खेल

सिंगापुरमाथि नेपालको सान्दार जीत, सिंगापुर ६५ रनमै अलआउट

सिंगापुरमाथि नेपालको सान्दार जीत, सिंगापुर ६५ रनमै अलआउट

काठमाडौं। यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको शुभारम्भ गरेको हो ।

 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर नखेली नै अलआउट भएको थियो । कुल ४६ ओभर मात्र खेल्न सकेको नेपालले सिंगापुरसामु सम्मानजनक लक्ष्य प्रस्तुत गरेको थियो । २ सय ८२ रन बनाएको नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले १ सय ५ बल खेल्दै ७ चौका र १ छक्काको सहयोगमा ९५ रन बनाएका थिए ।

 

१८ रन बनाएर दुई विकेट गुमाएको स्थितिमा नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । पवनले भने ५३ बलमा ४ चौका र २ छक्काको मद्दतले ४७ रन बनाए । ४७ बलको सामना गरी राशिद खानले ४८ रन बनाए भने नेपालको पारीमा कमल सिंह ऐरीको ३१ तथा भीम सार्कीको २६ रनको योगदान रहयो । नेपाललाई अलआउट गर्ने क्रममा सिंगापुरका अथर्व गुनेले ४, राउल शर्मा र विनित मेहताले समान २/२ तथा प्रमेश सिंघवीले १ विकेट लिए ।

 

जवाफी ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा मात्र ६५ रन बनाएर सबै विकेट गुमाउन पुग्यो । सिंगापुरका इशान सान्वेले २८ तथा साइ भेनुगोपालले १८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङकमा रन बनाउन सकेन । सिंगापुरलाई सस्तोमै समेट्ने क्रममा नेपालका पवन शर्राफले ३, कुशल मल्ल र सुर्य थामाङले समान २/२ तथा राशिद खानले १ विकेट लिए । पवन शर्राफले आफ्नो ६ ओभरमा जम्मा ५ रन खर्चेका थिए ।

विशेष