खेल

उपकप्तान मल्ललाई ४ खेलमा  प्रतिबन्ध

उपकप्तान मल्ललाई ४ खेलमा  प्रतिबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिोट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई घरेलु टी-२० प्रतियोगितामा चार खेलको प्रतिबन्ध लगाइएको छ । धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सले खेल बहिष्कार गर्दा टोलीका कप्तान रहेका ज्ञानेन्द्रलाई आयोजकको प्राविधिक समितिले प्रतिबन्धको निर्णय गरेको हो ।

 

प्रतियोगिताको प्राविधिक समितिका संयोजक अम्पायर बुद्धि प्रधानले प्रतियोगिताका दौरान खेल बहिष्कार गर्ने टोलीको कप्तानको हैसियतले ज्ञानेन्द्रलाई कारबाही गरिएको जानकारी दिए । ‘खेल बहिष्कार गर्दा टोलीको कप्तान रहेका कारण हामीले उनलाई आगामी चार खेलको प्रतिबन्धको निर्णय गरेका हौं’, प्रधानले भने, ‘यो कारबाहीमा थप खेलाडी पर्ने छैनन् । यो निर्णयमा संलग्न प्रशिक्षक र व्यवस्थापकमाथि भने चाँडै नै कारबाहीको निर्णय सार्वजनिक गर्ने छौं ।’ 

 

प्रतिबन्धको निर्णयसँगै ज्ञानेन्द्रले घरमा आयोजना हुने कुनै पनि टीट्वेन्टी प्रतियोगिताको चार खेल गुमाउने छन् । ज्ञानेन्द्रको टोली काठमाडौं गोल्डेन्सले डीपीएलअन्तर्गत गत फेब्रुअरी २२ मा हुने तय भएको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको थियो । प्राविधिक समितिले त्यसको एक दिनअघि आफ्ना महत्वपूर्ण खेलाडी अंकित दबासलाई बलिङमा लगाएको प्रतिबन्धको विरोध गर्दै काठमाडौंले आयोजकसँग असहमति राखेको थियो । आयोजकसँग आफूले राखेको असहमतिका बारेमा जवाफ नआएपछि खेल खेल्न मैदानमा नउत्रिएको काठमाडौंले जनाएको थियो।
 

ज्ञानेन्द्र मल्ल प्रतिबन्ध

विशेष