मुख्य समाचार

प्रचण्डले गरे मेरिल्याण्डको प्रदेश संसद अवलोकन, नेपाली मुलका सांसद भण्डारीद्वारा स्वागत

प्रचण्डले गरे मेरिल्याण्डको प्रदेश संसद अवलोकन, नेपाली मुलका सांसद भण्डारीद्वारा स्वागत

काठमाडौं । पत्नी उपचारका लागि अमेरिकामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका छन् । मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए । अध्यक्ष प्रचण्डले नेपाली समुदायको सरोकारका विषयका साथै संसदका् प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए ।

 

प्रचण्ड सचिवालय प्रमुख गंगा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए । उनले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै नेपालको विकासमा अमेरकाकाे सहयोगको अपेक्षा गरेका थिए ।

 

नेपालको शीर उच्च राख्न नेपाली समुदायले प्रवासमा खेलेको भुमिकाको अध्यक्ष प्रचण्डले उच्च प्रशंसा गरेका थिए । अध्यक्षले समृद्ध नेपालको निर्माणमा अमेरिकामा रहेका नेपालीको ठूलो योगदान हुने भन्दै नेपालमा लगानी र सहयोगका लागि आव्हान समेत गरे । अध्यक्ष प्रचण्डलाई त्यहाँ नेपाली मुलका मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले स्वागतसमेत गरेका छन् ।

 

सोमबार मात्रै प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए । भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी अमेरिका मेरिल्याण्ड

विशेष