नफक्रिएको बसन्त
‘भोलि म तिम्रो लागि जहाँबाट भएपनि रोटी ल्याइदिन्छु । पानी पिएर सुत । निदाएपछि भोक पनि बिर्सिन्छ ।’ बच्चाले पेटभरि पानी खायो र कुकुर झैं गुँडुल्किएर सुत्यो । बच्चाकी आमाको आँसु भरिएर आयो । भोकाएको बच्चासंगै उनी पनि सुत्न गइन् । निद्रा कसरी लाग्थ्यो र ! दुवैका आँखा अघिल्तिर आकास घुमिरह्यो । आमाले बच्चाको आँखामा पुलुक्क हेरिन् । बच्चाको अनुहारमा भोकको ज्वारभाटा दन्किरहेको देखिन्थ्यो । ‘आमा, निद्रा आएन एउटा कथा सुनाउनुस न ।’ हाँसिरहेको चन्द्रमा हेरेर टोल्हाउँदै बच्चाले अनुरोध गर्यो । आमाले सोधिन्– ‘चन्द्रमाको कथा सुन्छौ ?’ ‘उहूँ’ राजारानीको नि ‘उहूँ’ सुन्दर परीहरुको कथा सुन्छौ त ? सुन्दिन । त्यसो भए जादू बत्तीको कथा सुनाउँ । नाइँ आमा नाइँ कृपा गरेर बरु मलाई रोटीको कथा सुनाउनुस् न । छोराको आर्तनाद सुनेर विक्षिप्तजस्तै भएकी आमा उसलाई अँगालोमा बेरेर भक्कानिदैँ रुन थालिन् ।
पोहोर साल खोकिलामा जतनसाथ झुण्ड्याएको पात्रो अब इतिहास बन्ने क्रममा छ । पारखीहरु भन्छन्– आरुबखडा फुल्ने यो मौसममा माइत गएका छोरी बुहारी माइतीको घरआँगन चटक्कै छोडेर बुहार्तनका लागि घर फर्कन्छन् । अझ नधकाउनेहरु यो भन्दा पर गएर छेडखान गर्दै प्याच्च भनिदिन्छन्– यो मौसम विवाहयोग्य युवतीहरुलाई कुत्कुत्याउने मौसम हो । अझ मायाको फूल फूलाउनेहरुको संसारै अलग छ । सामाजिक सञ्जालका भित्ताहरुमा माया फक्रिन शुरु भएका छन् । नयाँ वर्ष शुभ कामको साइत हो । धेरै चन्द्रमायाहरु चाँदनीको विशेषण पाएर गजक्क परेका हुन सक्छन् । यद्यपि बसन्तको कोकिल राज्यमा पनि रोटीको व्यथा दुख्न छोडेको छैन ।
मंसिरमा अन्नको रासमा दाइँ गर्दा जोडेका मुसाका जहान फागुन, चैतमा मौसम उजाडिएसंगै पोइला जान शुरु गर्छन । खडेरी लागेपछि मौसममा जहान पाल्ने हुति मूसामा रहँदैन भन्छन् । जे भएपनि चैत पुरानो पात हो भने वैशाख नयाँ मुना हो । पुरानो पातले मुनालाई जीवन सुम्पिएर आफू विदा हुनुपर्छ । यो प्रकृतिको नियम हो ।
समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं । पोहोरको बसन्त ऋतुमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो ।
काँडाले फूलमाथि हस्तक्षेप गरेको छैन । बाघले आहारामा मृग छोडेको छैन । विरालाको नजरमा मूसा नै अर्जुनदृष्टिमा परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्पी छोडेको छैन । झरी असार साउनमै बर्सिने हो । ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो । यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बद्लियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका सात अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु ।
हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इन्जिनीयर पाइलट बनाउनमा सोख राख्यौं । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ । यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ । अर्थात बाटोले बुढ्याउँछ । पोहोरको बसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन । पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ । तर त्यसको लेखा छैन ।
समय वित्नका लागि मात्र वित्दैन । यो नयाँ कामको लागि उत्तोलक पनि हो । नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कन्चन हुन्छ । बाहिरी आँखाले रंग खुट्याउँछ । भित्री आँखाले गुण दोष ।
एकैछिन बखान गरौं सौन्दर्यको । यही राजधानी हो, जहाँ गोलीगाँठो देखाएर हिँड्ने किशोरी भानुभक्तका नजरमा ‘बेश्या’ दरिए । समयको उडान अर्कैतिर मोडिएको छ । अब मौसमले पोशाक नभएर पोशाकले मौसम बद्ल्छ । फाटेको लुगामा फेसनको लेपन लगाएपछि त्यो आधुनिकतामा अनुवाद हुनपुग्छ । परिवर्तन आत्मसात नगर्ने हो भने डाइनोसरको नियति सवैको भाग्यमा लेखिने निश्चित छ ।
भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरि जीवनलाई सराप्छन् । अर्कोथरि आशिर्वाद दिन्छन् । तेस्रोथरि जीवनबारे चिन्तन मनन गर्छन् । भौतिकताले उत्कर्षमा पुगेको युरोप, अमेरिका आजसम्म पनि सुन्दरीहरुको सनकमा सञ्चालित हुने गरेको छ । त्यहाँका राजनेताहरुको व्यक्तित्व उठाउने या रसातलमा पु¥याउने कुराको निधो उनीहरुको गतिविधिमा भर पर्छ । एउटा सुन्दर मोडल म्याडोनाको व्यक्तित्वले त्यहाँका पुरुषहरुको व्यक्तित्व नै निरीह बनाएको विगत छ ।
एकपटक इतिहासको आँखीझ्यालबाट चिहाएर हेर्नुभयो भने त्यहाँ फ्लोरेन्स, युपी साद्रे, क्लियोपेट्रा र मार्लिन मुनरोजस्ता विश्व प्रसिद्ध अप्सराहरुको वर्णन पाउनु हुनेछ । जसका अगाडि शासकहरु समेत नतमस्तक बनेका थिए । माक्र्स–एंगेल्सका विश्व प्रसिद्ध कृति पनि म्याडोनाको ‘सेक्स’ पुस्तकका अगाडि सयौं कोस पर छोडिए । सुन्दरतालाई यसैको सामथ्र्यमा स्वीकार्ने हो भने यो प्राकृतिक शक्ति पनि हो । अझ यो भन्दा पर गएर भन्दा सन्तुलन पनि हो ।
समयअनुकूल आफूलाई उभ्याउनु पर्छ । समयलाई सापेक्ष रुपमा स्वीकार्नु पर्छ । बसन्तलाई मौसममा नभई मनमा भित्र्याउनु पर्छ । मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ । नत्र त्यो चुँडिएको गिटारबाट आउने आवाजजस्तो कर्णकटु हुनपुग्छ । मिलनको धड्कन र विरहको वेदना नै प्रेमको जमिन हो । यसमा चैतन्य र प्रज्ञा दुवै हुन्छ । यो दुवै मिसिएको चास्नी कसलाई प्रियकर नहोला ? माधव घिमिरेका यी पंक्तिले त्यही सन्देश प्रवाह गरेका छन्–
बैंशको मीठो कण्ठले कसको दिल छुँदैन
प्रीतिको फूल नफुल्ने मुलुक कुनै हुँदैन ।