बालगुरुसमक्ष प्रधानमन्त्री ओलीको प्रवचन: आदित्यनाथ वैज्ञानिकका लागि पनि चुनौति
नमिता दाहाल, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बालगुरु आदित्यनाथ कुनै स्रोत र अभ्यासबिना नै ज्ञान हासिल गर्ने संसारको एकमात्र मानव भएको बताएका छ्न ।
शनिवार त्रि-गजुर शिवालयको प्राण-प्रतिष्ठा एवम् ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, " मैले पटकपटक भन्ने गरेको छु कि ज्ञान प्राप्तिका लागि स्रोत आवश्यक छ । स्रोतको रुप गुरु वा अभ्यास जे सुकै होस् । स्रोतविना ज्ञान हुन्न । आदित्यमा बिना स्रोतको ज्ञान प्राप्त छ । विना स्रोत ज्ञान हासिल गर्ने आदत्य दाहाल विश्वकै एक्लो मानव जाति हो ।"
बिना कुनै स्रोतको ज्ञान हासिल हुनु अदभुत कुरा भएको बताउदै प्रधानमन्त्री ओलीले भने, "यो विज्ञानका लागि असाधारण र गहण चुनौति हो कि विना कुनै स्रोत र अभ्यासको ज्ञानको प्राप्ति कसरी हुन्छ । कहाँबाट ज्ञान आयो ? यो वैज्ञानिकको लागि चुनौति हो । ब्लाकहोल भन्दा पनि गाह्रो छ पत्ता लगाउन् ।"
प्रधानमन्त्री ओलीले जीवनबाट हारेकाहरुका लागि बालगुरु जीवन बाँच्ने स्रोत हुन सक्ने जीकिर गरे । उनको भनाइअनुसार जसले ज्ञानबोध हुन्न भनेर कसम खाएको छैन । उसका लागि ज्ञान हासिल गर्न बालगुरु आदित्यको संदेश काफी छ । लेखेर आफ्नो विचार प्रकट गर्ने बालज्ञानी आदित्य स्वस्थ्य भएर वाचन गरेर संदेश देउन् भन्ने प्रधानमन्त्रीको चाहना छ ।
पशुपति क्षेत्रमा आजदेखि सुरु भएको ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान आगामी ३० गतेसम्म चल्नेछ । उक्त क्षेत्रमा बालगुरु आदित्यको अवधारणामा त्रि–गजुर शिवालयको स्थापना गरिएको हो। महायज्ञको पहिलो दिन ९६० मंगल कलसको यात्रा पशुपतिनाथ मन्दिर परिक्रमा गरी सम्पन्न भएको छ । कलश यात्रामा ५०० प्लेकार्ड र अर्को ५०० ॐ आदी लेखिएको पहेंलो झण्डा समेत पर्दशन गरिएको हो।