यसरी गर्नुहोस् डिप्रेसनको पहिचान
डिप्रेसन धेरै प्रकारका मानसिक रोगमध्ये एक हो । डिप्रेसनले व्यक्ति बानी व्यवहारमा सकेत असर पु¥याउँछ । साथै, मानसिक रुपमा अनेकन समस्या निम्त्याउँछ । जब मानिसमा डिप्रेसन हुन थाल्छ, निराशापन बढ्दै जान्छ । मनमा अनेकन नकारात्मक विचार आउन थाल्छन् । यसलाई सुरुमै पहिचान गरेर उपचार गरिएन भने समस्या झनै बढेर जान्छ । त्यसपछि जिन्दगी नै बेकारको महसुस हुन थाल्छ । समस्याको तीव्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हुन थाल्छ । मर्ने चाहना पछि गएर आत्महत्या गर्नेसम्म पुग्न सक्छ । वेलैमा पहिचान नभएका कारण राम्रो उपचार नहुनाले पनि डिप्रेसन रोग बढ्दै गइरहेको देखिन्छ । त्यसैले डिप्रसनका बारेमा जनमानसमा सही जानकारी दिनुपर्ने हुन्छ । त्यसका लागि यसका लक्षण जान्न आवश्यक छ ।
मुडमा परिवर्तन
जब मानिस डिप्रेसनको सुरुको अवस्थामा हुन्छ । त्यतिबेला व्यक्तिको मुडमा परिवर्तन आउँछ । दुःखी हुने, रित्तो महसुस गर्ने र रुन मन लाग्ने खालका भावना आउँछन् । यसर्थ, डिप्रेसनका मुख्य लक्षणमध्ये कमजोर मुड(लो मुड) पनि एक हो ।
बेखुसी
इच्छा र खुसी घट्दै जानु डिप्रेसनको अर्को लक्षण हो । कुनै कुराप्रति चाहना नहुनुका साथै खुसीमिृत महसुस हुँदैन । दैनिक क्रियाकलापलगायत अन्य महत्वपूर्ण क्षेत्रमा समेत इच्छा घट्दै जाने गर्छ ।
तौल घटबढ
जब मानिसमा डिप्रेसन हुन थाल्छ, तौलमा परिवर्तन देख्न सकिन्छ । तौल कि बढ्छ कि घट्ने गर्छ । अध्ययनअनुसार बच्चामा भने तौल बढ्ने गरेको पाइएको छ ।
निद्रामा असन्तुलन
डिप्रेसन भएपछि प्रायः मानिसमा राती निदाउन नसक्ने, तर दिउँसो भने निद्रा बढी लाग्ने लक्षण देखिन्छ । कसैलाई आवश्यक्ता भन्दा बढी निद्रा लाग्ने त कसैलाई निद्रा नलाग्नेसमेत हुन सक्छ ।
थकान
आवश्यक्ता भन्दा बढी थकान हुनुका साथै अत्यन्त कम उर्जा पैदा भएको महसुस हुनेजस्ता लक्षण डिप्रसजन भएका मानिसमा देखिने गर्छ । यसले गर्दा कुनै कुरामा एकाग्र हुन नसक्ने, निद्रा नपुगेजस्ता लक्षण देखिने गर्छ । अत्याधिक थकानले गर्दा शारीरिक परिश्रम गर्नसमेत कठिनाइ हुने गर्छ ।
पश्चात्ताप महसुस
डिप्रेसनबाट पीडित मानिसलाई हरेक कुरामा पश्चात्ताप महसुस हुने गर्छ । उनीहरु हरेक कुरामा आफू अयोग्य भएको महसुस गर्छन् । कुनै पनि कुरामा आफ्नो नियन्क्रण नहुने नकारात्मक विचार बढी आउने गर्छ । जसले गर्दा सकारात्मक कुरामा समेत पश्चात्ताप र हीनताबोध हुन्छ ।
मर्न मन लाग्ने
डिप्रेसन भएका मानिसमा हीनताबोध बढी नै हुन्छ । यस्तो हुँदा उनीहरुमा मृत्युको विचार आउने गर्छ । अत्याधिक डिप्रसन भएमा आत्महत्याको समेत विचार आउने गर्छ । यद्यपि, विचार आउँदैमा आत्महत्या गर्छन् नै भन्ने चाहिँ हुँदैन । तर, नैराश्यताको भाव भने बढी नै आउने गर्छ ।
नयाँ पत्रिकाबाट