प्रश्नपत्र ‘आउट’ नीतिगत समस्या हो, कुनै प्रदेशको बेइज्जत हुने कुरा होइन
परीक्षामा विद्यार्थीले चोर्छन् भन्ने सबैलाई थाहा छ । चोर्छन् भन्ने जानेरै परीक्षा केन्द्रहरुमा प्रहरी खटाइन्छ । प्रहरी वा राज्यको संरचना देखेपछि विद्यार्थीहरु डराउने नै भए ।
अहिले म मेरा कुराहरु भनिरहेको छु । तपाईंले मेरो कुरा सुनेर टिपिरहनु भएको छ । अब यो कुरालाई ‘कोट’ गरेर, अनुच्छेद मिलाएर, क्रम मिलाएर प्रस्तुत गर्नु हुन्छ । मसँग भएको कुराकानीलाई लेखको रुपमा परिणत गरेको पनि आफ्नो सञ्चारमाध्यममा उल्लेख गरिदिनु हुन्छ । एक प्रकारले भन्ने हो भने तपाईंले मेरो कुरा लिनु भएको हो । तर मिलाएर प्रस्तुत गर्नुभयो । यो पनि एक प्रकारको ‘चोरी’ हो ।
अब मैले भन्दै आएको विषय त के हो भने परीक्षामा चोरी गर्नु पर्ने अवस्था नै अन्त्य गरेर परीक्षा प्रणाली लागू गर्दा के फरक पर्ला ?
परीक्षामा प्रदेश नम्बर २ मात्रै चोरी हुने होइन । अरु तिर पनि हुन्छ । हामीले यस्तो प्रकारको परीक्षा प्रणाली अपनाएका छौं, जसमा चोरीको सम्भावना सधै हुन्छ । लगातार दुई वटा प्रश्नपत्र आउट भएपछि अहिले शिक्षामन्त्रीको राजीनामा माग गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्रीले आफ्नो प्रदेशको बेइज्जत गर्न खोजिएको टिप्पणी गरेका छन् । उनको टिप्पणी कन्भेन्स्नल थिंकिङबाट प्रेरित छ । मधेसका फलानो स्कुलबाट पास भएका विद्यार्थी काठमाडौंको कुनै कलेजले लिन्न भन्यो भने कुटाइ खाने को ? पिएचडीको थेसिस नै चोर्ने कल्चर भएको देशको समस्या नीतिगत हो, घटनाजन्य होइन ।
परीक्षा प्रणालीमा भएको कमजोरीका कारण यस्ता समस्या आएका हुन् । शिक्षामन्त्रीले राजीनामा दिँदैमा समस्या समाधान हुँदैन । दुवै पटक हाइटेक प्रविधिबाट प्रश्नपत्र बाहिरिएका छन् । चोरी वा प्रसारमा प्रविधि प्रयोग भएको छ । प्रविधिको यो हदसम्म प्रयोग भएकोछ । हामी भने परीक्षा केन्द्रमा प्रहरी राखेर चोरी रोक्ने प्रयास गरिरहेका छौं ।
परीक्षामा चिट होइन, दुई चार वटा किताब नै विद्यार्थीलाई दिएर प्रश्नको उत्तर लेख्न दिने परीक्षा प्रणाली राख्दा पनि हुन्छ । के के प्रश्न सोध्ने हो त्यो प्रश्न विद्यार्थीलाई पाँच दिन अघि नै दिने र परीक्षामा उत्तर लेख्न लगाउँदा के हुन्छ ? विद्यार्थीले कति सिकेको छ भन्ने कुरा जाँच्न परीक्षा राखिएको हो । जहाँ चोर्ने संस्कृति छ, त्यहाँ परम्परागत परीक्षा प्रणालीले काम गर्दैन । अझ यो एसइई परीक्षामा प्रहरी राख्ने त नौटंकी हो । कामै छैन ।
एसइई र भ्रम
एसइई परीक्षा भनेको एसएलसी होइन । कक्षा १२ सम्मको शिक्षालाई विद्यालय शिक्षा भनेपछि यो एसएलसी होइन । स्कुल छाड्न कक्षा १२ पास गर्नु पर्ने भएकोले यो एसएलसी हुने कुरा भएन । तर यसले एसएलसीकै अवतार लिएर बस्यो । सरकारले पनि प्रहरी राख्ने, यो ठूलो परीक्षा भनेर हल्ला गर्न थालेपछि यस्तो हुन गयो । खासमा यो कक्षा १० को परीक्षा हो । यो परीक्षा त्यसरी नै लिनु पर्छ, जसरी कक्षा ९ र ११ को लिइन्छ । कक्षा ९ र ११ को परीक्षाको अत्तोपत्तो नहुने तर १० को परीक्षामा किन यस्तो ? यो आवश्यक छैन ।
पहिले पहिले कक्षा १० पास गरेपछि थप पढ्न घर छाडेर पर पर जानु पथ्र्यो । जसका कारण यो परीक्षा विद्यार्थीको जीवनको एक टर्निङ पोइन्ट हुन्थ्यो । जसका कारण यो परीक्षाको ठूलो महत्व रहन गयो ।
मलाई अखण्ड धौवडेलले भन्नु भएको थियो कि राणाकालमा एसएलसी पास गरेका आएकाहरुलाई थानकोटदेखि बाजागाजा बनाएर स्वागत गरिन्थ्यो रे । पटनामा पढ्न गएका जो एसएलसी पास हुन्थे, काठमाडौंमा उनीहरुको भव्य स्वागत हुन्थ्यो । त्यही बेलादेखि यो कक्षा १० को परीक्षाले महत्व पायो । त्यो ह्याङओभर अझै सकिएको छैन ।
१२ कक्षासम्मलाई विद्यालय शिक्षा मानेको वर्षका विद्यार्थीले दुई वटा एसएलसीको प्रमाणपत्र पाए । पहिलो व्यवस्थाबमोजिमको व्यवस्था कक्षा १० मै एसएलसीको प्रमाणपत्र पाइसकेका थिए । तिनै विद्यार्थी कक्षा १२ पास हुँदा पनि एसएलसीको प्रमाणपत्र पाए ।
पहिले एसएलसी अहिले एसइइ परीक्षालाई अनावश्यक रुपमा डरलाग्दो बनाइयो । चोर्नेलाई कारबाही होइन, चोर्ने अवस्था नै अन्त्य गर्नका लागि सिर्जनात्मकतामा ध्यान दिनु पर्छ । सगरमाथाको उचाई अब घोकिरहनु पर्दैन । हातमा लम्बाई नाप्ने फित्ता दिएर विद्यार्थीलाई आफ्नै घरको उचाइ नाप्न दिने हो भने उसले सबै कुरा आफै थाहा पाउँछ । तथ्य घोकाउने होइन, सिर्जनात्मक हुन सिकाउनु पर्छ । तथ्यगत कुराहरु त अहिले एक क्लिकमा सबै मोबाइलमै देखिन्छ । अब कति घोकाउने विद्यार्थीलाई ? परीक्षामा सिर्जनात्मक कुरामात्रै सोधिनु पर्छ, ताकि त्यसको उत्तर चिटबाट प्राप्त नहोस् ।
(शिक्षाविद् डा. विद्यानाथ कोइरालासँगको कुराकानीमा आधारित)