हुम्लामा फेरि हिमपात, एसईई परीक्षार्थी समस्यामा
हुम्ला । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसईई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए । जिल्लामा सोमबार दिनभरी पानी परेको थियो भने मंगलबार बिहानदेखि हिमपात सुरु भएको छ ।
चैत १० गतेबाट सञ्चालन भएको एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै मंगलबार बिहानबाट हिमपात भएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झरेको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।
हिमपात हुम्ला एसईई परीक्षार्थी