खेल

भारतपछि पाकिस्तानसँगको सिरिज पनि अष्ट्रेलियाले जित्यो

भारतपछि पाकिस्तानसँगको सिरिज पनि अष्ट्रेलियाले जित्यो

काठमाडौं । पाकिस्ताविरुद्धको एकदिवसीय सिरिज २ खेल अगावै अष्ट्रेलियाले जितेको छ । तेस्रो खेलमा पाकिस्तानलाई ८० रनले हराउँदै २ खेल अगावै अष्ट्रेलियाले सिरिज जितेको हो । अष्ट्रेलियाले दिएको २६७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४४.४ ओभरमा सम्पूर्णविकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि इमा उल हकले ४६, इमाद वसिमले ४३, उमर अकमलले ३६, कप्तान सोयब मलिकले ३२ र यासिर शाहले नटआउट १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा अष्ट्रेलियाका एडम जम्पाले ४, प्याट कमिन्सले ३, ग्लेन म्याक्सवेल, नाथन लायन र जसन फेबहनड्रफले एकएक विकेट लिए । 

 

यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६६ रन बनायो । उसका लागि कप्तान आरोन फिन्चले १३६ बलमा ९०, ग्लेन म्याक्सवेलले ५५ बलमा ७१ रन बनाए । उनलाई मोहम्मद रिजवानले रनआउट गरे ।

 

यस्तै, पीटर ह्यान्सकमले ४३ बलमा ४६, शन मार्सले १४, मार्कस स्टोनिसले १० रन बनाउँदा एलेक्स केरी २५ र प्याट कमिन्स २ रनमा नटआउट रहे । बलिङमा पाकिस्तानका उश्मान सेनवारी, जुनैद खान, यासिर शाह, इमाद वसिम र हरिस सोहेलले एक–एक विकेट लिए । 

 
कप्तान शतकबाछ चुके
सिरिजको तेस्रो खेलमा अष्ट्रेलियन कप्तान आरोन फिन्च लागातार तेस्रो शतक प्रहार गर्नबाट चुके । उनी शतक बनाउन १० रन मात्रै चुकेका हुन् । फिन्चले १३६ बलमा ९० रन बनाए । त्यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे । फिन्चलाई पाकिस्तानका यासिर शाहले आउट गर्न सफल भए । पाँच खेलको सिरिजमा अष्ट्रेलियाले ३–० को अग्रता बनाएको छ ।

अष्ट्रेलिया भर्सेस पाकिस्तान एकदिवसीय सिरिज

विशेष