मैले ३६ वर्ष अध्यापन गराएँ, कहिल्यै दलको झोले भइनँ (भिडियोसहित)
काठमाडौं । धमान सिंह बस्नेतले ३६ वर्ष अध्यापनमा बिताए । लामो समय विद्यालयको प्राचार्य भएर उनले देशको सेवा गरे । अध्यापनबाट सेवानिवृत्त भएपछि बस्नेत अहिले केशरबहादुर विष्ट नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट राजनीति गरिरहेका छन् ।
बस्नेतको मतमा नेपालको शिक्षा राजनीतिले गर्दा बिग्रेको हो । नेताहरुका कारण शिक्षा बिग्रेको हो । शिक्षक र विद्यार्थीलाई पढ्ने पढाउने कामबाट बिमुख गराउनेहरु नेताहरु नै हुन् । जसका कारण उनीहरुले विद्यार्थीलाई ढुंगा हान्ने, टायर बाल्न मात्रै सिकाइयो । आफू आठ वटा विद्यालयमा रहेर प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । उनी आफू विद्यालयमा हुञ्जले कहिले पनि राजनीतिमा नलागेको र अरुलाई पनि राजनीतिमा प्रवेश गर्न नदिएको उनको भनाइ छ ।
यतिबेला काठमाडौंमा अस्थायी शिक्षकहरुले स्वतः स्थायी गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । त्यो आन्दोलनलाई उनले दूर्भाग्यपूर्ण मानेका छन् । प्रतिस्पर्धा बिना नै स्थायी हुन पाउनु पर्छ भन्ने माग गलत रहेको उनी बताउँछन् ।
४६ सालयता विद्यार्थीलाई शिक्षकहरुले सिकाएको कुरा के हो ? धमान सिंह भन्छन्, ‘मेरै दल, मेरै नेता नै सबै कुरा भन्ने अनि मेरो काम कर्तव्य र अधिकार चाहिँ नपढाउने शिक्षकहरुले गर्दा यो सबै भएको हो । ’
नेपालमा शिक्षकहरुकै कारण शिक्षाको गुणस्तर बिग्रको उनको दावी छ । नेपालका शिक्षकहरु राजनीतिक दलको झोले भएर नै सबै कुरा बिग्रेको उनको दावी छ । निजी भन्दा सरकारी विद्यालयमा विद्यार्थीमाथी लगानी बढी भइरहेको उनी उल्लेख गर्छन् । बस्नेतको मतमा निजी क्षेत्रको गुणस्तर पनि राम्रो छैन । परीक्षामा बढी अंक ल्याउने नियतले मात्रै निजी स्कुलहरु सञ्चालीत रहेको उनले दावी गरे ।