कभर स्टोरी मनोरञ्जन

कलाकारको नयाँ वर्षे योजना, रक्सी छोड्नेदेखि मानवता जोड्नेसम्म

कलाकारको नयाँ वर्षे योजना, रक्सी छोड्नेदेखि मानवता जोड्नेसम्म

काठमाडौं । हरेक नयाँ वर्षमा मानिसले योजना बनाउँछन् । वर्षभरि आफूलाई गर्न मनलागेका काम पूरा गर्नेबारे सचेत रहन्छन् । कतिले पूरा गर्छन् त कतिले गर्दैनन् । त्यसमा पनि सेलिब्रेटीको जीवनमा आम व्यक्तिको चासो हुनु स्वाभाविक हो ।  नेपाली कलाकारका नयाँ वर्ष २०७६ सालका योजना उनीहरुकै शब्दमा । 

नायक दयाहाङ राई — म खासै प्लान बनाउँदिन । मेरो जीवनमा जस्तो आउँछ त्यस्तै टर्छ । धेरै ठूलो प्लान गर्ने बानी नै छैन । प्लान पूरा भएन भने मानिस दुखी हुन्छ । त्यसैले नयाँ वर्ष भनेर धेरै उत्साही छैन । साथीभाईसँगै बसेरै दिन बित्छ होला । 

गायक वर्षा राउत — यो वर्ष त रिजोलुसन बनाउन भ्याएको पनि छैन । काममा धेरै व्यस्त भइरहेकी छु । पहिलाको वर्ष केही ठाउँहरुमा घुम्न जाने भन्ने प्लान थियो । तर अलिअलिमात्र पूरा भयो । नयाँ वर्षको दिन परिवार र साथीसँग पोखरा जाने प्लान छ । 

अभिनेत्री रेखा थापा — म यो गर्छु , त्यो गर्छु भनेर योजना बनाउँदिन । जे गर्दै आएको छु त्यसलाई निरन्तरता दिने विषय नै शीर्षस्थानमा रहन्छ । हाल म छोरीहरुलाई जागरण गराउने महाअभियानमा छु । आधा जनशक्ति महिला भएको देशमा महिलाले आत्मसम्मानसाथ बाँच्न पाएका छैनन् । भोलि फेरि निर्मला हत्याकाण्डजस्ता नदहोरिउन । छाउपडीले मर्नुपरेका घटना नआउन् भनेर पहुँच नपुगेका ठाउँमा पुगेर छोरीहरुलाई जागरुक बनाउने योजनामा छु । यसैलाई सफल पार्न चाहन्छु । नयाँ वर्षको दिन यसै सम्बन्धी चरिकोटमा कार्यक्रम छ । त्यसमा सहभागी हुँदैछु । 

गायिका ज्योति मगर — अझै मेहनत गर्ने, राम्रो राम्रो गीत दिने र सकभर रक्सी छोड्ने यो वर्षको योजना छ । यसवाहेक वजन घटाउने पनि अर्को योजना हो । पहिलाको वर्ष त्यस्तो खासै योजना थिएन । नयाँ वर्षलगत्तै गीत पनि रिलिज गर्नुपर्ने छ । त्यही दिन विहान लहानको गोलबजारमा कार्यक्रम छ र बेलुकी सिन्धुलीमा । 

ऋचा शर्मा — म कहिल्यै कुनै पनि कुराको रिजोलुसन बनाउँदिन । गर्नुपर्ने काम कसैलाई नभनी आफैं गर्छु । ‘पाङग्रा एक्स्प्रेस’ नामको फुड ट्रक खोल्दै छु । अहिले शेर्पा मलमा खुलिसकेको छ । यसको आउटलेट  अझै धेरै ठाउँमा खोल्ने सोच छ । यो वर्ष फिल्मको काम, नेपालस् गट टलेन्ट र वेब सिरिजको काम पनि गर्दै छु । यही नै हो मेरो रिजोलुसन । नयाँ वर्षकै दिन सायद फुडट्रकको काममा व्यस्त हुन सक्छु । घरमै पारिवारिक जमघट हुन सक्छ । स्वास्थ्यलाई निकै हेलचेक्राइ गरिरहेकी छु । यो वर्षदेखि स्वास्थ्यमा निकै ध्यान दिने योजना छ । 

विराज भट्ट — नयाँ वर्षको दिनबाट फिल्म ‘साङ्लो’ छायांकनमा जानेछ । यसमा मिस नेपाल (२०१७) निकिता चाण्डक पनि मुख्य भूमिकामा हुनुहुन्छ । फिल्मकै काममा व्यस्त हुने योजना छ । 

प्रियंका कार्की — म नयाँ वर्ष कुरेर रिजोलुसन बनाउने मान्छे नै होइन । आफूलाई गर्न मन लागेको र गर्नुपरेको काम तुरुन्तै गरिहाल्छु । मैले आजसम्म नयाँ वर्षको रिजोलुसन बनाइन । यो वर्षको नयाँ वर्षमा म विराटनगरमा हुने एक इभेन्टमा सहभागी हुँदैछु । त्यसैले अब काममै नयाँ वर्ष मनाइन्छ । 

करिश्मा मानन्धर — सकेसम्म एक्सरसाइजहरु गर्ने, स्वस्थ्य र खुशी रहने प्रयास गर्ने योजना छ । अरु कुरामा खासै केही रिजोलुसन छैन । कलेज पक्कै जान्छु । राजनीतिमा पनि सक्रिय भएको नाताले सम्भवतः मानविकी विषय लिएर पढ्छु होला । नयाँ वर्षको दिन मनाउनको लागि थुपै्र ठाउँबाट निमन्त्रणा आएको छ । तर म बाहिर गएर यस दिन सेलिब्रेट गर्ने योजनामा छैन । घरकै स्टाफहरुसँग भान्सामा बसेर नयाँ वर्ष मनाउँछु । किनभने मेरो दिनको सुरुवात नै उहाँहरुबाट हुन्छ र मेरो लागि उहाँहरु निकै महत्वपूर्ण हुनुहुन्छ । 
 

वर्षा राउत रेखा थापा ऋचा शर्मा प्रियंका कार्की करिश्मा मानन्धर दयाह्याङ राई ज्योति मगर विराज भट्ट

विशेष