अझै सेनाको व्यावसायिक क्षमता वृद्धि गरिन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । सेना दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमाभनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अंगका रुपमा राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।”
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ देश अघि बढीरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गरेका छन् । “नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पुर्याएको योगदान इतिहासको स्वर्णिम पानामा अंकित भइरहनेछ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकलदर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।”
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा प्राकृतिक विपत्तिहरुका वखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले नेपाली सेनाले विगतमा झैं आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारी कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको सन्देशमा उल्लेख गरेका छन् ।
केपी शर्मा ओली नेपाली सेना