प्रोफाइल समाज

मरेका जनावरका शरीरमा जीवन्तता दिने अद्भूत कला

मरेका जनावरका शरीरमा जीवन्तता दिने अद्भूत कला

यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।


 

डिल्लीबजार र घट्टेकुलोबीचको घनाबस्ती । यही बस्तीको माझमा एउटा सामान्य घरभित्र अद्भूत कलाको संग्रहालय छभन्दा धेरै मानिसलाई आश्चर्य लाग्न सक्छ ।

 

सिंहदरबारदेखि चिया पसलसम्म सरकारले यसो गरेन, उसो गरेन भनेर असन्तुष्टिका स्वरहरू उठिरहँदा एउटा परिवार चुपचाप कलाको साधनामा जुटिरहेको छ । न कसैको आस, न कसैको त्रास । बरू यी अमूल्य कला कतै लोप होला कि भन्ने भयले रातदिन चिमोटिरहन्छ । उही गोविन्दबहादुर गुरुङ यो अद्भूत कलाका सर्जक हुन् । उनका बाजे दरबारका जर्नेल थिए । राणाजीका दरबारमा सजाइएका मृत जनावरका अंगबाट बनेका जीवन्त कलाले उनलाई तान्यो ।

 

जतिबेला ती कलाकृति विदेशबाट झिकाइन्थे । आजभन्दा ६ दशकअघि उही गोविन्दबहादुरलाई लाग्यो– नेपालीकरण गरेर कलालाई नेपाली सीप, ज्ञानमा किन नढाल्ने ? यही इच्छाशक्तिले जन्मायो कलायात्रा ।

 

उनीभित्र कतिसम्म भूत सवार थियो भने आफ्नै खर्चले यो कलासम्बन्धी ज्ञानका लागि उनी जर्मनी पुगे ।  स्याङ्जाबाट पोखरा हुँदै काठमाडौं छिरेका उही गोविन्दबहादुरका पिताको राणासँगको उठबसले छोरालाई कालिगढ बनाउन मद्दत गर्‍यो । बाबुको यही पेसालाई निरन्तरता दिइरहेका ५६ वर्षीय मदन गुरुङ शुरुवातका ती दिनलाई यसरी स्मरण गर्छन् ।

गोविन्दबहादुर यो संसारमा छैनन् । उनले देखेको सपना र सीप यति जीवन्त छन कि मानौं प्रत्येक कलाभित्र बाँचेका छन् । अनि भनिरहेका छन– ‘म मरे पनि मेरो कृति नमार । आउँदो पुस्तालाई नासोका रूपमा यसको संरक्षण गर ।’

 

मरेका जनावरको शरीरभित्र यस्ता जीवन्त कलाका यी शिल्पीको साधना सतिसालभन्दा कम थिएन । यही कलाको मर्मभित्र उनको तप, जप बित्यो । एक्लो साधनाबाट गोविन्दबहादुर पाँचसय जाति प्रजातिका जनावर, चराचुरुंगीका कला छोडेर गएका छन् । जहाँ झण्डै सात दशकअघि देखिका कला बाँचेका छन् ।

 

हुने खाने बाउका छोरा मदन आफ्नो शोखको कुनै पेसामा जान चाहन्थे तर बाबुको मेहनत, पसिना र उनको अन्तिम इच्छा बुझेपछि उनलाई लाग्यो– मैले यी कलाको संरक्षण गर्न सकिन भने महापाप हुन्छ । त्यसैले उनी पनि होमिए टयाक्सीडर्मी कलायात्रामा ।

 

उही गोविन्दबहादुरले कलायात्रा शोखबाट शुरु गरेका थिए । कालान्तरमा यसले बृहद कला संग्रहालयको रूप लियो । संग्रहालयमा के को कलाकृति छभन्दा पनि के छैन भन्ने हो । मदन आठ, पाँच आउने कामबाहेक संरक्षणको पिरलोमै दिनरात हुटहुटिरहन्छन् ।

 

ट्याक्सीडर्मी भन्ने यो कला कतिपयका लागि नौलो पनि हुन सक्छ । ट्याक्सीडर्मी भनेको पशुपंक्षीको शरीर प्रदर्शन तथा अध्ययनका लागि केही वस्तुहरू मृत शरीरमा भरेर राख्ने वा सुरक्षित राख्ने काम वा कला हो । ट्याक्सीडर्मी भन्ने शब्द 'ग्रीकभाषा'को ट्याक्सी डर्माबाट आएको हो । जसमा ट्याक्सको अर्थ 'चल्नु' र डर्माको अर्थ हुन्छ 'छाला' ।

अर्थात् पशुपंक्षिको छाला झिकेर त्यसभित्र अरू वस्तु हाल्ने र पशुपंक्षीलाई जीवतजस्तै बनाउने कला ट्याक्सीडर्मी हो । यो कलाको संग्रहालयमा जीवविज्ञानका विद्यार्थी शैक्षिक भ्रमणमा कहिलेकाहीँ आएर अनुगमन गर्नेबाहेक अरू उपलब्धि हासिल हुन सकेको छैन । त्यसै पनि महँगो र दुर्लभ कला बनाउन जति कठिन छ, संरक्षणमा पनि त्यति नै टाउको दुखाई छ । बस्नका लागि बनाइएको घर, घरायसी चाँजो नमिल्दा अहिले एउटै कोठामा थुपारिएको छ । हेर्नुस त यहाँ के छैन ? विदेशी च्यानलमा देखेका नयाँ पुस्ताले यहाँभित्र अजिंगर, बाघ, भालुदेखि सानोमा चराजत्रो खरायो पनि हेर्न पाउँछन् ।

 

दिनप्रतिदिन यी कला संकटको अवस्थामा छन् । हातमा सीप छ । मदन भन्छन्– कमिलादेखि हात्तीसम्म संरक्षण गर्न सकिन्थ्यो तर न काम गर्ने ठाउँ, न कसैको प्रोत्साहन ।

 

मदनलाई अर्को एउटा दुखले पिरोलिरहन्छ– आफूले त जेनकेन यो कलायात्रालाई यहाँसम्म धकेलियो । आफ्नो एकमात्र सन्तान विदेशमा छन् । उनलाई बाउबाजेले पसिना बगाएको कलाप्रति कुनै मोह छैन । आफ्नो बाबुको नाममा सरकारले कुनै ठाउँ दिएर म्युजियम बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । यसका लागि उनले कुन सरकारी निकाय धाएनन ? तर सुन्नेहरू सुन्छन काम गर्दैन । एक वर्ष, दुई वर्ष हुँदै दशकौं बित्यो प्रयास थालेको तर अहिलेसम्म सिन्को सार्ने काम भएको छैन । संस्कृति मन्त्रालय, पुरातत्त्व विभागमा गरिएका प्रयास असफल भएका छन् । तर, उनले मन मारेका छैनन ।

मानिस स्वभावतः प्रयोगवादी जात हो । नयाँनयाँ प्रयोग चाहन्छ । अझ एउटा सिद्धहस्त कलाकारले कलाभित्र अनौठो प्रयोग खोज्नु अनौठो होइन । विश्वका होचा नेपाली नागरिक ७२ वर्षीय चन्द्रबहादुर डाँगीको शब ट्याक्सीडर्मी गरेर दुर्लभ कला बचाउने प्रस्ताव आएको थियो । यस्तो प्रस्तावले उनी कम उत्साही भएका थिएनन । तर, नेपालमा कानुनको अभाव र राख्ने ठाउँको समस्याले गर्दा त्यो अवसर गुमेकोमा उनलाई चुकचुक भइरहेको छ ।

 

व्यक्तिको घरमा राखिएको देखिए पनि यो अमूल्य कला देशको निधि हो । यदि नष्ट भयो भने यसको क्षतिपूर्ति कतैबाट हुन सक्दैन । एउटा व्यक्तिको इच्छाशक्तिबाट देशको कला ढुकुटी भर्न लगाइएको यो गुनको जति प्रशंसा गरेपनि अधुरो हुन्छ । कलालाई बुझ्न मनभित्र अर्को कला हुन जरुरी छ । त्यसैले यो अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई दिएको नासो संरक्षणका लागि सबैले आफ्नो ठाउँमा सहयोग गर्न जरुरी छ ।

गोविन्दबहादुर गुरुङ ट्याक्सीडर्मी

विशेष