सञ्चार माध्यममा अप्रिलफूल, समाचारमा ठट्टा उचित की अनुचित ?
- प्रयास श्रेष्ठ
अप्रिल १ अर्थात् अप्रिलफूल । सबैले ढाट्ने, ठट्टा गर्ने र अरुलाई बेवकुफ (मूर्ख) बनाउने गर्दछन् । प्रायजसोले यसै भनेर अप्रिल फुललाई बुझने गर्छन् । केहीले भने अप्रिल फुलको बाहनामा नाजायज फाइदासमेत उठाउने गर्दछन् ।
अप्रिल फुलको दिन सत्यलाई असत्य र असत्यलाई सत्य बनाएर अरुको मजाक उडाइन्छ । यति सम्मकी अप्रिलफूलकै नाममा झूठ बोलेर अरुलाई गम्भीर चोट समेत दिने गरेको पाइन्छ । झूठकै कारण धैरैको जीवनमा ठूलो धोका पुगेको समेत समाजमा प्रशस्त उदाहरण देख्न पाइन्छ ।
केहि वर्ष अघि एक युवकले आफ्नै केटी साथीसँग अप्रिलफूल मनाउदा युवतीले आत्महत्या गरेको घटना ताजै छ । जहाँ युवकले अप्रिलफूलमा आफ्नी युवतीलाई माया नगर्ने भन्दै फूल(मूर्ख) बनाउने कोशिस गरेका थिए । तर परिणाम उल्टो आयो । आवेगमा आएर ती युवतीले आत्महत्या नै गरिन् ।
यो त एक प्रतिनिधि घटना मात्र हो । यस्ता घटनाहरु हाम्रो समाजमा धेरै छन् ।
अप्रिलफुल मनाउनेको लागि त क्षणिक मजाक होला तर फूलको शिकार हुनेलाई भने ठूलो चोट पर्न सक्छ । यो गाम्भीर्यतालाई मनन् गर्न नसक्दा जीवनमा ठूलाठूला दुर्घटनासमेत हुने गरेका छन् ।
आजभोलि व्यक्तिले मात्र होइन सांगठनिक रुपमा झूठको खेती अर्थात् अरुलाई मुर्ख बनाएर रमाइलो गर्नेहरु बढेका छन् । यतिसम्म की सधै सत्य, तथ्य र निष्पक्ष समाचार संप्रेषण गर्ने भनिएका सञ्चार माध्यमले समेत अप्रिलफूल मनाउन थालेका छन् ।
हुन त नाम मात्रका मिडियाधारीहरुले आज मात्र होइन सधैजसो अप्रिलफूल मनाइरहेकै छन् । आज विशेष गरि डिजिटल मिडिया(अनलाइन पोर्टल) हरुले अप्रिलफूल मनाइरहेका छन् ।
हुँदै नभएका र कपोल्कल्पित भ्रामक समाचार संप्रेषण गर्ने र अन्तिममा अप्रिलफूल मनाएको भनेर पत्रकारिता क्षेत्रकै धज्जी उठाउँदासमेत प्रेस काउन्सिल मौन बस्नु अचम्म छ ।
राष्ट्रिय, चलेका र ख्याति प्राप्त भनिएका सञ्चार माध्यमहरुले समेत अप्रिलफूलका नाममा भ्रामक समाचारहरु संप्रेषण गरिरहेका छन् । यस्तो कार्य किन भइरहेको छ ? आखिर मिडियामा यस्तो कार्य उपयुक्त की अनुपयुक्त ?
मिडियामा आएका र अप्रिलफूल मनाएका केहि भ्रामक समाचारहरु यस्ता छन् :
-मध्यरातमा काठमाडौं उत्रेका ट्रप सीधै बालुवाटारमा, ७० अर्ब डलर दिने
-दुःखका बेलामा सेनाको विशेष विमानबाट चीनका राष्ट्रपति सिजिङ्ग पींङ अचानक काठमाडौं उत्रिए
-चीनद्धारा नेपाललाई ९० खर्बको आर्थिक सहयोग घोषणा
-सर्लाहीमा शक्तिशाली बम विस्पोट, ४ जनाको मृत्यु
-मेस्सी नेपाल आउँदै लगायतका थुप्रै भ्रामक समाचारहरु संप्रेषण भएका छन् ।
यस्ता समाचारले समाजमा कस्तो सन्देश जाला र कस्तो प्रभाव पार्ला ?
आजको दिनमा हाम्रो समाजमा पुरापुर समाचार पढेर जानकारी लिने भन्दा समाचारको शीर्षक पढेर धारणा बनाउनेहरुको भीड छ । मर्म र कर्मनै नबुझि मिडियालाई एकोहोरो गाली गर्नेहरुको जमात छ । त्यसो त नामधारी मिडियाहरुले यस कार्यमा राम्रै मलजल गरिरहेका छन् ।
मिडियाको नाममा भ्रामक समाचार संप्रेण गर्ने र भ्यूअर तथा भिजिटर बढाउने खेलमा लागेका मिडियाहरुको दुष्कर्मले संचार माध्यमको छवि नराम्ररी बिग्रिरहेको छ । यो विषयमा आम–सञ्चार माध्यमहरु सचेत हुनैपर्छ ।