ओली मात्रै यस्तो होलान् भनेको त बाँकी पनि उस्तै रमिता देखाउने रहेछन्
शंकर भण्डारी
गएकै दशैंमा मेलम्चीको पानी काठमाडौंमा ल्याइपुर्याउने वाचा वर्तमान सरकारकै मन्त्रीबाट भएको थियो । त्यस्तो वाचा भएको छ महिनामै कमिसन नदिएको भन्दै इटालियन ठेकेदार लखेटिएको विषय अखबारहरुमा आयो । अझ यसमा सम्बन्धित मन्त्री नै मुछिएको र उहाँले अनियमितता गर्न खोजेको आरोप कर्मचारीले लगाए । इटालियन ठेकेदार लखेट्ने अनि मेलम्चीको राग पनि अलाप्ने काम जारी देखिन्छ । काठमाडौंमा जनता पानी नपाएर काकाकुल भएका छन्, प्रधानमन्त्रीलाई पानीजहाज नभइ भएको छैन । पानी ल्याउने ठेकेदार लखट्ने अनि पानीजहाजको कार्यालय उद्घाटन गर्ने तमासा देखेर जनता छक्क परेका छन् ।
म पहिले सोच्थेँ कि केपी ओली सरकारमा ओली मात्रै यस्ता होलान् । होइन रहेछ, सबै उहि ड्याङका मुला रहेछन् । काठमाडौं काकाकुल छ । ठेकेदार भागेको छ । मेलम्चीको पानी कसरी चाँडो भन्दा चाँडो ल्याउने भन्ने विषयमा कुनै गम्भीरता छैन । अब फेरि रिटेन्डर गर्दा ३ वर्ष लाग्छ भनिएको छ । तर सरकारको प्राथमिकतामा परेको छ–पानीजहाज । जनतालाई पिउने पानी छैन, भएको योजनाको त्यो हालत छ । अनि प्रधानमन्त्रीको तमासा हेर्नुपर्छ, उहाँलाई पानीजहाज नभइ भएकै छैन । वास्तविकता त यो हो कि नेपालका नदीमा पानीजहाज चल्नै सक्दैनन् । किनभने हाम्रा नदी त्यति गहिरा र फराकिला पनि छैनन्, जति पानीजहाजका लागि चाहिन्छ । प्रधानमन्त्रीको रहर पूरा गर्न पानीजहाज कार्यालयको उद्घाटन गरिएको हो । अझ रोचक त एउटा कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री आफैं पुग्नुहुन्छ । उहाँ नपुगी नहुने, उहाँले नगरी नहुने निर्णय, बैठक छलफल भने भएकै हुँदैन ।
केपी ओली जस्तो हुनुहुन्छ उहाँका मन्त्री पनि त्यस्तै छन् भन्ने अर्काे उदाहरण प्रस्तुत गर्नुपर्दा कृषिमन्त्रीको नाम आउँछ । कृषिमन्त्रीले खेतजमीन बाँझै राख्नेलाई कारबाही गर्ने भन्नुहुन्छ । कृषिप्रधान देशको कृषिमन्त्रीले भनेको कुरा सुन्दा हो नै रहेछ जस्तो लाग्छ । तर किसान किन खेत बाँझो राख्न विवश भएका छन् भन्ने खोज्नु पर्छ कि पर्दैन । अहिलेको कृषिमन्त्री आफैं आफ्नै स्वामीत्वको दुग्ध विकास संस्थान पुग्नु हुन्छ, अनि त्यहाँको दूध पिउन योग्य छैन भनेर फुक्नु हुन्छ । सरकार आफैंले चलाएको उद्योग आफैं धराशयी बनाउन कृषिमन्त्री नै मरिहत्ते गर्छन् । कर्मचारीहरु पठाएर अनुगमन गर्दा हुने कालीमाटी तरकारी बजारमा आफैं पुग्नुहुन्छ । उहाँलाई किसानले टमाटर किन सडकमा फाले ? भन्ने थाहा छैन । दूध किन घोप्ट्याए भन्ने जान्ने इच्छा पनि छैन । किसानको बन्दाकोभीमा किन डोजर चलेको छ ? यो उहाँलाई मतलव छैन । यसकारण भन्न मन लाग्छ, ओली सरकारमा ओली मात्रै यस्ता होइनन् । यिनका मन्त्रीहरु पनि यस्तै छन् ।
दुई तिहाईको सरकारले ठूला निर्णय लिन सक्नु पर्ने हो । तर प्रधानमन्त्रीको अधिकांश समय दिल्लगीमा बित्छ । हास्यकलाकारहरुलाई समेत उछिनेर ठट्टा गर्नमा प्रधानमन्त्रीको कुशलता देखिन्छ ।
अहिलेको उपलब्धी, अहिलेको व्यवस्था ल्याउनमा नेपाली जनताले कति ठूलो त्याग, संघर्ष गरेका छन् भन्ने कुरा बिर्सनुहुँदैन । प्रधानमन्त्री केपी शर्माओली जुन कुर्सीमा बस्नु भएकोछ, त्यो कुर्सीमा बस्ने वातावरण नेपाली जनताको बलिदानीबाट तयार भएको हो । यो वास्तविकता भुल्नु हुँदैन ।
मुलुकका लागि केही गर्ने अवसर अहिलेको सरकारलाई प्राप्त छ । तर प्रधानमन्त्री मजाक गर्ने, प्रतिपक्षीलाई गालीगलौज गर्ने, अरु दलसँग असहिष्णु व्यवहार गर्ने गरिरहनु भएको छ । विप्लव नेतृत्वको नेकपाका गैरकानुनी काम नियन्त्रण नभए सरकार आफैंले नियन्त्रण गर्ने प्रधानमन्त्रीले चेतावनी दिनु भएको छ । यस्ता चेतावनी दिँदै हिँड्ने काम सरकारको होइन । सरकारको काम शान्ति सुरक्षा कायम गर्ने, नागरिकको जीउधनको सुरक्षा गर्ने हो । यी काम खुरुखुरु गरे भइहाल्यो नी । किन बोलिरहनु पर्यो ?
जहाँसम्म विप्लव र उनको पार्टीको कुरा छ । राजनीतिक आस्थाका आधारमा चलेका पार्टीसँग राजनीतिक व्यवहार हुनुपर्छ । तर हिंसात्मक, आपराधिक क्रियाकलाप भने पाच्य हुँदैन ।
प्रतिपक्षी कांग्रेस
अहिले प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसको भूमिका सशक्त भएन भन्ने कुरा उठेको छ । यस विषयलाई म नकार्न सक्दिनँ । प्रतिपक्षी कांग्रेसको भूमिका सशक्त हुनु पर्नेमा कमजोरी हुनुमा मेरो पनि दोष छ किनभने म पनि पार्टीको केन्द्रीय सदस्य हुँ । कांग्रेस कमजोर हुनुको भागीदारी मैले पनि लिनुपर्छ । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व लिनु भएको पनि तीन वर्ष भयो । तीन वर्षमा पार्टीलाई चलायमान बनाउने धेरै काम गर्न सकिन्थ्यो । त्यस्तो उहाँले गर्न सक्नु भएन । किसान संघको अधिवेशन नभएको १४ वर्ष भयो । दलित संघको अधिवेशन नभएको ६ वर्ष भयो । नेविसंघको हालत उस्तै छ । पार्टीलाई चलायमान बनाउन भातृसंगठन, शुभेच्छुक संघसंगठनको अधिवेसन समयमै हुनुपर्छ । यसमा सभापति देउवाले आफ्नो कुशलता देखाउन सक्नु भएन ।
यो अवधिमा नेतृत्वले यो काम गर्यो, यो गर्न खोग्दैछ भन्ने अनुभूति हामीले गर्न पाएनौं । पार्टीमा पुराना र हामीजस्ता पछिल्लो पुस्ताका नेता कार्यकर्ता छौं । नयाँ पुस्ताले पनि पार्टीलाई जीवन्तता दिने कुरामा भनेजस्तो योगदान दिन सकेका छैनौं । दोष जति नेतृत्वलाई लगाएर हामी जोगिन सक्दैनौं । तर पनि नेतृत्व नै सबैभन्दा बढी जिम्मेवार हुन्छ । पार्टीलाई कसरी कहाँ लैजाने भन्ने मुख्य भूमिका नेतृत्वकै हुन्छ ।
हिन्दुराष्ट्रको पक्षमा, संघीयताको विपक्षमा जनमत
नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा स्पष्ट ठूलो मत छ । यो वास्तविकतालाई ढाकछोप गर्दैमा लुक्ने कुरा होइन । बहुसंख्यक हिन्दु भएको देश, भगवान बुद्धको जन्म भएको देशलाई धर्मनिरपेक्ष बनाइनु विदेशीको खेल थियो । अब यस्तो गर्न जसजसले भूमिका खेले उनीहरुलाई –तिमीहरु विदेशीका दलाल भयौं भन्न सक्ने अवस्था भएन । नेपाली कांग्रेसमा कम्युनिष्टहरुले मानेनन्, संविधान जारी नगरी भएको छैन भन्दै पार्टीले यि विषयमा सहमति जनाएको थियो । तर जनमत धर्मनिरपेक्षता, संघीयताको पक्षमा थिएन । त्यो थाहा पाएर पनि हामी यि एजेन्डामा आगाडि बढ्यौं । धर्मको विषय त बाबुराम भट्टराई, विदेशी शक्तिको जोडबलले फालियो । दूर्भाग्य यो छ कि जो बढी विदेशीको दलाली गर्छ, उही ठूलो राष्ट्रवादी ठहरिन्छ ।
जनताले चाहे राजसंस्था
राजसंस्था जनताले नचाहेर गएको हो । अब फेरि जनताले राजसंस्था खोज्छन् भने कांग्रेसले त्यसलाई स्वीकार गर्नुपर्छ । नेपालको स्वाधीनता, पहिचानको विरोधमा संविधान जारी भएको छ । संविधान जारीलगत्तै बाबुराम भट्टराई आफैंले यो संविधान पूर्ण भएन भनेका थिए । त्यो हिसाबले हिन्दुराष्ट्र कायम गरेर पूर्ण गर्न सकिन्छ ।
(कुराकानीमा आधारित)