प्रवास

केही दिनभित्र मलेसियाको रोजगारी खुल्दै, कस्ता छन् नयाँ मापदण्ड?

केही दिनभित्र मलेसियाको रोजगारी खुल्दै, कस्ता छन् नयाँ मापदण्ड?

काठमाडौं । मलेसियाले विदेशी श्रमिकका लागि नयाँ स्वास्थ्य मापदण्ड तोकेसँगै १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने निश्चित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनभित्र कलिङ भिसा आएर जान नपाएका युवालाई पहिलो चरणमा मलेसिया पठाउने तयारीसहित गृहकार्य सुरु गरेसँगै जेठदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको हो। लामो समयदेखि बिचौलियाको चलखेलमा रहेको मलेसियाको रोजगारी अब पारदर्शी र प्रतिस्पर्धात्मक प्रणाली लागू गरी दुई देशको श्रम सम्झौतामा उल्लेखित शून्य लागतका आधारमा नेपाली युवा पठाउने गरी तयारी भइरहेको मन्त्रालयको उच्च स्रोतले बताएको छ।

 

नयाँ मागअनुसार जाने श्रमिक भने स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्य परीक्षण संस्था छनोट भएपछि मलेसिया जाने प्रक्रिया सुरु गरिने जनाइएको छ । मन्त्रालयले हाल स्वास्थ्य परीक्षण गर्ने नयाँ संस्थालाई सूचीकरण गर्न आह्वान गरिरहेका कारण कलिङ भिसा आएका बाहेक अन्य नयाँ माग अनुसारका युवालाई भने मलेसिया पठाउने प्रक्रिया केही ढिलो हुने छ।

 

श्रम सम्झौतालगत्तै दुवै देशका प्राविधिक समूहको बैठकले गरेको समझदारीअनुसार व्यवस्थित, पारदर्शी र सहजरूपमा युवालाई मलेसिया पठाउने सरकारी योजना छ । श्रम सम्झौताअनुसार मलेसियाले हालै स्वास्थ्य मापदण्ड पठाइसकेको छ । सरकारले मलेसियाको स्वास्थ्य परीक्षणका हुँदै आएको सिण्डिकेट खारेज गर्दै बुधबार नयाँ संस्थालाई सूचीकरण हुन आह्वान गरेको छ।
 

यस्ता छन् नयाँ मापदण्ड 
नेपाली कामदार माग गर्ने सम्बन्धमा मलेसियाले पठाएको नयाँ स्वास्थ्य मापदण्डअनुसार स्वास्थ्य संस्थामा जनशक्ति, ल्याब र परीक्षण गर्नुपर्ने विषयहरू समेटिएका छन। अब सबै स्वास्थ्य संस्थाले रेडियोलोजिष्ट, प्याथोलोजीष्ट, एमडिजिपी९एमबिबिएस, रेडियोग्राफर, एडमिनिष्ट्रेटर, एकाउन्टेन्ट, बायोमेट्रिक अपरेटर लगायतका जनशक्ति राख्नु पर्ने मापदण्डमा उल्लेख छ।

 

यसैगरी, भौतिक पूर्वाधार र सुविधामा फराकिलो र खुल्ला प्रतिक्षालय, डकुमेन्टेसन र रेकर्ड कक्ष, डाक्टरको परिक्षण कक्ष, १५ केभिको जेनेरेटर हुनुपर्ने छ । ल्याबमा माईक्रोसकोप, अटोक्लेभ, युरिन एनलाईजर, इन्कुभेटर लगायतका १६ प्रकारका ल्याब उपकरण हुनु पर्ने छ। अब मलेसिया जाने श्रमिकको १२ वटा विभिन्न प्रकार स्वास्थ्य परिक्षण गर्नु पर्ने बिहिबार मन्त्रालयले सार्वजानिक गरेको मापदण्डमा उल्लेख छ। यो समाचार कारोबार दैनिकबाट लिइएको हो । 

मलेसिया रोजगारी

विशेष