देश

सिद्धार्थ राजमार्ग विस्तार कार्य शुरु

सिद्धार्थ राजमार्ग विस्तार कार्य शुरु

बुटवल । बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने भएको छ ।

 

सडक विस्तारको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग सडक योजनाले बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकको विस्तारको काम पहिलेकै ८२ फिट मापदण्ड कायम गरेर अघि बढाउने भएको छ । 
राजमार्ग खण्डको क्षेत्रको विस्तारका लागि आयोजनाले झण्डै दुई वर्षअघि प्रक्रिया अघि बढाए पनि सडक किनाराका घरजग्गाधनीको अवरोधका कारण काम अघि बढन सकेको थिएन । सो क्षेत्रका घर तथा जग्गाधनीले विभिन्न किसिमले अवरोधसँगै पछिल्लो समयमा कानूनी रुपले अवरोध गरेपछि सडक विस्तारको काममा अवरुद्ध भएको थियो । 

 


राजमार्ग किनाराका केही घर तथा जग्गाधनीले मुआब्जाविना सडक विस्तारको काम अघि नबढाउन माग गर्दै उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा माग गर्दै दायर गरेको रिट निवेदनमा गत वैशाख १२ गते अदालतले निवेदकको मागबमोजिम प्रक्रिया पूरा नगरी सडक विस्तारको काम अघि नबढाउन आदेशसहित फैसला गरेको थियो । सोही फैसलालाई समेत सर्वोच्च अदालतले सदर गरेपछि आयोजनाको कार्यालयले अदालतको आदेशबमोजिम मुआब्जा जिकिर गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

 

आयोजनाको कार्यालयले आज सडकको केन्द्र भागदेखि २५/२५ मिटर दायाँबायाँ भागमा पर्ने कुनै व्यक्ति वा सङ्घसंस्थाको स्वामित्वमा घर जग्गा भएमा १५ दिनभित्र मुआब्जाका लागि सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सिफारिस, नागरिकताको प्रतिलिपि, जग्गाधनी दर्ता पूर्जाको प्रतिलिपि, सम्बन्धित नगरपालिका वा गाउँपालिकाबाट घर नक्शा पासको विवरण र जग्गाको कित्ताकाट नापी नक्शाको प्रमाणित प्रतिलिपिलगायत प्रमाणसहित मुआब्जाका लागि आयोजनाको कार्यालयमा निवेदन दिन भनेको छ ।

 

यससँगै उक्त सडकको स्वामित्वमा रहेको क्षेत्रभित्र अनधिकृत रुपमा निर्माण भएका घरटहरा भए सार्वजनिक सडक ऐन २०३१ को दफा ३ क को उपदफा २ बमोजिम १५ दिनभित्र हटाउन भनिएको छ । सडक विस्तारको कामका लागि रु ४३ करोड २३ लाखमा ‘द कञ्चनजङ्गा बिरुवा जेभी कन्स्ट्रक्सन’सँग २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको आयोजनाका प्रवक्ता इञ्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक विस्तारको काम ३० महिनामा सक्ने सम्झौता भए पनि सडक विस्तारको काम अहिले २० प्रतिशत मात्र भएको छ । अहिलेसम्म सडक विस्तारका लागि सडक किनाराका रुख हटाउने तथा नाली निर्माण र खानेपानीका पाइप हटाउने मात्र काम भएको इञ्जिनियर श्रेष्ठले बताए ।

विशेष