कभर स्टोरी भिडियो

जनताले २४० वर्षको राजसंस्था हटाए, अब १२ वर्षको गणतन्त्र पनि हटाउँछन् (भिडियोसहित)

जनताले २४० वर्षको राजसंस्था हटाए, अब १२ वर्षको गणतन्त्र पनि हटाउँछन् (भिडियोसहित)

देवेन्द्र प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हुन् । पार्टीमा प्रभावशाली नेताका रुपमासमेत उनी परिचित छन् । विचारमा स्पष्टता, बोलीमा तार्किकता र संगठन विस्तारमा कुशल नेताका रुपमा उनको परिचय बनेको छ । प्रस्तुत छ उनीसँग भएको कुुुुराकानीको मुख्य अंशहरुः 

 

राप्रपाले सञ्चालन गरिरहेको मेची–महाकाली स्वाभिमान यात्रा कहाँ पुग्यो ? 
– हाम्रो यात्रा फागुन १५ मा शुरु भएको हो । पाँचथरको फिदिमबाट यात्रा शुरु भएको हो । यो यात्रा महाकालीसम्म पुग्दैछ । यो यात्रा कुनै पार्टी,जात, धर्मको विरोधमा होइन । राष्ट्र संकटमा गुज्रिरहेको छ । यस्तो बेलामा हिन्दुराष्ट्र कायम गर्न आवश्यक देखिएको छ । देशलाई एकताको सूत्रमा राख्न सबैलाई समेटनु पर्ने आवश्यकता देखिएको छ । त्यही मान्यताका कारण नै हामीले मेची–महाकाली स्वामिमान यात्रा गरेका हौं  । 

 

देशलाई संघीयताको नाममा टुक्रा टुक्रा पार्न खोजिएको, जातको नाममा, धर्मको नाममा पनि टुक्रा टुक्रा पार्ने प्रयास गरिएको छ । अरु देशमा के गरेको छ भन्ने कुराको जानकारी बिना नै यस्तो निर्णय लिइएको विरोधमा यस्तो अभियान सञ्चालन गरिएको हो । 

 

राप्रपालाई जनताले २४ सिट दिएका पनि हुन् । तर तपाईंहरुले त्यो २४ सिटलाई सत्तामा पुग्ने सिँढी बनाउनु भयो भन्ने जनताको गुनासो छ नी ? 
संविधानमा कुनै पनि धाराहरु अपरिवर्तनीय छैन । हाम्रो पार्टीले आफ्नो मूल्य मान्यतालाई समेत कायम गरेर भोट हालेको हो । प्रचण्ड सरकारमा जानु हाम्रो भूल हो । सरकारमा जानु कमजोरी भयो । ओली सरकारमा जानुलाई पार्टीले नराम्रो मूल्यांकन गरेको छैन । ‘नाम केपी ओली, काम कमल थापा’ भनेर पनि मानिसहरुले भनेका थिए । राष्ट्रिय स्वाधीनताका लागि ओली सरकारमा तत्कालीन परराष्ट्रमन्त्रीका रुपमा कमल थापाले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय थियो । 

 

पछिल्लो समयमा प्रचण्डको सरकारमा गएको बेला नेपाली जनताले मन पराएनन् । अध्यक्ष कमल थापाले पनि गल्ती भएको महशुस गरेर माफी पनि माग्नु भएको छ । तर हामी सरकारमा गएकै कारण नीति, सिद्धान्तका विषयमा मूल्यमान्यतामा तल परेका छैनौं । 

तपाईंहरु आफ्नो मूल्य मान्यतामा तल परेका छैनौं भन्नु हुन्छ, तर जनताले त बढारेर फाल्दिसके नी ? 
त्यस्तो होइन । हाम्रो पार्टीका राजेन्द्र लिङ्देनलाई जनताले प्रत्यक्षमै निर्वाचित गराएर पठाइसकेका छन् । हामीले हाम्रो मूल्य र मान्यतामा एक इन्च पनि तलमाथि गरेका छैनौं । जनताको मन मनमा राप्रपा पुग्दैछ । घर घरमा राप्रपा पुग्दैछ । यसपटकको निर्वाचनमा हामी अलिकति तल परेका छौं । तर यो वार्मअपका रुपमा लिएका छौं । अबको विकल्प राप्रपा नै रहेछ भन्ने नेपाली जनताले बुझेका छन् । 

 

यो व्यवस्था, यो सरकार, यी राजनीतिक दलको काम रहेनछ भन्ने जनताले बुझिसकेका छन् । देश र जनताको शान्तिका लागि सुखका लागि श्रीपेच छाड्ने सिद्धार्थ गौतमपछि राजा ज्ञानेन्द्र नै हुन् भन्ने स्पष्ट भएको छ । जनताको शान्तिका लागि जनताको नासो जनतालाई नै छाडेर हिँड्ने राजा नेपालमा भन्दा अन्त कतै पनि पाइँदैनन् । यस्ता राजालाई चिन्न नसक्नु हामी नेपालीको दूर्भाग्य हुनेछ । 

 

राजालाई अहिले नेपाली जनताले अत्यन्त मन पराउन थालेका छन् । गणतन्त्र, संघीयताको विरुद्धमा जनता जान थालिसकेका छन् । 

 

पूर्वराजाले एक विज्ञप्ति निकाल्दा प्रमुख राजनीतिक दलहरु रिसाउँछन् । राजालाई चेतावनी दिन्छन् । तपार्ईंहरु भने मुकदर्शक भए बस्नु हुन्छ किन ? 
हामीले वार्मअप गरिरहेका छौं मैले भनि नै सकेँ । नेपाली जनता कुनै पार्टीको दास होइन । त्यही जनता हो जसले ४६ सालमा बहुदल ल्यायो, ६३ सालमा लोकतन्त्र ल्यायो । राजसंस्था अहिले आवश्यक भइसकेको जनताले बुझिसकेका छन् । अब जनताले फैसला गर्छन् । जनताले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढिरहेका छौं । 

 

यतिबेला राजसंस्थाको एजेण्डा बिक्री हुन्छ भनेर समाउनु भएको त हो नी हैन ? 
हाम्रो विगत हेर्नुस् । हामीले कुन बेला राजसंस्था चाहिँदैन भनेका छौं ? कुन बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता ठीक भनेका छौं ? हामीले सदैव गणतन्त्रको विरोध गरेका छौं । देशको अस्तित्व रक्षाका लागि राजा चाहिन्छ भन्ने हाम्रो अटल विश्वास हो । त्यो विश्वासमा हामी अलिकति पनि तलमाथि भएका छैनौं । 

 

राप्रपाले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताको विपक्षमा मतदान गरेको थियो, त्यो काम गरेर त यी एजेण्डाहरुलाई लोकतान्त्रिक विधिमार्फत स्थापित गर्नमा सहयोगी नै हुनुभयो नी ? 
 

विपक्षमा मत हाल्दा सदर हुँदैन । त्यो व्यवस्थाको विरोधमा छ राप्रपा भन्ने नै हुन्छ । हामी त्यो बेलामा हाम्रो माग पूरा भएन भनेर जंगल जाने ? बन्दुक बोक्ने ? के गर्ने ? हामीले गरेको काम ठीक छ । हेर्ने दृष्टिकोण फरक हुन सक्छ । तर हाम्रो धारणा र विचारमा दुईमत छैन । एकै मत छ । त्यो हो –हिन्दुत्व, राजसंस्था । अहिले त नेकपालाई मत दिने जनतामा पश्चताप छ । त्यो मत फिर्ता लिन मिल्छ कि मिल्दैन भनेर उनीहरु सोधिरहेका छन् । यो गम्भीर सत्यलाई किन आत्मसात नगर्ने ? यसकारण हामीले बुझ्नु पर्ने कुरा भनेको राष्ट्रको अस्तित्व हो । 

 

सरकारले गरेको केही काम पनि राम्रो देख्नु हुन्न, तपाईंको पार्टी पनि पटक पटक सरकारमा गएको छ, भन्नुस त कुनै एक काम जुन जनताले पनि थाहा पाएका छ न् । 
– हाम्रो पार्टी नेतृत्व गरेको छैन । केपी ओली सरकारमा हुँदा गरेको काम राम्रै थियो । कमल थापाको बुलन्द आवाजलाई उपयोग हुनुपर्छ । जनताले पनि हतार नगर्न भनेका छन् । हिन्दुधर्म र राजसंस्था बोक्ने एकमात्रै पार्टी भनेको राप्रपा नै हो । 

तपाईंहरु नेतृत्व गर्न नपाएर काम गर्न सकेनौं भन्नु हुन्छ  । नेतृत्व गर्न पाएकाहरुले नौ महिना मात्रै भयो भन्नु हुन्छ । ३ वर्ष पाएकाले विपक्षीले काम गर्न दिएनन् भन्छन् । दुई तिहाई बहुमत भएको पार्टीले पनि केही गर्न सकेको छैन । आफू काम नगर्ने, अनि बहानाबाजी मात्रै कति निकाल्ने ? 
– हिन्दु धर्म, राजसंस्थाको पार्टी भनेको राप्रपा मात्रै हो । हामीले भनेका कुराहरुलाई निश्चित गन्तव्यसम्म नपुगेसम्म हामी प्रयासरत हुनेछौं । हामीले नीतिगत रुपमा, विचार  र सिद्धान्तको रुपमा आवाज क्रमशः बुलन्द गर्दैै लगेका छौं । हामी निरन्तर यात्रामा छौं । हामीसँग कसैको प्रभाव पनि छैन । 

 

जनताले तपाईंहरुलाई अभिमत दिए भने पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटीमा पुनस्र्थापित गर्न सक्नुहुन्छ ? 
हाम्रो पार्टीलाई पूर्वपञ्चहरुको पार्टीका रुपमा लिने गरिन्छ । यसलाई चिर्ने प्रयास हामी गरिरहेका छौं । राप्रपालाई युवाहरुको पार्टी बनाउने प्रयास भइरहेको छ । अहिलेको आवश्यकता हेरेर, भविष्यको सम्भावना विश्लेषण गरेर हामी अगाडि बढ्ने छौं । २४० वर्षको राजतन्त्र फाल्ने जनताले १२ वर्षको गणतन्त्र फाल्न किन सक्दैनन् ? त्यसकारण समयको माग हो यो । लोकतन्त्रको नाममा लुटतन्त्र, कम्युनिष्टको नाममा ‘कमाउनिष्ट’ अब चल्दैन । मैले भन्दै आएको छु, नारायणहिटी सफा गर्दैै गरे हुन्छ । 

 

राप्रपालाई युवाको पार्टी बनाउने कुरा गर्नुहुन्छ । तर अध्यक्ष कमला थापाले आफू अध्यक्ष नभए श्रृष्टि नै रोकिन्छ भन्ने सोच राख्नु हुन्छ नी ? 
युवाको पार्टी भनेको युवाको सोच र सिद्धान्त अनुसार चल्ने पार्टी हो । हाम्रो अध्यक्ष ७० वर्ष पनि पुग्नु भएको छन् । नेतृत्व पंक्ति भनेको समय र  आवश्यकताले स्थापित गर्छ । आगामी महाधिवेसनमा नेतृत्वको उमेर हद विधानमा उल्लेख हुनेछ । अहिले नै नेतृत्व पंक्तिका विषयमा सोचिहाल्नु पर्ने अवस्था आएको छैन । अध्यक्षले नै भन्नु भएको छ कि एउटा कमल थापा मात्रै भएर हुँदैन । सबै व्यक्ति कमल थापा हुन पर्छ । आशा र विश्वास छ कि आगामी महाधिवेसनमा उमेर हदको कुरा लेखिनेमा विश्वास छ । 

 

 

कमल थापा, पशुपति शमशेर राणा, केशरबहादुर विष्ट, प्रकाशचन्द्र लोहनी सबै राजसंस्था चाहने तर मिल्न भने नसक्ने किन ?

६३ सालपछि कमल थापा राजसंस्थाको पक्षमा हुनुहुन्थ्यो । बाँकी सबै गणतन्त्रवादी भए । यिनीहरु छेपारे हुन् । मलाई खुसी केमा लागेको छ भने उहाँहरु पनि गणतन्त्र विपक्षमा आउनु भएको छ । राजसंस्थाको पक्षमा आउनु भएको छ । अर्थात उहाँहरु हाम्रो पक्षमा आउनु भएको छ । यो सुखद कुरा हो । केही प्रमुख दलका शीर्षस्थ नेताहरुले नै राजसंस्था मन पराउनु भएको छ । अहिलेको समय सबैतिरबाट राजसंस्थाको पक्षमा जाँदै छ । २०५ बाट ३३०  भए सांसद । ३३० बाट ६०१ भए । ६०१ बाट अहिले झण्डै १२०० सांसद जनताले कसरी पाल्न सक्छन् ? यसकारण यो संघीयता कामै छैन । 

कमल थापा पशुपति शमशेर राणा प्रकाशचन्द्र लोहनी राप्रपा केपी ओली संघीयता गणतन्त्र धर्मनिरपेक्षता राजा ज्ञानेन्द्र केशरबहादुर विष्ट देवेन्द्र प्रधान

विशेष