रविन्द्र अधिकारीको निधनपछि रिक्त पद पूर्ति गर्ने संवैधानिक प्रक्रिया यस्तो छ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको पद कसरी पूर्ति होला भन्ने जिज्ञासा उत्पन्न भएको छ ।
अधिकारीको निधनसँगै मन्त्री पद र प्रतिनिधिसभा सदस्य पद स्वतः रिक्त भए । मन्त्री हुनका लागि संघीय संसदको सदस्य हुन आवश्यक हुन्छ । संवैधानिक व्यवस्था बमोजिम संघीय संसदमा प्रवेश गर्ने बाटो भनेको निर्वाचन र सिफारिस नै हो । प्रतिनिधि सभा सदस्यको हकमा पद रिक्त भएपछि उपनिर्वाचन गराउनु पर्छ ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४’मा प्रतिनिधिसभा सदस्यको पदावधि ६ महिनाभन्दा बढी भएको अवस्थामा निजको मृत्यु भएमा उपनिर्वाचन गरेर रिक्त पद पूर्ति गर्नुपर्ने व्यवस्था छ । यो हिसाबले रविन्द्र अधिकारीको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन अनिवार्य नै छ ।
तर यसका लागि सरकारले उपनिर्वाचनको मिति तोक्नु पर्छ । सरकारले तोकेको मितिमा निर्वाचन आयोगले निर्वाचन गराउछ ।
७४ मंसिरमा भएको निर्वाचनमा रविन्द्र अधिकारी कास्की–२ बाट २७ हजार २०७ मत ल्याएर विजयी भएका थिए । यस अर्थमा अझै ३ वर्ष ९ महिना कार्यकाल बाँकी छ ।
काजकिरिया सात दिनको
अधिकारीको निधन भएको शनिबार चार दिन भएको छ । मंगलबार ७ दिन हुनेछ । सात दिनमा काजकिरिया सम्पन्न गर्ने खबर बाहिरिएका छन् । जसअनुसार अबको तीन दिनमा काजकिरिया सकिनेछ । त्यसलगत्तै सरकारले उपनिर्वाचनको मिति तोक्ने सम्भावना पनि छ ।
पोखरामा अधिकारीको शवयात्रामा उर्लेको जनसागरपछि कास्की –२ मा जो कोहीलाई उठाए पनि नेकपाको विजय हुने सम्भावना प्रचुर छ । पब्लिक सेन्टिमेन्ट समाउन उपनिर्वाचन चाँडोभन्दा चाँडो गराउन आवश्यक छ । धेरैको मनमा प्रश्न छ कि अबको उपनिर्वाचनमा उम्मेदवार को हुन्छ ? आम आँकलनअनुसार रविन्द्रकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाइनेछ ।
बामदेवमाथि शंका, वामदेवले अघि सारे रविन्द्रकै परिवार
रविन्द्र अधिकारी नेकपाभित्र बामदेव गौतम गुटका थिए । बामदेव आफूविना श्रृष्टि नै चल्दैन भन्ने सोच पालेर बसेका नेता हुन् । उनले काठमाडौं –७ का रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर आफू प्रतिनिधिसभामा प्रवेश गर्न लागेका थिए । जनआक्रोशले नै वामदेवलाई पाखा लगाइदियो । अहिले उनी फेरि कास्की –२ बाट उपनिर्वाचन भिड्ने त होइनन् ? भन्ने शंका उत्पन्न भएको छ । तर वामदेव गौतम स्वयंले यो विषयको खण्डन गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध शुरु भयो । नेपाली राजनीतिक आकासमा ‘उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जलि दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो ।’
वामदेवले रविन्द्रको परिवारलाई नै उपनिर्वाचनमा सदस्य बनाउन लगाउने पनि स्पष्ट पारेका छन् ।