मुख्य समाचार

विप्लव कार्यक्रता पक्राउ गर्न आदेश पर्खंदै प्रहरी, जासुस परिचालन गरी सूचना संकलन 

विप्लव कार्यक्रता पक्राउ गर्न आदेश पर्खंदै प्रहरी, जासुस परिचालन गरी सूचना संकलन 

काठमाडौं । मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ । 

 

सुरक्षा निकाय संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर पक्राउ आदेशको पर्खाइमा छ। ‘माथिल्ला तहका नेताहरु कहाँकहाँ छन् भनेर हामीले दैनिक सूचना बुझाएका छौं, पक्राउ गर्न आदेश आयो भने हामी तयारीमा छौं’, उच्च सुरक्षा स्रोतले भन्यो । स्रोतका अनुसार विप्लव समूहका प्रायः सबै नेता देशका विभिन्न भागमा घुमिरहेका छन्। उनीहरु भारत जाँदै आउँदै गरेको पनि स्रोतले जनाएको छ। देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेलको भने भेटघाट भइरहने सुरक्षा स्रोतको दाबी छ । 

 

ललितपुर बमकाण्डपछि सुरक्षा निकायले केन्द्रीय तहका सबै नेताहरुको निगरानी गरिरहेको छ। गृह मन्त्रालयले यसै साता पश्चिम क्षेत्रलाई लक्षित गरी सुरक्षा बैठक गर्दैछ। २१ र २२ गते धनगढी, २३ र २४ गते सुर्खेत र २५ र २६ गते बुटवलमा सुरक्षा बैठक आयोजना हुँदैछ। तर प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण स्पष्ट भएको छैन। सो सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, शान्तिसुरक्षा महाशाखाका प्रमुख रामकृष्ण सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहभागी हुँदैछन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टी जासुस परिचालन

विशेष