बीमाका कर्मचारीको प्रश्नः ‘ए लेन्स तँ किन फुटिनस् ?’
गत साउनमा मेरो मोटरसाइकलले एक स्कुटीलाई ठक्कर दियो । घटनामा स्कुटर चलाउने र पछाडि बस्ने घाइते भए । स्कुटीको अग्रभाग नराम्ररी क्षति भयो । मेरो मोटरसाइकलको तेस्रो पक्ष बीमा गरिएको थियो । बीमा गरिएको भन्नुको मतलव मैले सो सँग सम्बन्धित एक बीमा पोलिसी खरिद गरेको थिएँ ।
पोलिसीका सर्तहरु मध्ये एउटा सर्त के थियो भने दुर्घटनाका क्रममा तेस्रो पक्षमा भएको धनसम्पत्ति नोक्सानीको पनि क्षतिपूर्ति पाउने । दुर्घटनाका क्रममा घाइते भएकाहरुको उपचार गराएँ । भक्तपुर वृत्तमा राखिएको दुर्घटनाग्रस्त स्कुटी भाडा तिरेर टेकूस्थित वर्कसप पुर्याएँ । विषय प्रहरीसम्म पुग्यो । स्कुटी पक्षले मेरो कारणले दुर्घटना भएको दोष लगाए । मेरै मोटरसाइकलले छोएका कारण दुर्घटना भएकोले मैले दोष कबोल गरेँ ।
प्रहरीमा दुईपक्षबीच मिलापत्र भयो । अर्को पक्षले दुर्घटनाका क्रममा एक आइफोन नराम्ररी फुटेको देखाए । अर्को क्यामेरामा पनि क्षति पुगेको देखियो । उनीहरुले उपचार खर्च, स्कुटीमा भएको क्षति र साथमा बोकेका सामान मध्ये फोन र क्यामेरामा भएको क्षतिपूर्ति दिनु पर्ने दावी गरे । मसँग भएको पोलिसीलाई ध्यानमा राखेर मैले ‘तिर्छु’ भन्ने व्यहोराको मिलापत्रमा ल्याप्चे लगाएँ । उनीहरुले मलाई स्कुटी मर्मतको बिल, औषधोपचारको बिल आदि जिम्मा लगाए । मैले प्रहरीको रिपोर्ट, औषधीमूलोको बिलसहित बीमा कम्पनीमा दावी पेश गरेँ ।
यसपछि नै बीमा कम्पनीको खेल थाहा हुँदै गयो । मैले करिब १ लाख रुपैयाँको दावी गरेको थिएँ । बीमाका कर्मचारीले मेरो दावीमा आफूखुसीले ४५ हजार जति पाउने फैसला गरेछन् । मैले सोधेँ, ‘मेरो १ लाख जति खर्च हुने लगभग तय छ । तपाईंहरुले कसरी ४५ हजार क्षतिपूर्ति दिने एकतर्फी फैसला गर्नुभयो ?’ मैले जो कर्मचारीसँग यो प्रश्न गरेँ, उनले भने, ‘तपाईंको बिलबमोजिम नै यसो गरिएको हो ।’ मैले भनेँ, ‘फोन फुटेको र क्यामेरा ड्यामेज भएको क्षतिपूर्ति खै त ?’ उनले भनेँ, ‘सर, तपाईंले फुटेको फोन र क्यामेराको फोटो खै त राखेको ? त्यो कागज नभएर क्षतिपूर्ति नसमेटिएको हो ।’
मैले आफूले पेश गरेको दावीको फाइल पल्टाएर फोटो देखाइदिएँ । उनी त्यसपछि मौन भए । फाइल बोकेर अर्को कोठामा पसे । भित्रबाट उनीभन्दा सिनियर अर्का कर्मचारीले बोलाए । उनले भने, ‘फोटो त रहेछ, तर प्रहरीमा तपाईंले गरेको मिलापत्रमा क्यामेरा र फोनको अवस्था उल्लेख हुनुपर्छ । नत्र क्षतिपूर्ति दिन मिल्दैन ।’ मैले त्यो विषय मिलापत्रमा उल्लेख भएको शब्द शब्द देखाइदिएँ । अब उनले आफू उम्किने थप बाटो खोज्न थाले । र भने, ‘सर, ठीकै छ तपाईंले फुटेको क्यामेरा र फोन पनि यहाँ ल्याउनु पर्छ ।’
पहिले फोटोबाट काम चल्छ भन्ने जवाफ उनीहरुले नै दिएका थिए । मैले स्कुटीको पनि फोटो मात्रै पेश गरेको थिएँ । ती कर्मचारीले भौतिक रुपमै फोन र क्यामेरा मैले ल्याउन सक्दिनँ भन्ने सोचेर त्यसो भनेका रहेछन् ।
अब मैले फोन र क्यामेरा पनि लिएर गएँ । यति हुँदा पनि अब उनी क्षतिपूर्तिमा दावी रकम थप्न तयार भएनन् । अब उनी भन्न थाले, ‘दुर्घटना हुँदा क्यामेराको बडी भन्दा लेन्स फुट्ने चान्स हुन्छ । यो क्यामेराको लेन्स खै ?’
मैले दावी गरेको लेन्स होइन । बडी ड्यामेज भएको हो । बीमा कम्पनीले माग गरेको फुटेको क्यामेरा र फोन मात्रै थियो । तर उनीहरु त लेन्स किन फुटेन ? भन्ने स्टुपिड प्रश्न सोध्न थाले । मैले भने, ‘एउटा सग्लो लेन्स तपाईंका अगाडि ल्याएर राखिदिन्छु । अनि लेन्सलाई नै सोध्नूस् कि ‘ए लेन्स भन, दुर्घटना हुँदा शीशाबाट बनेर पनि तँ किन फुटिनस् ? मैले तेरो कारण क्षतिपूर्ति नदिने ठाउँ पाइनँ ।’
तीन तहका कर्मचारी मसँगको डिलमा फेरिइसकेका थिए । उनीहरु हरेक पटक कसरी क्षतिपूर्ति नदिने भन्ने नियत राखेर प्रश्न उब्जाउँथे । उनीहरुले तेस्रो पक्षको सम्पत्ति नाश भएको दिने व्यवस्था छैन र यसरी आएका दावीअनुसार क्षतिपूर्ति नदिनू भन्ने बीमा समितिको निर्देशन पनि छ । त्यसपछि आए त्यो कम्पनीका लिगल हेर्ने अर्का कर्मचारी । अब उनले सोध्न थाले, ‘के तपाईंले क्यामेरा र फोनको पैसा दिने सहमति गर्नु भएको हो ? के पैसा दिइसक्नु भयो ? के पैसा प्रहरीकै अगाडि गनेर दिनु भएको हो ?’
अब उनले भने कि हामी पैसा त दिन्छौं तर तपाईंले बिल ल्याउनु पर्छ । अर्थात मोबाइल र क्यामेराको बिल चाहिन्छ । तर उनले स्कुटी किनेको बिल मागेनन् । दुर्घटनामा घाइते भएकाहरुको जन्मदर्ता पनि मागेनन् । क्यामेरा र फोनको मात्रै बिल मागे । जबकी क्षति एउटै घटनामा भएको थियो । मलाई बेचिएको पोलिसीमा त्यस्तो अवस्थामा तेस्रो पक्षको सम्पत्ति नास भएमा सोको क्षतिपूर्ति पाउने भन्ने स्पष्ट उल्लेख थियो ।
धेरैजसो नेपालीले विदेशमा भएका आफन्तले पठाएको आइफोन चलाउँछन् । जसको बील हुँदैन । धेरै पुरानो क्यामेराको पनि बिल ल्याउन सम्भव हुँदैन । यो कुरा थाहा पाएर नै उनीहरुले मसँग बिल मागेका थिए । मसँग बिल छँदा पनि थिएन ।
अनि मैले सोधेँ, ‘तपाईंहरुलाई बिलकै कारण क्षतिपूर्ति दिन रोकिएको थियो भने मसँग फोटो किन माग्नुभयो ? क्षति पुगेको फोन र क्यामेरा बोकेर आउन किन भन्नु भयो ? प्रहरीमा भएको मिलापत्रमा यो विषय छैन भनेर किन पन्छिन खोज्नु भयो ? दिन मिल्ने व्यवस्था छैन भनेर किन झूठ बोल्नु भयो ?’ यी घटना–परिघटना थापाथलीस्थित शिखर इन्स्योरेन्सको कार्यालयमा भएका हुन् ।