यस्ता थिए सहचालक ढुंगाना
काठमाडौं। समिट एयरका ३४ वर्षे सहचालक सुजित ढुंगाना यो संसारमा रहेनन् ।
तिमी के बन्न चाहन्छौ ? आमाको मुखबाट यो प्रश्न सोध्दा बालसुलभ शैलीमा उनले भनेका थिए– ‘म आकाशमा उड्न चाहन्छु ।’ बुबा ब्राम्हण, आमा तामाङ । आमा ल्हेमी लामाले छोराको इच्छा अनुसार पढाइन् । छोरो पढ्यो, पाइलट भयो । आफ्नो पेशामा रमाउँदै थियो । भर्खरै छोराको जोडी पनि बाँधिदिइन । आफू भने सोलुको फाप्लुमा बसेर व्यापार गर्दै आएकी छन् । त्यही सोलुकै जमिन नयाँ वर्षका दिन आमाले प्राण प्रिय सन्तान गुमाउनु पर्यो ।
सहपाठीको अनुभवमा सुजित निक्कै मिजासिला थिए । आमाको परम भक्त थिए । उनले आफ्नो थरको पछाडि लामा र ढुंगाना दुवै लेख्ने । फेसबुक एकाउन्टमा समेत आमासंगको फोटो अपलोड गरेका छन् । दुई वर्षअघि समिट एयरमा प्रवेश गरेका ढुंगाना रामेछापबाट यात्रु लुक्ला पुर्याएर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
उनले अहिलेसम्म नेपालमा ६ सय बढी उडान गरेका थिए । फिलिपिन्समा पाइलट कोर्स गरी फर्किएका ढुंगानाले १६ जनवरी २०१९ मा सहचालक कोअर्डिनेसन तालिमसमेत लिएका थिए । कम्पनीले चेकोस्लोभाकियामा सो तालिम लिन पठाएको थियो । त्यसबेला उनले २५ घण्टाको ग्राउण्ड तथा छ घण्टा फ्लाइट ट्रेनिङ गरेका थिए ।