फेसबुक ट्वीटर रमाईलोको लागि हैन, समाजिक अभियानका लागि
इलाम। फेसबुक, ट्विटर लगायत अन्य सामाजिक संजालहरुमा हामी तस्वीर, भिडियो अथवा स्टाटस हालेर एकछिन रमाउन बाहेक खासै केही गरेका हुँदैनौ । फुर्सदको समयमा वा व्यस्त समयमा पनि कतिपय व्यक्ति सामाजिक संजालमै झुण्डिने गर्दछन् । तर इलामको देउमाई नगरपालिकाको चमैताका स्थानीयले सामाजिक संजालको प्रयोग गरी नमुना कार्य गरेका छन् ।
सामाजिक संजालमार्फत देश तथा विदेशमा रहेका चमैतावासीहरुबाट सहयोग संकलन गरी एम्बुलेन्स खरिद गरिएको हो। ‘चमैता सरोकार समाज’को संयोजनमा एक वर्षमा १४ लाख ५० हजार रकम सङ्कलन गरिएको थियो । १० लाखमा एम्बुलेन्स खरीद गरिएको छ भने बाँकी रकमले समाजको भवन निर्माण गरिने बताइएको छ । स्थानीयस्तरमा नै एम्बुलेन्स उपलब्ध भएपछि चमैतावासीलाई विरामी पर्दाको अवस्थामा सहज हुने भएको छ ।