नागरिकता विधेयकः जसरी हुन्छ विदेशीलाई नागरिकता बाँडौं भन्ने मर्मबाट प्रेरित
काठमाडौं । नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक अहिले विवादमा छ । यो विधेयकले नेपाली नागरिकतालाई बिक्रीको वस्तु र नेपाली महिलालाई देहव्यापारीको रुपमा परिभाषित गरेका भन्दै विवाद सिर्जना भएको छ । विधेयकमा भएका केही बुँदाहरु वास्तवमा निकै आश्चर्यजनक छन् । विधेयकका बुँदाहरु पढ्दा जसरी भए पनि विदेशीलाई नेपाली नागरिकता बाँडिहालौं भन्ने अभिप्रायः लुकेको महशुस हुन्छ ।
हालको कानुनअनुसार नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले तुरुन्तै नेपालको नागरिकता पाउन सक्छिन् । यसका लागि जुन देशबाट विवाह गरी आएको भए पनि नेपालको नागरिकता पाउन सक्छिन् । हाल गर्न खाजिएको संशोधनअनुसार नेपाली नागरिकता प्राप्त गरेको ६ महिनाभित्र पहिलेको नागरिकता त्याग गरेको निस्सा पेश गर्नु पर्नेछ । अन्यथा सो नागरिकता रद्द हुनेछ ।
यो प्रावधान विवादीत छ । किनभने नेपालमा एक पटक नागरिकता लिइसकेपछि फेरि अनुगमन गर्ने सरकारी सयन्त्र छैन । भएकोले पनि काम गर्दैन । नेपालको नागरिकता लिने र विदेशको पनि नत्याग्ने सम्भावना प्रचुर रहन्छ । यसरी फुत्काइएको नागरिकताका आधारमा जमिन किन्ने, घर बनाउने, चुनावमा उठ्ने सबै काम गर्न सकिन्छ । जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी भन्छन्, ‘छ महिनाभित्र पहिलेको देशको नागरिकता त्यागेको निस्सा नल्याएको भनेर सम्बन्धित व्यक्तिलाई समातेर उसको नागरिकता प्रमाणपत्र खोस्ने कुरामा विश्वास गर्न सकिदैन ।’
नेपाली महिलाले विदेशीसँग विवाह गरेपछि उनका सन्तान स्वतः विदेशी हुन्छन् । तर अहिलेको नागरिकता विधेयकले भाञ्जाभाञ्जीलाई पनि नेपाली नागरिकता दिनुपर्छ भन्ने उल्लेख गरेको छ । साविकको ऐनमा ‘विदेशी नागरिकसाग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिएबमोजिम अंगीकृत नागरिकता प्रदान गर्न सकिनेछ’ भन्ने छ । तर अब यो प्रावधानलाई संशोधन गरेर नेपालमा नजन्मेको भए पनि विगतमा नेपाली नागरिक भएकी महिलाले जहाँसुकै पनि जन्माएर नेपाल ल्याएर यो मेरो सन्तान हो भन्ने हो भने उसलाई नागरिकता दिनु पर्ने बाध्यता हुन्छ । उदाहरणका लागि भारतबाट नेपालमा विवाह गरेर आएकी महिलाका सन्तानले त नेपालमा नागरिकता पाउँथे नै । अब भारतीय पुरुषले जन्माएका सन्तानलाई पनि नेपाली नागरिकता दिनु पर्ने बाध्यता हुनेछ ।
नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई कसरी चाँडोभन्दा चाँडो नागरिकता बाँडीहाल्न सकिन्छ भन्ने सबै सोचविचार विधेयकमा छ । त्यस्ता महिलाले विहान बिवाह गरेर नेपालमा आउने, दिउँसो नागरिकता बनाउने र साँझ मन्त्रीकै सपथ पनि खास सक्छन् । तर नेपालबाट विवाह गरेर गएका महिलाहरुको नागरिकताको मामिलामा भने विधेयक मौन छ । जस्तो कि विदेशीसँग विवाह गरेर गएकी महिलाले जन्माएको सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने उल्लेख छ । तर त्यस्तो बेला त्यो सन्तानको बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्ने उल्लेख छ । अर्थात नेपालबाट विवाह गरेर विदेश गएकी महिलाले विदेशमा पाउनु पर्ने नागरिकताको कुरै छैन । तर उसको पति जो अंगीकृत नेपाली हुन सक्छ, उसका सन्तानलाई भने तुरुन्तै नेपालको एक नम्बर नागरिकता दिनु पर्ने उल्लेख छ ।
महिलालाई देहव्यापारी झै बुझाउने विधेयक
नागरिकता विधेयकमा एउटा संशोधन प्रस्ताव यस्तो छ, ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको पुष्ट्याईसहित निज वा निजको आमाले गरेको स्वघोषणा ।’
यो बुँदाले नेपाली महिलालाई सिधै देहव्यापारी झै बनाएको छ । सन्तान जन्माउन शारीरिक सम्बन्ध बनाउनु पर्छ । जोसँग महिलाले शारीरिक सम्बन्ध राख्छिन् सन्तान उसकै हुने हो । तर यो बुँदामा त पहिचान नै हुन नसकेको स्वघोषणा गर्न महिलाले सक्ने भन्ने उल्लेख छ । राजनीतिक विश्लेषक भरत दाहाल तर्क गर्छन्, ‘के आफू कोसँग सेक्स गरिरहेकी छु भन्ने कुरा महिलालाई थाहा हुँदैन ? हुन्छ भने ‘बाबुको पहिचान हुन नसकेको स्वघोषणा’ को के अर्थ ?’