समाज

ढिकी, जाँतो पढाउने सरकारी स्कुल

ढिकी, जाँतो पढाउने सरकारी स्कुल

यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।


 

सिन्धुपाल्चोक जिल्लाको कालिका गाउँ । सीमान्तकृत माझीहरूको बसोबास रहेको यो गाउँ चरम गरिबीको खुल्ला पुस्तकको परिचय बोकेर वर्षौंदेखि बसिरहेको छ । तर, तिनै गरिबका सन्तान पढ्ने  उखुबारीमा रहेको यो विद्यालयको इज्जतै बेग्लै छ । यस विद्यालयमा माझी समुदायका विद्यार्थीको वर्चस्व छ । सामुदायिक भएर पनि निजी विद्यालयलाई टक्कर दिन सक्ने क्षमता भएको कालिका निम्न माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई शिक्षा हैन, ज्ञान बाँड्छ । जुन विद्यालयमा घोकन्ते विद्या पूरै बर्जित छ । जहाँ चक, डस्टरको प्रयोग हुँदैन । कक्षा कोठामा शिक्षक र विद्यार्थीबीच साथीभाइजस्तो व्यवहार हुन्छ । पाठ नघोकेको या गृहकार्य नगरेको नाममा कुनै शिक्षकले विद्यार्थीलाई कुट्नु त परै जाओस् कर्के नजरसम्म लगाउन पाइँदैन ।

 

आफ्ना विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिन शिक्षकहरू दिनरात मेहनत गर्छन् । पाठै पिच्छेका प्रयोगात्मक सामाग्री तयार गर्नु शिक्षकको दैनिकी बन्दै आएको छ । शिक्षकहरूको मेहनत हेर्दा लाग्छ– उनीहरू दिनैपिच्छेको अग्निपरीक्षामा छन् ।  घोकन्ते विद्या भन्ने परम्परागत उक्तिलाई यहाँको वातावरणले मिथ्या सावित गरिदिन्छ ।  एउटा सानो विद्यालयले नौलो तरिकाबाट बाल मस्तिष्कमा शिक्षाको आलोक छर्न गरेको प्रयास यसक्षेत्रकै लागि नमूना बनेको छ ।

 

विद्यार्थी कहिले ढिकी, जाँतो, ओखल कुटेर शिक्षाको अभ्यास गरिरहेका हुन्छन् त कहिले मदानी र ठेकीको घार्रघुर्रमा रमाइरहेका हुन्छन् । हलगोरु बनेर हलो जोत्नेदेखि असारे गीतमा छुपुछुपु रोपाइँ गर्ने विद्यार्थीको उत्साह उत्तिक्कै चाखलाग्दो देखिन्छ ।

 

व्यवहारिक र सिर्जनात्मक विधिबाट विद्याथीले धेरै सिक्न सक्छन् भन्ने विश्वव्यापी मान्यता हो । विज्ञान होस् या गणित, अंग्रेजी होस् या नेपाली सबै विषयको प्रयोगात्मक अभ्यास हुन्छ । पढ्ने क्रममा विद्यार्थी यसरी रमाएर पढ्छन् कि उनीहरु पढेको पत्तै पाउँदैनन् । हेर्नुस् न सिकाउने विषयलाई संगीतका माध्यमबाट मनोरञ्जनपूर्ण बनाएर सिकाइएको यो विधि आफैँमा रोमाञ्चक छ ।

पढाइमा मात्र हैन, खेलाइमा समेत विद्यार्थीको वृत्ति विकास र स्वास्थ्यमा ध्यान दिने गरिएको छ । स्वास्थ्यलाई हानी पुर्‍याउने रबर जोडेर केटाकेटी बीच खेलिने लोकप्रिय चुंगी खेल यिनीहरू स्थानीय वनस्पतिको उपयोग गरेर खेल्छन् । पढाइको यो विधिले शिक्षासँगै समाजबाट लोप हुने क्रममा रहेका परम्परागत वस्तुका विषयमा भावी पुस्तालाई जानकारी दिने काम पनि भएको छ । यस्तो शिक्षाको परिणाम के त रु विद्यार्थीमा सीपमूलक क्षमताको विकास र घर व्यवहारमा सहभागिता बढेको शिक्षकहरूको अनुभव छ । बाउआमालाई कामकाजमा सघाउने चरित्रको विकास उनीहरूमा भएको छ । यतिमात्र होइन, प्रयोगात्मक ज्ञानले आर्जेको ज्ञान चिरस्थायी बनाउन सहयोग गरेको छ ।

 

माध्यम हलो, जुवा, ढिकी जाँतो भए पनि त्यसको गन्तव्य आधुनिक शिक्षा पद्दति नै हो । अंग्रेजी भाषा लेखन र बोल्नमा पनि विद्यार्थी दक्ष छन् । त्यहाँ कार्यरत शिक्षक शिक्षिका यसलाई ‘अर्गानिक’ शिक्षा भन्न रुचाउँछन् । यसले दिएको अर्को सन्देश के हो भने शिक्षक शिक्षिका स्वयं विद्यार्थीभन्दा बढी मेहनत गर्छन् । यहाँको पठनशैलीबारे देशदेशावर चर्चा हुने गरेको छ । अरू जिल्लाका शिक्षाप्रेमीहरू समेत यहाँ आएर आफ्नो विद्यालयमा समेत यही शैलीको पठनकला भित्र्याउन चाहेको बताउँदा यहाँको व्यवस्थापन, शिक्षक शिक्षिका दंग पर्छन् । सानो मेहनतले उनीहरूले विद्यालयलाई यो ठाउँमा पुर्‍याएका होइनन् । अभिभावकले ‘हली’ बनाउन स्कुल पठाएको हैन भन्दै धेरै विरोध गरे । कतिले भर्ना भएका बच्चा अन्यत्र लगे । जब शिक्षाको सकारात्मक प्रभाव बढ्दै गयो, गएकाहरु फिर्ता हुन थाले । विद्यालय परिवारले यसलाई विजय ठानेको छ ।

 

आफूलाई चिनाउने शिक्षाले मात्र सार्थक उपलब्धि हात लाग्न सक्छ । गाउँको एउटा कुनाको विद्यालयमा बालिएको प्रयोगात्मक शिक्षाको यो दियोलाई देशव्यापी बनाउनु आवश्यक छ । नढाँटी भन्ने हो भने नेपालमा शिक्षा धोका बन्दैछ । प्राज्ञिक स्थलबाट दीक्षित भएको मानिसका लागि आर्जन गरेको ज्ञान जीवन बाँच्ने कला नभएर ठगी खाने व्यापार बन्दै आएको छ । जबसम्म शिक्षा र स्वास्थ्य आमनागरिकको मौलिक हक बन्दैन, तबसम्म विकासका कुरा पाखण्ड शिवाय केही नहुने स्पष्ट छ । अहिले काठमाडौंमा बनेका अधिकांश अग्ला महलको प्रयोग दुई कामका लागि भएको छ । पहिलो कि निजी उच्च मावि हैन भने हाइफाइका नर्सिङ होम ।

देशमा शिक्षाको ज्योति बाल्ने दरबार स्कुल, पद्मोदय स्कुलको परिचय गोठाला खेताला पढाउने स्कुलमा सीमित भएको छ । पूर्वीय संस्कृतिको राष्ट्रिय मापन बोकेको तीनधारा संस्कृत पाठशालाको परिचय न हाँस, न बकुल्लाको अवस्थामा पुगेको छ । भाग पुर्‍याउने र समावेशीका नाममा यसको मूल मर्ममाथि नै प्रहार भएको छ । रोजगारीको आधार बन्नुपर्ने शिक्षा बेरोजगार जन्माउने कारखानामा रुपान्तरण हुँदै गएको सवैले अनुभव गरेकै तथ्य हो । अमेरिकाको हावर्ड विश्व विद्यालय, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, भारतको श्रीराम कलेजदेखि बिएचयू र जेएनयूको गाथा गाएर नथाक्ने नेपाली समाज त्रिभुवन विश्वविद्यालय, दरबार स्कुलको नाम लिँदा नाक खुम्च्याउँछ ।

 

यदि हामी सोझो बाटोमा हिँड्थ्यौं भने मेरो सन्तान दरबार स्कुलमा पढ्छ भन्दा नाङ्लो जत्रो छाती बनाउनुपर्ने थियो नि हैन र रु सच्चा शिक्षाले ज्ञान दिन्छ । तर, हामी सूचनाबाट माथि उठ्न सकेनौं । तर सवै ठाउँमा अन्धकार मात्र छैन् । कहीँ अपेक्षा नै नगरिएको दुरदराजमा आशाका किरण देखा परेका छन् । जसले उँधौली लागेको निरासाको कालो बादलभित्र चाँदीको घेराजस्तै काम गरेका छन् । एकातिर कोरा शिक्षाले बेरोजगार जन्माइरहेको अवस्था अर्कातिर आइफाइभ अनि फेसबुक पुस्ता जन्मिरहेका बेला सिन्धुपाल्चोकको दुर्गम बस्तीमा रहेको एउटा स्कुलले भने नेपाली माटो, संस्कार, संस्कृति र जीवनशैलीलाई आफ्नो मूलबाटो बनाएको छ ।

विद्यालय सिन्धुपाल्चोक ढिकी जाँतो

विशेष