प्रवास

८ वर्षमा ५७ लाख बढी एमआरपी वितरण

८ वर्षमा ५७ लाख बढी एमआरपी वितरण

काठमाडौं  । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ। एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहादानी विभागले जनाएको छ ।

 

विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष छन् । ४६ लाख ३३ हजार नौ सय ६५ पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ । राहदानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर, आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने।

 

जिल्लाबाट धेरै वितरण
नेपालमा राहदानी वितरणबारे अनुसन्धान गरेको फ्याक्टस् रिसर्च एन्ड एनाइटिक्सको तथ्यांकअनुसार धेरै एमआरपी जिल्लाबाटै वितरण भएका छन् । जिल्लाबाट मात्रै २८ लाख नौ हजार सात सय २४ एमआरपी वितरण भएका छन् । यो कुल एमआरपी संख्याको ४८.९४ प्रतिशत हो । जिल्लाबाट एमआरपी वितरण गर्न भने २०११ बाट सुरु भएको हो ।

 

सुरुआतबाटै वितरण गरिएको राहदानी विभागबाट २२ लाख ४६ हजार दुई सय १२ एमआरपी वितरण भएका छन् । यो कुल संख्याको यो ३९.१२ प्रतिशत हो । २०११ बाटै वितरण सुरु भएको विदेशस्थित कूटनीतिक नियोगबाट ६ लाख ८५ हजार ३५ अर्थात् ११.९३ प्रतिशत एमआरपी वितरण भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

रिडेबल पासपोर्ट एमआरपी

विशेष