गणतन्त्र समातेर राजनीतिमा लागेकी देवीको गुनासाे, ‘गणतन्त्रवादी नै सिद्धान्तविहीन भए’ (भिडियाे सहित)
माओवादी द्वन्द्वकालमा थिचिएका कथा गल्ली गल्लीमा भेटिन्छन् । भिन्न कथासँगै भिन्नै व्यथा पनि । तर किशोरावस्थादेखि नै दर्दनाक पीडा सहेकी लडाकु महिला हुन्– देवी खड्का । उनको जीवन भोगाइले हर कोहीको आङ सिरिंग बनाउँछ ।
कुरा वि सं २०३८ सालको हो । पञ्चहरूको विगविगी थियो । ०३७ सालमा पञ्चायत र बहुदल व्यवस्थाको जनमत संग्रहमा पञ्चायतले जित्यो । बहुदलीय व्यवस्थाको लागि नेपाली जनताले अर्को एक दशक संघर्ष गर्नुप-यो ।
२०३८ सालमा दोलखाकी देवी खड्काको गाउँमा एउटा घटना घट्यो । पञ्चहरुले किसान र महिलामाथि गरेको अत्याचार विरुद्ध गाउँका मानिसले किसान विद्रोह गरेका थिए । त्यसलाई दबाउन गाउँका सबै युवालाई जेलमा कोचियो । ०३८ सालदेखि गाउँका सबै युवा जेलमा थिए । तिनै युवाको भीडमा थिए– देवीका दाजु ज्ञानु खड्का ।
२० वर्षीय दाजुलाई जेलमा राखियो । जेल हालिएको पाँच वर्षपछि जेलमै मारियो । आमाबाबुु भन्दा बढी माया लाग्ने दाजुको शरीर मृत अवस्थामा बुझ्दा देवीको मानसिक अवस्थामा ठूलो आघात प-यो । उनमा उब्जाएको विद्रोहको भावनाले उनी आफैंलाई प्रश्न गर्न थाल्यो, समाज के हो ? जनता के हो ? न्यायालय के हो ? राज्य व्यवस्था के हो ? आखिर गाउँलेले त केही गरेका थिएनन् । उनीहरुलाई किन जेल हालियो ?
त्यतिबेलाका पञ्च दलबहादुर खड्काले देवीको परिवारमाथि ज्यादति गरेका थिए । उनका बुबाआमाको जग्गा आफनो नाममा गरेका थिए । कानूनी रुपमा दलबहादुरको नाममा भएपनि व्यावहारिक रुपमा उनकी आमा मनकुमारीको नाममा थियो । यसको विरुद्ध लड्दा उनका दाजुले ज्यान गुमाउनुप-यो ।
न्यायको लागि ज्यान गुमाएका दाजुको मृत्युपछि उनको मनले एउटै कुरा बुझ्यो ‘यो राज्य व्यवस्था धनीहरूको पक्षमा छ । यसको सामाधानको लागि उनले एउटै बाटो देखिन्, ‘कम्यूनिष्ट आन्दोलन’ को बाटो । आन्दोलनमा लागेसँगै उनका जीवनका अनगिन्ती दर्दनाक पाटाहरू कम्युनिष्ट आन्दोलनसँग जोडिँदै थिए ।
क्रान्तिले उब्जाएको जोशमा उनी बाल संंगठनबाट पार्टीमा लागिन् । ०४६ सालको हरेक आन्दोलनका जुलुसमा सक्रिय छिन । जनआन्दोनका गतिविधिमा संलग्न हुन थालिन् ।
जनयुद्धमा लाग्ने क्रममा उनी ०५३ सालमा प्र्रथम निर्वाचित जिल्ल्ला अध्यक्ष भइन् । ०५४ सालमा हिरासतमा परिन् । ०५४ सालको कार्तिक ११ गते जिल्ला भेलामा पुलिस चौकी नजिकै रहेको कार्यक्रममा जानुपर्ने थियो । प्रहरीको अपरेसन टिमले बाटोमा हिँड्दै जाने क्रममा उनलाई पक्राउ ग¥यो । पक्राउ गर्ने चारजनामध्येमा उनी एक मात्र महिला थिइन् ।
उनका अर्का दाइ जिल्लाको पार्टी प्रमुख थिए । पार्टी प्रमुुख कहाँ बस्छ हिँड्छ भन्ने कुराको छिनोफानो गर्ने भन्दै उनलाई पक्राउ गरेको थियो । दाजुको बारेमा सोधखोज गर्ने क्रममा उनलाई बढी यातना दिइयो । शारीरिक, मानसिक र नैतिक हिसाबले उनलाई बढी नै यातना दिइयो ।
पक्राउ परेपछि उनलाई विभिन्न्न ठाउँ सारियो । आफूलाई सबैभन्दा बढी यातना धुलिखेलमा दिइएको उनले बताइन् । त्यही समय सामूहिक बलात्कारमा परिन् । बाँच्दिन भन्ने निष्कर्षमा पुगिकेकी थिइन् उनी । आफूलाई त्यहाँ मार्ने नै तयारी भइरहेको महशूस गरेकी थिइन् । त्यतिबेलासम्म परिवार र पत्रकारले सोधखोज गर्दासमेत उनीसँग कसैलाई भेट्न दिइएको थिएन ।
युद्धमा बलात्कार गर्नेलाई कसैले चिन्न नसक्ने बताउँछिन् खड्का । उनी आफैं पनि त्यत्ति ठूलो जोखिमपूूर्ण यातना दिने मान्छेलाई कहिल्यै चिन्दिनन् । यदि कसैले चिन्छ भनेपनि त्यो गलत भएको भन्दै उनले भनिन्, ‘उनीहरू सिभिलमा हुन्छ । कसरी पोष्ट र नाम थाहा हुन्छ ? समूहमा भएको थाहा हुुँदैन । एउटा सिंगल मान्छे हुनु भनेको फरक हो । तर युद्धको शैलीमा बलात्कार गर्नु भनेको समूहमा हुन्छ । त्यो चिनिदैन ।’
पक्राउ परेको २८ दिन पछि राष्ट्रिय मानव अधिकारको टोलीले छापा हानिसकेपछि उनलाई खुल्ला गर्न बाध्य भएको थियो सेना । जब चरम यौनिक यातना भोगेर जब जेलबाट निस्किइन् , उनी मानसिक रुपमा विक्षिप्त थिइन् । उनले आफू भित्रको म हराएको महशूस गर्न थालिन् । त्यसको दुई वर्षसम्मको लडाई उनले सचेतता पूर्वक लडेकी थिइनन् । उनलाई खाली मर्न मात्र मन लाग्थ्यो । मर्ने चाहनाले जोखिमपूर्ण ठाउँमा पनि साथीहरूलाई नपठाएर आफैं जान तम्सिन्थिन् । तर को कतिबेला मर्छ भन्ने कुरा त जन्मसँगै तय भएको हुन्छ । उनले चाहेजस्तो भएन ।
अहिले जस्तो सामान्य भएर हिँड्न सक्छु भन्ने कुुरा उनको कल्पना बाहिर थियो । कमजोरीको त्यो घडीमा उनले आफूलाई ‘त्यसै त मर्दिन, बरु कसैले मारेरै मर्छु’ भन्ने क्रान्तिकारी भावना बढाउँदै गइन् । उनको त्यो आक्रोश पार्र्टीको आन्दोलनमा बलियो रुपमा प्रयोग भयो ।
त्यसको दुई वर्ष पछि उनलाई पार्टीले थप जिम्मेवारी दियो । त्यसपछि उनीसँग आशा राखेका जनता, उनलाई आधार मानेर आन्दोलनमा लाग्ने धेरै साथीहरु थिए । दुई वर्षपछि बल्ल आफ्नो पछि अरुको भविष्य जोडिएको छ भन्ने सचेतना आयो उनमा ।
विस्तारै देशमा राजनीतिक परिवर्तन भयो । बहुदल आएपछि संसार जितिन्छ जस्तो लागेको थियो उनलाई । तर त्यसो भएन । असमानताको चोटले गर्दा उनले भिन्नै समानताको आश गरेकी थिइन् कम्युनिष्ट आन्दोलन मार्फत । उनलाई त्यो प्राप्त भएजस्तो लागेको थिएन ।
शान्ति प्रक्रियामा आइसकेपछि पनि उनी खुशी थिइनन् । किनभने लडाइलाई उनीहरूले सम्झौतामा ल्याएर टुंग्याएका थिए । भन्छिन– ‘राजनीतिक रुपमा मूलभूत परिवर्तन भएका पनि हुन् । तर त्यो परिवर्तनलाई लिड गर्नेहरू परिवर्तनमा लागेका थिएनन् । हिजो परिवर्तनलाई दबाउने व्यक्ति पनि थिए ।’
जनयुद्धमा लाग्दा उनले भएका सबै थोक गुमाइसकेकी थिइन । उनले आफ्नो अस्मिता गुमाइन्, दाजु गुमाइन्, मामाको छोरा, परिवार सबै गुमाएर व्यक्तिगत जीवन ध्वस्त बनेको थियो । प्रहरीले ७० वर्षीया उनकी आमालाई लगेर दिनभरि हिरासतमा राख्ने र बेलुकी छोड्ने गरेको थियो । तातोपानी पनि खान दिने मान्छेको अभावमा त्यही बेला बुबाको मृत्यु भयो । अन्तिम अवस्थामा बुुबाको मुुखसमेत हेर्न नपाएको उनले गला अवरूद्ध पार्दै बताइन् ।
शान्ति व्यवस्था आएपछि उनी अन्तरिम व्यवस्थापिकाको सदस्य बनिन् । तर मन भारी हुँदा र आफूले जुन सोचले क्रान्तिमा होमिएकी थिइन्, त्यो सिद्धान्त पूरा नहुँदा सत्तामा जाँदा उनलाई राज्यसत्ताबाट कहिले निस्कौं कहिले जस्तो लाग्न थाल्यो ।
हाल उनी देशकै ठूलो पार्टी नेकपाकी केन्द्रीय सदस्य छिन् । अहिले पनि जनताको दैलोमा गएर दुःखसँग घुलमिल हुुन पाए उनलाई आनन्द लाग्छ । नेता खुुशी पार्ने र त्यसबाट लाभ लिने दौडमा आफ्नो रुचि नभएको उनले बताइन् ।
अहिलेको नेतालाई खुशी पारेर लाभ लिने होडबाजीमा जाने कुरा उनको कल्पना बाहिर छ । भन्छिन्, ‘त्यहाँ गइयो भने पाप लाग्छ जस्तो लाग्छ । हिजोका लडाईं र त्यागका दिनहरु फर्केर हेर्छु । .मृतकका आत्माले सराप्छ जस्तो लाग्छ ।’
गणतन्त्र ल्याउनको लागि जसले कोही गुमायो, ती गुमेको आत्मालाई ओझेलमा पारेर गरिने राजनीतिक व्यवस्थाको आयु लामो नहुने बताउँछिन् उनी । अहिलेको राजनीतिक व्यवस्था यस्तै भएको उनले जिकिर गरिन् ।
त्यतिबेलाको क्रान्ति गर्ने पार्टीका शीर्ष नेताहरु अहिले तीनवटा खेमामा विभाजित भएका छन् । उनी ती सबै पात्रलाई सम्मान गरेपनि विश्वास प्रचण्डलाई गर्छिन् । उनले भनिन्, ‘त्यतिबेला जनयुद्धका जोखिम मोलेको हुनाले कमरेड बाबुराम, किरण र विप्लवलाई पनि उत्तिकै मान्छु । तर सिद्धान्त र मान्छेको चाहनालेमात्र सबैथोक हुँदैन । उहाँहरु तीनैजनाले लिएको बाटो पूरा हुन्छ जस्तो मलाई लाग्दैन । यदि पूरा हुन्छ भने विप्लवको क्रान्तिमा पहिला म हुन्थे । मलाई अहिले पनि क्रान्ति गर्ने इच्छा छ । तर अहिको यो क्रान्ति समय सापेक्ष छैन ।’
उनले थपिन्, ‘यदि हामी यही कुरा शान्तिपूर्ण ढंगले कम क्षतिमा प्राप्त गर्छौं भने क्षतिको भूमरीमा किन फस्ने ? कमरेड विप्लव यही रफ्तारमा जाने हो भने उहाँले अर्को पुस्तालाई क्षतिको भूमरीमा फसाउँदै हुनुहुन्छ ।’
देवीजस्ता हजारौं पीडितको काँधमा चढेर आएको थियो गणतन्त्र । तर गणतन्त्र ल्याउनेहरू अहिले आफैं अलमलमा परेका छन् । उनीहरूले बोकेका सिद्धान्त खै कता गए । तर आफ्नो उर्जाशील जीवन युद्धमा होमेका देवीजस्ता हजारौंको अहिलेको राज्य व्यवस्थासँग खरो चित्त दुखाई छ ।
आफूभित्रको त्यहि असन्तुष्टि पोख्दै उनले भनिन्, ‘ मान्छेको इच्छा भन्दा ठूलो समय हुन्छ । समयलाई कसैले रोक्न सक्दैन । अहिलेको समय फरक छ । राज्य सञ्चालनको विधि, सञ्चालकहरुको जीवन शैली आचरण हामीले जुन कल्पना गरेका थियौं त्यस्तो छैन ।’
गणतन्त्र देवी खड्का माओवादी द्वन्द्वकाल