभियानले सम्भावना सकिएर अत्यन्तै जीर्ण अवस्थामा पुगेका विद्यालयहरुलाई नमुना बनाउने अठोट गरेको छ ।’ संस्थाका सहसंयोजक श्रीमन्त भट्टराईले भने, ‘सार्वजनिक विद्यालयको सुधारको लागि सबै पक्ष सकारात्मक भएको खण्डमा अभियान सफल हुन्छ ।’ त्यसो त, देश विकासको लागि सार्वजनिक विद्यालयको शैक्षिक स्तर सुधार गर्नेबाहेक अन्य विकल्प नभएको भट्टराई बताउँछन् । उनी भन्छन्, ‘भौतिक संरचनाहरु क्षणिक विकास मात्र हुन् । दीर्घकालिन विकासको लागि मानवीय सोच र चेतनामा विकास हुन आवश्यक छ । त्यसको लागि ८० प्रतिशत भन्दा बढी बालबालिकाले अध्ययन गर्ने सार्वजनिक विद्यालय सुधार नगरी हुन्न ।’
शिक्षा अभियानले केही अनिवार्य आवश्यकता बाहेकका विद्यालयमा भौतिक संरचनामा भने सहयोग गर्ने छैन । ‘हाम्रो काम परामर्श तथा उत्प्रेरणा जगाउने र विद्यालयलाई समाजसँग जोड्ने हो ।’ अभियानका संयोजक घिमिरेले भने, ‘भौतिक संरचनाको क्षेत्रमा काम गर्न हामीसँग कुनै संस्था वा दातृ निकायको सहयोग छैन । यो नाफामूलक काम पनि होइन ।’
होलीमा विद्यालय रंगाइयो
सिंगो समाज रंगको पर्व होलीमा रमाइरहेको बेला वृहत राष्ट्रिय शिक्षा अभियान समूह भने विद्यालय रंगाउन व्यस्त भएको छ । वृहत राष्ट्रिय शिक्षा अभियान समूहले वर्ष दिनभित्र नमुना बनाउने भनिएको सयपत्री परोपकार आधारभूत विद्यालयमा शिक्षा अभियानको नेतृत्वमा रंग लगाइएको हो ।
‘सीप, संस्कार र प्रविधिसहितको शिक्षा आजको अनिवार्य आवश्यकता’ भन्ने नारासहित सार्वजनिक विद्यालयको सुधार अभियान सुरु गरेको समूहले होली पर्वको अवसरमा विद्यालय रंगाएको संयोजक घिमिरे बताउँछन् ।
भौतिक संरचनाको अभाव र कमजोर शैक्षिक स्तरको कारण विद्यार्थीहरु नियमित विद्यालय नआउने समस्यालाई ध्यानमा राख्दै शिक्षा सुधार अभियानले होली पर्वको अवसरमा विद्यालय रंगाएको हो । वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरे र सहसंयोजक श्रीमन्त भट्टराईको व्यक्तिगत खर्चमा उक्त विद्यालयमा रंग लगाइएको हो । विद्यालय रंगाउने कार्यक्रममा स्थानीय वडाका अध्यक्ष उद्धव अर्याल, विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरु साथै विद्यालय प्रशासन, शिक्षक शिक्षिका र स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।
विराटनगर १ स्थित अत्यन्तै जीर्ण अवस्थामा रहेको समाजसँग जोडिएर समाजको लागि केही गरौं भन्ने उद्देश्यसहित सार्वजनिक विद्यालयमा होलीको दिन रंङ लगाएको बताउँदै संयोजक घिमिरे भन्छन्, ‘बालबालिकालाई खेल्दै, रमाउँदै सीप, संस्कार र प्रविधि सहितको शिक्षा प्रदान गराउने हाम्रो अभिप्राय हो । हामी समस्या भित्र समाधान देख्छौं र त्यसैलाई अवलम्वन गरेर परिवर्तन ल्याउँछौं ।’ घिमिरेका अनुसार नमुना बनाउने भनिएका विद्यालयहरुमा शिक्षकको पेशागत विकास तथा प्रोत्साहन, अभिभावक सचेतना तथा अभिमूखिकरण, कक्षाकोठा व्यवस्थापन साथै विद्यालय विकास परामर्श, अत्याधुनिक शिक्षण सिकाई लगायतका विषयमा काम हुनेछन् ।
वृहत राष्ट्रिय शिक्षा अभियान अन्तर्गत उक्त समूहले आउँदो नयाँ शैक्षिक सत्र लक्षित कार्यक्रमहरु गर्ने तयारी गरिरहेको संयोजक घिमिरे बताउँछन् । शिक्षक समूह तथा समुदायलाई विद्यालयप्रतिको जिम्मेवारी बहन गराउँदै निजीको तुलनामा उत्कृष्ट शिक्षण सिकाइ हुने सामुदायिक विद्यालयमा अभिभावकहरुलाई सकारात्मक बनाउन सके र शिक्षकहरु जिम्मेवार बनाउन सके अनपेक्षित सुधार आउने घिमिरेको बुझाइ छ । उनी भन्छन्, ‘हामीमा आफ्नो कर्तव्यबोध नभएर मात्र हो । नत्र सामुदायिक विद्यालयमा तालिमप्राप्त दक्ष शिक्षक शिक्षिकाहरु हुनुहुन्छ, भौतिक संरचना पनि निजीको तुलनामा बलियो छ ।’ घिमिरेका अनुसार निजी विद्यालयलाई थप गुणस्तरीय बनाउनुका साथै सामुदायिक विद्यालयलाई सुधार गर्दै लगे देशको शैक्षिकस्तर माथि उठ्ने निश्चित छ ।