खेलाडीका लागि स्थायी जीविकोपार्जनको व्यवस्था हुनेछ–मुख्यमन्त्री राउत
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफनो जीवन समर्पण गर्ने क्षमतावान खेलाडीहरुको स्थायी जीविकोपार्जनको व्यवस्बथा गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् ।
जनकपुरमा सोमबारबाट शुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगीताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
विश्वको अन्य मुलुकमा खेलाडीहरुलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ को सरकारले समेत प्रादेशिक संरचना भित्र क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति दिएको उल्लेख गरे । उनले प्रदेश सरकार हालसम्म प्रदेश भित्र हुने सबै प्रकारको खेलमा यथासक्य सहयोग गर्दै आएको जानकारी दिँदै अगामी दिनमा समेत सहयोग जारी रहने बताए । मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेश भित्र कम्तिमा ३÷४ वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सोचसमेत बनाएको जानकारी दिए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले प्रदेश नं. २ खेलाडीहरुको उर्वर भूमि रहेको उल्लेख गर्दै त्यस्ता खेलाडीहरुलाई उजागर गर्न प्रदेश सरकार हर सम्भव प्रयास गर्ने आश्वासन दिए । उनले आधुनिक खेलका साथै मधेसका पारम्परिक खेलहरुको जगेर्ना गर्नसमेत प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल श्रोत रहेकाले क्षमतावान खेलाडी पहिचान गर्न वडा स्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढने बताए । रुपेश कुमार सिंहको अध्यक्षतामा भएको प्रतियोगीताको उद्घाटन सत्रमा वन उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेशकुमार मण्डल, प्रदेश सभा सदस्य सुरिता साह, कौशलकुमार यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका पदाधिकारीहरु, खेलप्रेमीसहितको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको उदघाटन सत्रमा शहीद संजय चौधरी, नितु यादव, दीलिप यादव, रोहन चौधरीसहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरेका थिए । १९ गते सम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाण्डौ तथा भारत बाट पटना, दरभंगा र कानपुर गरि जम्मा ८ वटा टिम सहभागी छन् ।