अमेरिकामा प्रचण्डसँग राजदूत कार्कीको दोहोरो भूमिका, दुनियाँलाई चक्मा आफूलाई तक्मा !
कञ्चन न्यौपाने
नेपालआज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको उपचारको सिलसिलामा अमेरिका भ्रमण गरी फर्किएका छन् । उनी फर्के पनि उनको अमेरिका भ्रमण र त्यहाँस्थित दूतावासको कूटनीतिक भूमिकालाई लिएर दीर्घकालिन बहस जरुरी देखिएको छ । स्रोतका अनुसार राजदूत अर्जुनकुमार कार्कीको भूमिकालाई लिएर अमेरिकामा रहेका नेपाल जानकारहरु चकित भएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूलाई राजदुत कार्कीले सफलतापूर्वक भूमिगत शैलीमा दूतावास पुर्याएको भन्ने प्रचण्डको अभिव्यक्ति रोचक छ । अमेरिकी संयन्त्रका बारेमा प्रत्यक्ष जानकारी नभएकाहरु त्यसमा पनि नेकपाका कार्यकर्ताका लागि कार्की नायक दरिने गरी प्रचण्डले उनको प्रसंशा गरेका छन् । यस मानेमा कार्की सफल भएका छन् । तर, खासमा प्रचण्डको भ्रमणलाई लिएर कार्कीले अतिरञ्जित ब्रिफिङ गरेको दूताबास निकट स्रोतको दाबी छ । यो बिषयका पाटालाई गहनरुपमा केलाउन नसकेमा नेतृत्व र देशबासीलाई भ्रममा पार्ने, आफूले नेतृत्वको सुरक्षाका लागि खुब गरेको सन्देश दिने तर देशहित बिपरित सन्देश जाने यस्तै गतिविधि दोहोरिने चिन्ता व्यक्त गरिएको छ ।
प्रचण्डलाई भूमिगत शैलीमा दुताबास
पूर्वप्रधानमन्त्री प्रचण्ड मनका सफा मानिन्छन् । लागेको विषय फयाट्टै भनिहाल्ने हुँदा उनी बेलाबेला चुक्ने पनि गरेका छन् । भूमिगत शैलीमा आफूलाई राजदूतले विमानस्थलबाट दूताबाससम्म पुर्याएको भनि उनले दिएको अभिव्यक्ति अमेरिकी सुरक्षा संयन्त्रका बारेमा जानकारी राख्नेहरुका लागि हास्यास्पद सुनिएको छ । भूमिगत शैलीको यात्रा उनलाई अमेरिकास्थित नेपाली राजदूत कार्कीले पारेको प्रभाव वा गरेको ब्रिफिङ शिवाय केही नभएको अमेरिकामा राजदूत रहिसकेकका एक कूटनीतिज्ञले नेपाल आजलाई बताएका छन् ।
प्रचण्डलाई पक्राउ गर्न दिइएको भनिएको उजुरी अमेरिकाको संघीय जाँच ब्यूरोका लागि थियो । संघीय जाँच ब्यूरो यस्तो निकाय हो जसको सोझो सम्पर्क अमेरिकाका हरेक इकाईसम्म (नेपालको हिसावले भन्दा वडासम्मै) हुने गर्दछ । एफबिआईको विशेष संयन्त्र अन्तर्राष्ट्रिय विमानस्थलमा नहुने कुरै भएन । सुरक्षा निकायका बीचमा सूचना आदानप्रदान गर्न मिल्ने र एकअर्काका संवेदनशील सूचना प्रवाह गर्न सकिने प्रविधि उनीहरुसँग दशकौंदेखि प्रयोगमा छ । यस्तो संयन्त्र भएको देशमा एफबीआईलाई छलेर प्रचण्डलाई दूतावाससम्म पुर्याएको प्रभाव पार्न सक्ने मौलिकता कार्कीसँग बाहेक सायदै अरु कसैसँग होला ।
राजदुत कार्कीको त के कुरा पक्राउ सूचीमा रहेका व्यक्तिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बचाउन सक्दैनन् । नत्र ट्रम्पकै सहयोगी भटाभट पक्राउ किन पर्थे ? बरु देशकै शक्तिशाली नेता एंव भावी प्रधानमन्त्रीसमेत ठानिएका प्रचण्डलाई राम्रै अभिनयका साथ राजदुत कार्कीले भ्रमित पारेर भूमीगत शैलीमा उद्धार गर्नसमेत सक्ने क्षमता प्रस्तुत गरेको चर्चा अमेरिकामा रहेका जानकार नेपालीहरुका बीचमा हुन थालेको छ ।
यति पनि नबुझ्ने राजदूत !
अमेरिका प्रवेश गर्ने हरेकको अमेरिकी संयन्त्रले भ्याएसम्म पृष्ठभूमि चेकजाँच गर्दछ । तर, विशेष अवस्थामा सेकुरिटी क्लियरेन्सको अग्रिम सूचना सुरक्षा निकायलाई दिईएको हुन्छ । त्यस्तो सूचना सिस्टममा अपलोड गरिएको हुन्छ, र पासपोर्ट नम्बर हाल्दा सोको जानकारी सम्बन्धित अधिकारीले देख्न सक्छन् । प्रचण्डको हकमा धेरै नै आशंका व्यक्त भएपछि नेपालस्थित अमेरिकी राजदूतले प्रचण्ड स्वंयलाई भेटेर उनीमाथि केही झन्झट नहुने अवगत गराइसकेका थिए । सोको जानकारी दुई देशका दूतावासका बीचमा सामान्यतया हुने गर्दछ । यस्तो जान्दाजान्दै प्रचण्डलाई के के न गरेजस्तो भूमिगत यात्रा गराएर राजदूत कार्कीले जात्रा गरेको चर्चा कूटनीतिकवृत्तमा हुने गरेको छ ।
नेकपा अध्यक्ष प्रचण्डलाई विमानस्थलमा फूलमालाले स्वागत गरेर सुखद सन्देश दिन सक्थे कार्कीले । कार्कीले त्यसो गरेनन् । स्रोतका अनुसार विमानस्थलमा स्वागत गरेको भए आफ्नो भूमिका नदेखिने आंकलन कार्कीले गरेका हुन सक्छन् । प्रचण्डको सुरक्षालाई लिएर विश्वभरका नेपालीमाझ तरंग पैदा भएपछि नेपालस्थित अमेरिकी दुतावासले प्रष्टिकरण दियो । तर, कार्कीले प्रचण्डलाई अमेरिकामा भने भूमिगत राखिरहे ।
कार्की र उजुरीकर्ताको सम्बन्ध रहस्यमय !
प्रचण्ड अमेरिकाको यात्रामा निस्किएपछि उनीविरुद्ध अमेरिकामा रहेका नेपालीले एफबीआईमा उजुरी गरेको हाउगुजी आगोसरी फैलियो । उनले उजुरी गरे नगरेको एकीन छैन । नक्कली उजुरी सार्वजनिक गरेर सक्कली तरंग पैदा गर्न उजुरीकर्ता सफल भएको चर्चा पनि हुन थालेको छ । उजुरीकर्तालाई नजिकबाट चिनेका डिसी क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका र पत्रकारिता गर्दै रहेका एक नेपालीले अनौठो किस्सा नेपालआजलाई बताएका छन् । उनका अनुसार उजुरीकर्ता र राजदूत कार्कीका बीचमा पहिलेदेखि सोझो सम्पर्क छ । राजदूत कार्कीले उजुरीका बिषयमा सम्बन्धित पात्रसँग आधिकारिक वा व्यक्तिगत हिसावले सोझै बुझ्न सक्थे । तर त्यसो गरेनन् । नेपालआजसँगको कुराकानीमा स्रोतले आंशका व्यक्त गरेको छ –कतै नक्कली उजुरीको हल्ला फिँजाएर सक्कली तक्का कुम्लाउने खेल राजदूत कार्कीले खेलेका होइनन् ? आखिर कूटनीति भनेको कूटिल चाल पनि हो, त्यसमाथि कार्की आइएनजिओ पृष्ठभूमिका व्यक्ति हुन् जुन क्षेत्रमा एउटा नाङ्गो तस्बिरलाई अतिरञ्जित गरेर करोडौँ डलर अनुदान लिन सकिन्छ ।
कार्कीलाई तक्मा, अरुलाई चक्मा !
प्रचण्डमात्र होइन नेपाली काँग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका आउँदापनि विरोध नभएको होइन । उनलाई कालो झण्डा देखाइएको थियो । प्रधानमन्त्री केपी ओली आउँदा पनि कालो बश्त्र लगाइएकै हो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आउँदा कालोझण्डा र नाराबाजी गरिएको दृश्य सार्वजनिक भएकै हो । भट्टराईबाहेकका नेताले चरमविरोधीका माझसमेत आफूलाई प्रस्तुत गर्ने हिम्मत गरेनन् । भट्टराईले जहाँ जहाँ अन्तरक्रिया गरे अन्तरक्रियाका आयोजक र सहभागीमध्ये अधिकांस भट्टराईसँग विमति राख्ने नै थिए । तर, उनले विरोधीको पनि ज्ञान लिने प्रयास गरे, बिरोधसँग डराउनुभन्दा तार्किक लडाइ गर्र्नेे हिम्मत गरे ।
श्रीमतीको उपचारमा आएका प्रचण्डको हकमा परिस्थिति बेग्लै थियो । उनका प्रति सहानुभूतिको मात्रा बढी रहेको अवस्था थियो । देशकै शक्ति केन्द्र प्रचण्डसँग संवाद गर्न धेरै नेपाली चाहान्थे । केहीको धर्म विरोधै गर्नु रहेछ भने पनि आँधीतुफान बेहोरेका प्रचण्डका लागि सो कुरा सामान्य हुन्थ्यो । तर, कार्कीका कारण माहोल अर्कै बनेको चर्चा अमेरिकास्थित नेपालीका माझमा हुने गरेको छ ।
कार्कीले आफूले चाहेका र आफ्नो सेरोफेरोका नेपालीलाई मात्र प्रचण्डसँग भेट गराएको बुझिएको छ । प्रचण्डको कार्यतालिका बारेमा जानकारी लिन खोज्ने पत्रकारलाई समेत उनले भ्रमण व्यक्तिगत रहेकाले दूतावास बेखबर रहेको प्रतिक्रिया दिने गरेका थिए । कार्कीले प्रचण्डलाई ती तमाम नेपालीबाट पर राखिदिए जो प्रचण्डसँग संवाद गर्न चाहन्थे ।
रोल्पा रुकुमका बस्तीबाट राजनीतिक उचाइँ हाँसिल गरेका प्रचण्ड विपक्षीसँग समेत सहजै हिमचिम गर्न सक्ने नेता मानिन्छन् । सेनापति प्रकरणकै कारण राजनीतिक विग्रह खेपेका प्रचण्ड पूर्वसेनापति रुक्माङ्गत कटवालसँगपनि सहजै संवाद गरिरहेको दृश्य देखिँदै आएको छ । यस्तो स्थितिमा परदेशमा रहेका नेपालीमाझ प्रचण्ड प्रस्तुत हुन नसक्ने कुरै थिएन । बाधक बनिदिए कार्की । उनले प्रचण्डलाई कालो झण्डा देखाउने र उनीबिरुद्ध नाराबाजी हुने सन्देश प्रवाह गरिरहे । एकाधले गर्थेपनि होला, तर सयौँ नेपालीको मन जितेर प्रचण्ड फर्कन सक्थे ।
प्रचण्डले सयौं नेपालीसँग संवाद गर्न सक्ने माध्यम हुनबाट यो भ्रमण चुकेको छ । बरु कार्कीले प्रचण्ड परिवारको मन जित्ने माध्यम भने पक्कै बनेको छ । प्रचण्डको भ्रमणको पूर्वार्धमा कार्कीलाई मन्त्रीसरहको सुविधा दिने मन्त्रिपरिषद्ले निर्णय गरेकै थियो । प्रचण्डले राजदूत कार्कीका बारेमा त्रिभुवन बिमानस्थलमा खुलेरै प्रशंसा गरे । नेकपाको विदेश विभागसँग सम्बन्धित युवा नेता युवराज चौलागाईँले राजदुत कार्कीलाई विशेष धन्यवाद भन्दै स्टाटस नै लेखेका छन् ।
कार्कीको कूटनीति कति सफल ?
प्रचण्ड मूलतः श्रीमतीको उपचारका लागि अमेरिकाको भ्रमण गरेकाले उनको भ्रमणलाई राजनीतिक उपलब्धीसँग तुलना गर्न उचित नहोला । तर, उनले राजनीतिक भेटघाट गर्ने चाहना व्यक्त गरेको र दुतावासले सोका लागि पहिले देखि नै प्रयास गरेको पृष्ठभूमिमा केही तथ्य औंलाउन आवश्यक रहेको जानकारहरुको भनाइ छ ।
प्रचण्डका विरोधीलाई पनि यो मान्न करै लाग्छ कि प्रचण्ड देशकै शक्तिशाली नेता हुन् । प्रधानमन्त्री केपी ओलीपछिको राजनीतिक शक्ति उनी नै हुन् । यो तथ्यबारे अमेरिका पनि अनविज्ञ छैन । तर, प्रचण्डलाई त्यति महत्वका साथ भेट दिइएन जति दिइनुपथ्र्यो । डेपुटी सेक्रेटरीसँगको भेटलाई नै उपलब्धी मान्नुपर्ने हैसियत प्रचण्डको हुँदै होइन । भूमीगत शैलीमा बिमनस्थलबाट निकाल्न सफल भएको भान दिलाउन सकेका कार्कीले कम्तिमा अमेरिकाका बिदेश मन्त्रीसँग भेट गराउन त पर्ने ? किन सकेनछन् ?
प्रचण्डले मेरिल्याण्ड राज्यको संसद अवलोकनलाई भ्रमणको उपलब्धी मानेका छन् । उनलाई त्यहाँका सभामुखले भ्रमण गराएका होइनन् । बरु नेपालीमूलका सांसदमार्फत अनौपचारिक भ्रमण गराइएको हो । ह्यारी भण्डारीले प्रचण्डमात्र होइन समयले साथ दिएसम्म अमेरिका पुग्ने नेपालीलाई सो मौका दिँदै आएका छन् । प्रचण्डलाई मेरिल्याण्डको अदालतमा उजुरी दिइएको थिएन । प्रचण्डले अदालतमा उजुरी दिइएको बताएका थिए फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा । मेरिल्याण्डस्थित एफबिआइको शाखालाई उजुरी दिइएको उजुरीको ठेगानामा प्रष्ट उल्लेख छ ।
नियुक्तिदेखि नै विवादस्पद् राजदुत !
आइएनजिओ चलाएर बसेका अर्जुनकुमार कार्की राजदूत नियुक्त होलान् भन्ने कमैले सोचेका थिए । तर भइदिए । त्योपनि अमेरिकाका लागि । उनको नियुक्तिलाई लिएर त्यतिबेलै प्रश्न र विवाद नउठेको होइन । तर, विवादले केही टेरपुच्छर लगाएन । कार्की जनवरी १६, २०१५ मा उनी अमेरिकाको राजदूतका लागि मन्त्रिपरिषद्बाट सिफारिस गरिएका थिए । त्यसयता पटकपटक सरकार फेरिए, अन्य देशमा पनि राजदुत फेरिए । तर, कार्की यथावत् रहे । कार्कीले सबै दलका प्रमुख नेता र विदेश विभाग आबद्ध व्यक्तिलाई खुशी पार्न खाश जादु गर्ने गरेको बताइन्छ । आइएनजिओ पृष्ठभूमीका कार्कीले अमेरिका भ्रमणको मेसो मिलाइदिएर धेरैको मन जितेको बताइन्छ ।
आर्थिक मामिलाका सन्दर्भमा पनि कार्की विवादमा छन् । अमेरिकास्थित नेपाली दूतावासका लागि नयाँ भवन खरिद गर्दा ठूलै रकमको चलखेल भएको समाचार र टिप्पणी यसअघि आएकै थिए । सो बारेमा उनलाई अमेरिकाको मनाससमा भएको कार्यक्रममा नेपाली समुदायबाट प्रश्नपनि गरिएको थियो । प्रश्नको प्रष्टिकरण दिनुको साटो उनी रिसाएका थिए । प्रचण्डको भ्रमणका क्रममा उनले आफ्नो भूमिका बारेमा प्रश्न उठाउने व्यक्तिलाई प्रचण्डको नजिक पर्न दिएनन् ।
प्रचण्डसमक्ष आफ्नो प्रशंसामात्र सुनाउन सफल भएका कार्कीको दोहोरो भूमिकाका बारेमा अनुसन्धान गर्न आवश्यक रहेको बताइन्छ ।