कलाकार जीतु नेपालले जनतालाई के लेखे यस्तो ?
काठमाडौं । चर्चित हास्यकलाकार जीतु नेपालले आफू लगायत सबै नेपाली जनतालाई व्यंगात्मक शैलीमा धिक्कारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेपालले आफूसँगै नेपाली जनताप्रतिको आक्रोश व्यक्त गरेका हुन् । कलंकीको पुल निर्माणमा भ्रष्टाचार हुँदा पनि कोही पनि नबोलेको र भ्रष्टाचार टुलुटुलु हेरेर बसेको भन्ने उनको आशय थियो ।
उनले लेखेका छन्, ‘यही हो ४ वर्ष लगाएर ३१ करोड ९२ लाखमा काठमाडौंको टेकुमा बनेको पुल । पुल बन्यो तर पुलमा गाडी चलाउन मिल्दैन रे, गुणस्तरहीन सामान प्रयोग गरेकाले फेरि भत्काएर बनाउने रे । रातारात पुल बनाएछन् रे प्राविधिकले, मन्त्रालयले, हाकिम सापहरुले ‘पत्तै पाएनछन् रे’, मन्त्रीज्यूको यस्तो भनाई रहेछ । म त भन्छु मन्त्री ज्यू पत्तै नपाएको चाहीँ होइन, पत्ता धेरै पाएर चाहीँ यस्तो भएको हुनुपर्छ । लापर्वाहीको पराकाष्ट । भ्रष्टाचार चरमता, यस्तो हुँदा पनि चुप लागेर बस्ने थुक्क हामी जनता ।’
कलाकार नेपाल यतिबेला ‘मुन्द्रेको कमेडी क्लब’ मा व्यस्त छन् । समाजमा भएका बेतिथी र भ्रष्टाचारबारे उनले बेलाबखतमा व्यंग्य कसिरहेका हुन्छन् ।