क्रिकेट रंगशाला निर्माणमा खटिए धुर्मुस

भरतपुर । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थललाई जस्ताले घेर्न फलामका खम्बा राखिँदै थियो। मिस्त्री र कामदारहरू काममा लागिरहेका थिए। सिमेन्टको मसला बोक्दै फलामको पोल गाढिरहँदा एक युवा मसला बोक्न थाले। मसला बोक्न कस्सिएका युवाको अनुहार देखेपछि कामदार अचम्ममा परे। टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मससँगै सिमेन्टको मसला बोक्दा उनीहरू दंग परे। आइतबार निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने। निरीक्षणका लागि पुगेका धुर्मुस कामदारसँगै काममा लागे।
रंगशाला निमार्ण अवलोकन गर्न उनी यहाँ आएका हुन्। उनले निमार्ण प्रगतिबारे जानकारी लिए। रंगशाला बन्ने कुराले उत्साहित स्थानीयबाट धुर्मुस घेरिएका थिए। आफ्नो गाँउमा ठूलो योजना ल्याएको भन्दै धुमुसलाई गाउँलेले धन्यवाद पनि दिए। उनले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरे। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका थिए। ‘म तपाईहरूसँगै ईंटा बोक्ने हो, भारी बोक्ने हो’, उनले भने।
भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निमार्ण गर्न लागिएको छ। रंगशाला निमार्णमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ। रंगशालाको साइट अफिस स्थापना गरिएको छ। कट्टेल दिनभर कार्यालय बसेर भेटघाट गरे। कार्यालयमा स्थानीय बिहान बेलुका जम्मा हुने गर्छन्। निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन्।
अहिले निमार्णस्थलको लागि छुट्टाइएको जग्गालाई घेर्न लागिएको छ। रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए। उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ। ३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उनले बताए। केही दिनअघि फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिर फिल्डमा थिइन्। नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगाशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उनले आग्रह गरिन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
क्रिकेट रंगशाला गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मस