मुख्य समाचार

बारा र पर्सामा हावाहुरीः ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

बारा र पर्सामा हावाहुरीः ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

काठमाडौं । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सा र बारामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । ४ सय भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन । दर्जनौं घाइते भएका छन् । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

 

पर्सामा अहिलेसम्म ४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । यहाँ पनि कैयौं घाइते भएका छन् ।  हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण विद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।


कतिपय स्थानमा अझै पनि उद्धार जारी छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

हावाहुरी पर्सा बारा

विशेष