हामी नेता हँसाउने जोकर होइनौं (भिडियोसहित)
काठमाडौं । नेपालआजको नियमित कार्यक्रम ‘फरक संवाद’मा यसपटक शैलेन्द्र सिंखडा अतिथि हुुनुनुहन्छ । फरक संवादका प्रस्तोता श्रीकृष्ण सिंखडासँग शैलेन्द्रले रोचक कुराकानी गर्नुभएको छ । हास्य विधाका कवि, साहित्यका वा हास्यकलाकारकै रुपमा शैलेन्द्र परिचित हुनुहुन्छ । उहाँका कैयन हास्य कवितालाई दर्शक, स्रोताले औधि मन पराएका छन् । उहाँले फरक संवादमा आफ्ना धारणा निम्नानुसार प्रस्तुत गर्नुभएको छ :
फरक संवादमा शैलेन्द्रले आफ्नो विधाभन्दा फरक विषयवस्तुमा टिप्पणी गरेका छन् । जुन फरक संवादको मुख्य विषयवस्तु हुने गर्छ । उनको मतमा नेपालको राजनीतिले समाजलाई दिशानिर्देश गर्न सकेको छैन । समाजले राजनीतिलाई लगाम लगाउन सकेको छैन । तर देश बिगारेको चाहिँ राजनीतिले नै हो । हरेक राजनीतिक दलमा खराब र असल मानिसहरु छन् ।
भगवान रामचन्द्र वनमा जाँदा सुनको मृग देखे । सीताले भनेको कुरा पत्याएर उनी मृग सिकार गर्न गए । सुनको मृग हुँदै भन्ने भगवान रामलाई पनि हेक्का भएन किनभने त्यो रामका लागि विनाशको काल थियो । ‘विनाश काले विपरित बुद्धि’ भनेको यहि हो । हाम्रो नेताहरु पनि सुनको मृगका पछाडि बाँण लिएर दौडिएको अवस्था छ ।
हास्य कवि सिंखडाको मतमा नेपाल वा दक्षिण एसियामै हास्यव्यंग्यको शैली गलत छ । भगवान विष्णुले हिरण्यकश्यपुको वध गर्न नरसिंहको अवतार लिने बेलामा हास्यरस प्रस्तुत गरेका थिए । सिंहको टाउको, नंग्रा सिंहको शरिर मानिसको छ । त्यस्तो स्वरुप देखेर मर्ने बेलामा हिरण्यकश्यपु हाँस्छ, हाँस्दाहाँस्दै उसको मृत्यु हुन्छ ।
त्यो हाँसोले सत्तापलट हुन्छ । हिरण्यकश्यपुका छोरा प्रह्लादले सत्ता पाउँछन् । त्यस्तो स त्तापलट गर्ने हास्य हिरण्यकश्यपुका छोरा प्रह्लादले सत्ता पाउँछन् । त्यस्तो सत्तापलट गर्ने हास्य विधालाई अहिले ‘चिप’ बनाइएको छ । अहिले नाकमा गोलभेडा टाँस्ने, आँखाबाट फिरफिर गर्दै पानी निकाले, सर्कसको जोकर जस्तो बनाइएको छ । हास्य विधा भनेको गहन विषय हो । यो समाजसुधारका लागि ‘खतरनाक’ औजार हो । नेताहरुका लागि हामीलाई जोकर बनाइएको छ तर होइनौं । कसैप्रति पूर्वाग्रही नभई हामीले हास्यव्यंग्य प्रस्तुत गर्नुपर्छ ।
हामीलाई पञ्चायतकालमा संसदीय व्यवस्था खराब भनेर पढाइन्थ्यो । हाम्रो मनस्थितिमा संसदीय व्यवस्था कस्तो हो भनेर आफैंले आत्मबोध गर्नु परेको छ । त्यो आत्मबोध गर्न पाउँदा नपाउँदै गणतन्त्रको नारा लाग्यो । नारामा हामी अमेरिकाभन्दा माथि पुगिसक्यौं, काममा इथोपियाभन्दा तल छौं ।
‘गुरुजी तपाईंले कक्षामा पढाउँदा
देश कस्तो ? भन्ने प्रश्नमा मैले
‘पूर्वपश्चिम फैलिएको भुभाग, उत्तर–दक्षिण फैलिएको जनवाद र धनवाद’ लेखेको थिएँ
त्यो बेला तपाईंले मेरो उत्तरपुस्तिका च्यातिदिनुभोे
कान निमोठ्नुभो
कुखुराको भाले बनाउनभो
अनि
पढाउनुभो– सुन्दर शान्त नेपाल ।
खैत गुरुजी, तपाईंको सुन्दर शान्त नेपाल कहाँ छ ?
आविष्कार तपाईंले धेरै घोकाउनुभो
संस्कार थोरै सिकाउनुभो
आइन्स्टाइन, डार्बिन र न्युटनलाई महान बनाउनुभो
हामीलाई त्यो किन पढाउनु भएन
ढिकी, घट्ट र स्याखुका आविष्कारक को हो, कहाँ छ् ?
जाबो रुखको स्याउ भुइँमा खस्छ भन्ने त हाम्रो देशको कागलाई पनि थाहा छ
गुरुजी तपाईंको आशिर्वाद पनि मिथ्या भो
सधै भन्नु हुन्थ्यो भविष्यको कर्णधार
अहिले हामी बनेका छौं विदेशीको कामदार
हेर्नुस्, विदेशीमा बगाएको पसिनामा बास्न आउँदैन
अमुक राष्ट्रमा गएर अमुक कर्म गरेर, अमुक राशीको धन ल्याएपछि
हामी हाम्रो सम्पत्तिले चिल्लो कार किनेर तपाईँका मुखमा हिलो छ्याप्न सक्छौं
गुरुजी
भोक लाग्यो भने दोबाटोमा पसल थाप्नूस्
हामी डग्लसको चौकीदार भए पनि देवकोटाको किताब किन्न सक्छौं
तपाईं भन्नुहोला ‘बाबु, यो समयको खेल’
हो गुरुजी यो समयको खेल
त्यो बेला म फेल, यो बेला तपाईं फेल
म शिक्षामा फेल, तपाईं सिद्धान्तमा फेल’
सिंखडाले यो कविता वाचन गरेपछि नेपालीहरुलाई तीन वर्गमा बाँडे । झोले, खोले र नबोले । यिनका परिभाषा उनकै हिसामा यस्तो छः
झोलेः सधै नेताको झोला बोकेर हिँड्ने, कहिले गाउँ नजाने ।
खोलेः गाउँमा खोले खाएर बस्ने । जसलाई नेपालको राजनीतिमा मतलव छैन । राष्ट्रपति, प्रधानमन्त्री पनि चिन्दैन ।
नबोलेः नबोले चाहिँ तपाईं हामी । तीन सय रुपैयाँ लिटरको पेट्रोल, ६ हजारको ग्यास किन्ने हामी हौं । पाँच वर्ष नेतालाई गाली गछौं, चुनावमा उसैलाई भोट दिन्छौं ।
नेता चार प्रकारका छन्ः
बम र बन्दुकले बनाएको नेता –विपक्षी र सत्ताधारी
दरबार र तरबारले बनाएको नेता– राजतन्त्रको पुजारी, धर्मको व्यापारी
जनताले मन पराएर उठाएको नेता– ५५ लाख राखेर चन्दा माग्ने नेता
उताबाट छाप लगाएर पठाएको नेता– उतैको मुखियालाई हमारा प्रधानमन्त्री भन्नेहरु ।
यस्ताले नेतृत्व गर्दा देश कस्तो होला ?
पञ्चायतकालमा लोकसेवा फेल भएका प्रधानमन्त्री भए
अहिले बोर्ड फर्स्ट भएका प्रधानमन्त्री भए
सिंखडाको बुझाइ देश भने उस्तै छ ।
सिंखडाले प्रधानमन्त्री केपी ओलीलाई पनि केही सुझाव दिएका छन् । उनले हरेकलाई नियममा बाँधेर राख्न प्रधानमन्त्रीलाई सुझाए । काठमाडौंमा तीन आनामा सात तल घर बनाउने, ४८ लाखको गाडी किन्ने अनि त्यो गाडी सडकमा पार्किङ गर्नेहरु धेरै छन् । लाइसेन्स नहुनेले गाडी किन्न नपाउने नियम बन्छ भने घरमा पार्किङ नहुनेलाई किन गाडी किन्न दिने ? सिंखडा प्रश्न गर्छन् ।
सिंखडाको अर्को कविताः
राजतन्त्र हटेको हो कि होइन
एम्बुलेन्स नै जाममा परेर
एम्बुलेन्समै सुत्केरी हुनुपरेको कुरा
महामहिमहरुलाई थाहा छ कि छैन
तै पनि घेरियावादमा घेरिएकै छ
फरियावादमा बेरिएको छ
दाम,काम, हाम खाम उस्तै छ
मात्र कुर्सीमा मान्छे फेरिएको छ
विदेशतिर नियाल्दा
दर्शकसँग बसेर फुटबल हेर्ने राष्ट्रपति पनि देख्यौं
ट्रेन चढेर मन्त्रालय जाने मन्त्री पनि देख्यौं
कठै हामीले हाम्रो सन्दीपको नाम पनि मोदीबाट सुन्नु पर्यो
अनि त संसदमा सांसदबाट प्रश्न भो रे
यो संदीप भन्ने केटो कुन पार्टीको हो रे ?