आइपीएलमा आज: धोनी भर्सेस वार्नर
काठमाडौं। जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज हुने चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीचको खेल दुई टोलीभन्दा पनि दुइ खेलाडीबीचको खेलको रुपमा चित्रण गर्न सकिन्छ ।
पछिल्ला चारवटै खेलमा हैदरावादलाई चेन्नईले हराएको छ । २ वर्षे प्रतिवन्धसकिएपछि आइपीएल खेलेको चेन्नईले गत संस्करणमा हैदरावादलाई ४ पटक हरायो । समुह चरणका दुई खेल तथा पहिलो क्वालिफायर र फाइनल खेलमा हैदरावाद चेन्नईसामु निरीह रहयो । हैदरावादले खेल हार्नुको प्रमुख कारण थियो डेविड वार्नरको अनुपस्थिति । अष्ट्रेलियन क्रिकेट बोर्डले लगाएको एकवर्षे प्रतिबन्धका कारण उनले पुरै संस्करण नै खेल्न पाएका थिएनन् । जसको फाइदा महेन्द्र सिंह धोनीले उठाएका थिए । दुई खेलको प्रदर्शन बराबरीमा हुँदाहुँदै पनि धोनीको कप्तानीले चेन्नईको पक्षलाई बलियो बनाएको थियो ।
आज नेपाली समयअनुसार बेलुका सवा ८ बजे हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई टोली भिड्दा धोनीको कप्तानी र वार्नरको जारी उत्कृष्ट लयमा ब्याटिङ हेर्न लायक हुनेछ । जारी आइपीएल संस्करणमा ८ खेलमध्ये ७ मा जीत हासिल गरेको चेन्नई धोनीको सफलता दर्शाउछ भने ७ खेलमा ४ सय रन बनाएका वार्नर मैदानमा डटेर खेल्ने स्पष्ट छ । यी दई टोली जारी संस्करणमा भने पहिलो पटक भिड्दैछन् । घरेलु मैदान भएका कारण हैदरावादले जित्ने आँकलन गरिएको छ भने प्रतियोगितामा १ मात्र हार बेहोरेको चेन्नई भने रणनीतिक रुपमा प्रस्तुत हुनेछ । धोनी र वार्नरबीचको यो भीडन्त भन्ने हेर्न लायक हुनेछ ।