आइपिएल : हैदराबादविरुद्ध सन्दीप लामिछाने आवद्ध दिल्लीको सहज जित
हैदराबाद : इन्डियन प्रिमियर लिग(आईपीएल) को आइतबारको खेलमा दिल्लीले सहज जित निकालेको छ। हैदराबादविरुद्ध खेलमा विदेशी खेलाडी सचम्किदा दिल्लीले ३९ रनको जित निकालेको हो।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा भएको खेलमा टस हारेर दिल्लीले पहिले ब्याटिङ गरेको थियो। दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रनको मध्यम स्कोर बनाएको थियो। १५६ रनको विजयी लक्ष्य पाएको हैदराबादले १८.५ ओभरमा ११६ रन बनाउँदा सबै विकेट गुमायो।
१५६ रनको सामानय लक्ष्य पाएको हैदरावादका लागि ओपरन जोनी ब्रेस्टव र डेभिड वार्नरले ९.४ ओभरमा ७२ रनको साझेदारी गरी टोलीलाई सहज जिततर्फ डोर्याएका थिए। ब्रेस्टव किमो पउलको बलमा रबाडाबाट क्याच आउट भएपछि हैदरावादको दशा सुरु भयो। त्यसपछि पनि विकेट जाने क्रम रोकिएन।
चौथो विकेटकोरूपमा वार्नर आउट भएपछि हैदरावादले थप १० रन जोड्दा बाँकी ६ विकेट गुमायो। वार्नरले ५१ र बेस्ट्वले ४१ रन बनाए पनि अन्यले दोहोर अंकको स्कोर जोड्न सकेनन्। ४४ रन जोड्दा १० विकेट गुमाई हैदरावाद दिल्लीसामु निरीह बन्यो।
आइतबारको खेलमा पनि नेपालका सन्दीप लामिछानेले प्लेइङ ११ मा अटाएनन्। सन्दीपको ठाउँमा खेलाइएका वेस्टइन्डिजका बलर किमो पउल प्लेयर अफ दी म्याच बने। आइतबारको खेलमा तीनै जना विदेशी बलरले उत्कृष्ट बलिङ गरेका कारण अर्को खेलमा पनि सन्दीपलाई दिल्लीले टोलीमा समावेश गर्ने सम्भावना कम देखिएको छ।