राउटे मुखियाको चासो, ‘रेखा थापाले किन बिहे गरेन ?’
कञ्चन न्यौपाने
काठमाडौं । ‘जंगलमा बस्ने, पैसा छुँदा पाप लाग्छ’ भन्ने ठान्ने राउटे जातिको अवस्था पहिले जस्तो छैन । अचेल राउटेलाई पैसा छुँदा 'पाप' लाग्न छाडिसकेको छ । राउटे बस्तीमा पुग्ने हरेक नयाँ मानिससँग राउटेहरूले सुरुमै माग्ने भनेकै 'मनी' हो ।
राउटेमा तल्लो र सानो जात, वर्गीय असामानता हुँदैन । पैसा छुनु भनेको उनीहरूको लागि पाप हो । दिनभरि पुरुष शिकार गर्न जान्छन् । रातमा महिलाले शिकार गरेको खानेकुरा बनाउँछन् । मिलेर खान्छन् । राउटेबारे सुनेबुझेका कुरा यस्तै थिए । सुनिएका र वास्तविकतामा कहिलेकाहीँ मेल खाँदैन । राउटे बस्ती नै पुगेर त्यो जातीबारे जान्ने इच्छा थियो । कलेजको भ्रमण अन्तर्गत एक दिनको लागि राउटे समुदायमा जाने मौका यसपटक जुर्यो ।
राउटेहरुसँग के कस्ता कुराकानी गर्ने भन्ने खास तयारी थिएन । अघिल्लो दिन के कस्ता विषयमा कुरा गर्ने भन्ने विषयमा छलफल भयो । सभ्य भाषा र उनीहरुको अनुमतिबिना फोटो भिडियो नखिच्न सुझाइएको थियो । भोलिपल्ट राउटे बस्ती पुगियो । राउटेहरू मान्छे मरेपछि बसाई सर्ने गर्छन् । यस पटक राउटे मुखियाको भाइ बुहारीको मृत्यु भएका कारण उनीहरू रातेखोलाबाट गुर्भाकोट नगरपालिका ४ मा बसार्इं सरेका थिए । उनीहरू बस्ने ठाउँसम्म नै गाडी पुग्ने रहेछ । बस नरोकिँदै माथिबाट उनीहरूको बसाई प्रष्ट देखियो । काठमाडौंको सुकुम्बासी बस्ती जस्तै देखिने कालो कपडा टाँगिएका छाप्राहरु । बस्ती पुग्न दुई मिनेटजति पैदल हिँड्दै गर्दा बाटोमै एक वृद्ध राउटे भेट भए । उनीसँग सामान्य कुराकानी भयो । सँगै गएका गाइडले उनलाई खैनी दिए । ‘राउटे भेट्न जान लाग्या भए खैनी लैजानुस्’ भनेर वरिपरिका स्थानीयले हामीलाई बाटोमा भनेका थिए ।
खैनी पाएपछि उनी हँसिला देखिए । हामीले उनीसँग त्यहाँ फोटो खिच्न पाइने या नपाइनेबारे पनि सोध्यौं । खैनी पाएर मख्ख परेका ती वृद्धाले मज्जाले पाइने आशयमा जवाफ दिए । केही साथीहरुले उनीसँग सेल्फी खिच्न पनि भ्याए । अन्तिममा नास्ता खान पैसा नभएको गुनासो गरे । एनजना साथीले सय रुपैयाँ दिए । लगत्तै उनले अर्को पचास रुपैयाँ मागे । अर्को साथीले थपिदिए । यति भएपछि उनी मख्ख परेर आफ्नो बाटो लागे र हामी आफ्नो ।
बस्तीमा पुग्दै गर्दा तीनजना बालिका लस्करै बसेका थिए । राउटेका बच्चा देख्नेबित्तिकै साथीहरूले क्यामेरा सोझाए । एकपछि अर्को गर्दै ती बालिका भन्दै थिए, ‘मनी मनी मनी’ । हामीले बच्चाहरुको लागि भनेर केही चकलेट पनि साथमा लगेका थियौं । एकजना साथीले चकलेटको डब्बा निकालेर दिन थालिन् । उनीहरुले झ्याम्मै बट्टामै आक्रमण गरे झैं गरे । त्यसपछि पनि उनीहरुले पैसा माग्न छोडेनन् । मैले सोधें, ‘पैसाले के गर्ने ?’, जवाफमा कोही बोलेनन् । मात्र भनिरहे, ‘मनी मनी’ ।
बच्चादेखि बुढासम्मले पैसा मागेर हैरान बनाएको देख्दा मनमनै लाग्यो गैरसरकारी संस्था र सरकारले राउटेलाई बिगारिसकेछन् । मैले तीनै जनालाई दश दश रुपैयाँ दिएँ । आक्रमण शैलीमा चकलेट खोसेपछि साथीहरुले उनीहरुसँग बसिराख्न उचित नहुने ठाने र हामी त्यहाँबाट सिधै मुखियालाई भेट्न गयौं । मुखिया सूर्यनारायण शाही साह्रै मिजासिला थिए । उनले आफ्नो साथमा हामीलाई सबै बस्ती घुमाइदिए । मुखियाको अघि भने अन्य राउटेले पैसा नमाग्ने रहेछन् । मुखिया नभएको समय पायो भने फेरि मौकामा चौका हानिहाल्ने ।
यता काठमाडौंमा हुँदा राउटेका मुखियाले भ्रष्टाचार गरे भन्ने समाचार कतै पढेकी थिएँ । मैले सरल भाषामा सोधें, ‘यस्तो सुन्यौ नि हामीले ’ हाँस्दै उनको जवाफ, ‘त्यो सबै हल्ला हो’ । उनको बोलीमा मीठास थियो, हामीले सोधेका प्रश्नको जवाफ सबै दिएका थिए । जवाफमा कुटनीतिको गन्ध पनि छाएको थियो ।’
केही राउटे दिउँसै रक्सी पिएर आफ्नो तालमा थिए । केही भने श्रम गर्दै गरेका । श्रम गर्नेले पैसा मागेनन् । बरु आफूले बनाएका सामान खरिद गर्न लगाए । स्वास्थ्य अवस्थाबारे बुझ्दा अहिले केही भयो भने अस्पताल जाने बताए मुखियाले । सुइ लगाउन भने उनी डराउने रहेछन् । राउटे हुनुमा उनलाई गर्व छ । भन्छन, ‘नेपालमा रहने तपाईं हामी सबै जनता हौं’ । सुशील कोइराला प्रधानमन्त्री हुँदा सात लाख रुपैयाँ ल्याएको कुरा उनी अझै सम्झन्छन् ।
देशको सूचनाबारे ठाउँ घुम्दै घुम्दै सन्देश लिने गरेको पनि उनले बताए । पोखरा पुग्दा प्याराग्लाइडिङ पनि हेरेका छन् राउटे मुखियाले । हेर्दै डर लागेको अनुभव साटे । राउटे मुुखिया सूर्यनारायण शाही तीन चार पटक पोखरा र दुई तीन पटक काठमाडौं गएका छन् । अहिले भत्ता रासन दिनका लागि धेरै संघसंस्थाहरु उनीहरुको बस्तीमा आउने गरेका छन् । सिलाएको कपडा नलगाउने राउटेले गादो, गलेक, पगडी लगाउने रहेछन् ।
हामी महिलाहरु भएको छाप्रोतिर गयौं । केही मोेती जडिएका माला बनाउनमा व्यस्त थिए त केही फलामका बाला बनाउनमा । केही बेथे साग केलाउँदै थिए भने केही चाहीँ नजिकैको खोल्साबाट पानी ओसार्दै थिए । छोराछोरीलाई यथास्थितिमा छोडिदिएका । कसैलाई कसैको मतलवै छैन । उनीहरुको बालबच्चाको अवस्था हेर्दा राउटेका बच्चा जंगलमा जनावरका बच्चाजस्तै गरी हुर्किने रहेछन् भन्ने किटानी गर्न कठिन थिएन ।
राउटेबस्तीमा हामीलाई सबैभन्दा कठिन चाहिँ महिलाहरुसँग अन्तरक्रिया गर्नमा भयो । बोल्न खोज्दा मरिगए नमान्ने । अगाडि जाँदा हामी त्यहाँ गएको नै झर्को मानेको जस्तो गर्ने । यदि बोलिहाले पनि आफ्नै भाषा मिसिएको शैलीमा उत्तर दिने जुन हामीलाई बुझ्न पनि कठिन । पुरुष खुलेर बाहिर आएर अन्तरक्रिया गर्न चाहने र महिला गुपचुप नै बसेको स्थिति गौण गर्दा राउटेमा पनि चरम पितृसतात्मक समाजको प्रभाव छ जस्तो लाग्यो ।
बल्ल बल्ल एकजना वृद्धाले मुख खोलिन् । हामीले उनीसँग स्वास्थ अवस्था र बिरामी भएमा उपचार कता गर्नेबारे सोध्यौं । अघिसम्म मुखियाले भनेका कुरा र उनको कुरा फरक थियो । स्वास्थ्य चौकी जान पैसा लाग्छ भन्ने बुझाइ रहेछ उनको । त्यसकारण स्वास्थ्य चौकी जाने गरेका छैनन् उनीहरु । बिरामी भएको खण्डमा यत्तिकै बस्ने र पछि आफै निको हुने उनले बताइन् । कहिलेकाहीँ धामीको पनि सहारा लिने गरेका रहेछन् ।
हातमा लगाउने फलामका चुुरा र औँठी बनाएर पैसा कमाउने गरेको पनि उनले बताइन् । कुराकानी गर्दै गर्दा छेउमै बसेका एकजना वृद्धाले भने, ‘बैनी दश रुपैयाँ छैन ? छोरा पसल जान्छ रे ।’ साथीले कुरा गरिसकेर दिने भनेर टारिदिइन् । त्यहाँबाट निस्किदा ती वृद्धाको हातमा पैसा दिएर हामी निस्कियौं ।
राउटेमा सबै ठकुरी जाती हुने रहेछन् । तर चेलीबेटी चलाउन जात चाहिने हुनाले चार जातमा विभाजन भएको मुखियाले बताए ।उनीहरुकै भाषामा गीत गाइदिन हामीले मुखियालाई आग्रह गर्यौं । चाडपर्व नआइ गीत नगाउने भन्दै उनी पन्छिए । निकै कर गरेपछि बाध्य भएर उनी गीत गाउन राजी भए तर आफ्नै भाषाको गीत नभएर नेपाली गाए ‘रेशम फिरिरि’ । यही गीत उनले केही वर्ष अघि कान्तिपुर रेडियोमा पनि गाएका थिए ।
गीतसंगीतको कुरासँगै नेपाली कलाकारको कुरा पनि निस्कियो । राउटे मुखियाले रेखा थापालाई चिनेको कुरा नौलो होइन । उनले स्मरण गर्दै भने, ‘रेखा थापासँग नाचेको छु म ।’ रेखा थापा कस्तो लाग्यो त ? भने, ‘ठिकै लाग्यो’ । अहिले त हात नभाको सुदर्शन गौतमसँग विवाह ग¥यो होला । विवाह भएको छैन भन्दा उनको प्रतिप्रश्न थियो, ‘किन नगरेको ?’
उनले महानायक राजेश हमाललाई पनि चितवन नारायणघाटमा भेटेका रहेछन् । केही समयअघि मात्र राउटेबस्तीमा १६ वर्षको युवतीको ३२ वर्षका पुरुषसँग विवाह भएको खबर आएको थियो । ती मानिसहरुलाई भेट गराइदिनु न भन्ने हाम्रो आग्रह नकार्दै उनले भने, ‘अहिले मान्छे बाहिर गया छन् ।’ मुखियाका भाइ पनि सँगै थिए । दिउँसभर के काम गर्नुहुन्छ भन्दा राउटे मुखियाका भाइले भने, ‘घाम लाग्यो भने शीतल ताप्ने’ । उनको कुराबाट काम नगर्ने गरेको प्रष्ट हुन्थ्यो ।
एकदिन मात्र त्यहाँ गएको कारण उनीहरूबारे विस्तृत रुपमा जान्न सकिएन । अघिसम्म उनीहरूले पैसामात्र मागेको देखेर राउटे मात्तिए र अल्छी भएजस्तो लागेको थियो । फर्किदा यो नकारात्मक पाटो सेलाउन थाल्यो । राउटेले पैसा माग्ने कारण आफैंमा खोज्न थालें । मनमनै अनुमान गरें, सायद अहिले उनीहरुलाई सबै कुरा बजारमै गएर किन्नुपर्छ । किन्नलाई त पैसा चाहियो । त्यहाँ आउनेहरुले पनि उनीहरुलाई पैसा दिने बानी बसालेपछि उनीहरुले माग्नुमा केही गल्ती छैन । हामी पनि त सानो हुँदा घरमा पाहुना आएको कुरालाई पैसा आएको ठान्थ्यौं । आएका पाहुनाले केही पैसा दिए हुने भन्ने झिनो आशा हामी अधिकांशमा पक्कै थियो ।
पुर्खाले कोरेको बाटोमा उनीहरु अडिग भएर बस्नु सबैभन्दा ठूलो आत्मविश्वासको प्रतिक देखियो । राउटेले चाहने हो भने पक्की घरमा बस्न उनीहरुलाई केही गाह्रो छैन । त्यसो त नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाले राउटेलाई आर्थिक सहयोग गरिरहेका छन् । तर, उनीहरुलाई त्यही जीवनशैली प्यारो छ । पक्की घरमा बस्ने कुरा गर्दा उनीहरु गललल्ल हाँसे र आफूलाई उचित नलाग्ने बताए ।
त्यो दिन त्यहाँबाट आधा अधुरा सूचना लिएर फर्कियौं । मनमाा अझै धेरै सवाल थिए । तर, फेरि फर्किन सम्भव थिएन । त्यो रात बेजोडको हावाहुरी चल्यो । दिउँसो हामी जाँदा उनीहरुको छाप्रो मात्र केही कपडाले टाँगिएको थियो । टाउकोमा ठूलै चोट लागेको एकजना बालक यताउता डुलिरहेको थियो । रातभरि त्यही बालक स्मृतिमा नाच्यो । मनमा लागिरह्यो, ‘यो हुरी र पानीमा कसरी बसे होलान् राउटे ? घाम लाग्यो भने शीतल ताप्ने भनेर भनेका ती राउटे मुखियाका भाइ यो झरीमा कता ओत लाग्दै होलान् ?’
याे सामाग्री पब्लिक न्यूज एजेन्सीबाट साभार गरिएकाे हाे ।