कभर स्टोरी

नेपाली स्याटेलाइट : ठूलै उपलब्धि कि सस्तो लोकप्रियता ?

नेपाली स्याटेलाइट : ठूलै उपलब्धि कि सस्तो लोकप्रियता ?

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह ‘नेपाली स्याट–१’ अन्तरिक्षमा प्रक्षेपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताए । अमेरिकाको भर्जिनियास्थित अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको थियो । एन्टारेस नामक वायुयानले नेपालको पनि भू–उपग्रह बोकेर त्यसतर्फ गएको छ । 


‘नेपाली स्याट–१’ नामक भू–उपग्रह नानो स्याटेलाइट अर्थात सानो आकारको कृत्रिम उपग्रह हो । जुन पृथ्वीको अर्बिटमा घुम्नका लागि पठाइएको हो । यसले अन्तरिक्षबाट विभिन्न डाटा पठाउनेछ । जसबाट मौसमसम्बन्धी जानकारी प्राप्त हुने उल्लेख गरिएको छ । 

 

नेपाल जस्तो सानो, तन्नम गरिब मुलुकले स्याटेलाइट अन्तरिक्षमा पठाएको समाचारले आश्चर्यचकित बनाउछ नै । तिलस्मी कुरा र सस्तो लोकप्रियता कमाउन हुटहुटी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा ट्वीट नै गरेपछि नानो स्याटेलाइटबारे जिज्ञासा उत्पन्न भएको छ । यो स्याटेलाइट के प्रयोजनका लागि हो, कसले खर्च गरेको हो र कति खर्च भएको छ भन्ने विषयमा धेरै कुरा सार्वजनिक भइसकेको छैन । 

 

आखिर के हो नानो स्याटेलाइट ?

नानो स्याटेलाइट अर्थात् नामबाटै यो सानो भू-उपग्रह भन्ने बुझिन्छ । यसलाई स्मल स्याट्स वा स्मल स्याटेलाइट्स पनि भन्ने गरिन्छ  । यस्ता भूउपग्रह बर्सेनि अन्तरिक्षमा पठाइन्छ । सुरक्षा, अनुसन्धान, मौसम आदि क्षेत्रमा यस्ता स्याटेलाइटको प्रयोग हुन्छ । १ केजी देखि १० केजी वजन भएका भूउपग्रहलाई नानो स्याटेलाइट भनिन्छ । नेपाली स्याटको वजन एक केजी भएका कारण यसलाई पनि नानो भनिएको हो । 

 

सन २०१५ देखि १९ को बीचमा युरोपेली मुलुकले ५ सय वटा नानो स्याटेलाइट प्रक्षेपण गरेका थिए । छिमेकी मुलुक भारतको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो)ले सन २०१७ मै १०३ वटा नानो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । यस्ता सानो भू-उपग्रहले अन्तरिक्षमा एक वर्ष  जति काम गर्न सक्छन् । 

 

साना भू-उपग्रहहरु अन्तरिक्षमा प्रक्षेपण गर्ने काम उद्योगका रूपमा विश्वमा विकसित भएको छ । पैसा हुने जो कोहीले अन्तरिक्षमा आफ्नो भू-उपग्रह पठाउन सक्छ । यसका लागि राज्यले मात्रै होइन, विभिन्न कम्पनी, विश्वविद्यालय, अनुसन्धान केन्द्रले पनि पठाउन सक्छन् । 

 

नानो स्याटेलाइट पठाउने कामका लागि पम्पकिन स्पेस सिस्टम, एएसी माइक्रोटेक, एडकोल मेरिल्याण्ड एरोस्पेस, ब्लु क्यान्योन टेक्नोलोजी जस्ता धेरै कम्पनीहरू छन् । नासा, इस्रो जस्ता सरकारी संस्थाहरूले पनि यस्ता काम गर्छन् । 

 

खर्च कति लाग्छ ?

स्याटेलाईट अन्तरिक्षमा प्रक्षेपण गर्न लाग्ने खर्च भनेको उपग्रहको आकार र तौलले निर्धारण गर्छ । विभिन्न कम्पनीहरूले सस्तो दरको अफरहरु पनि ल्याइरहेका हुन्छन् विश्व बजारमा । १ केजीको नानो क्युब स्याटेलाइट अन्तरिक्षमा पठाउन १ लाख अमेरिकी डलर जति लाग्न सक्छ अर्थात् नेपाली १ करोड ११ लाख जति । तर विश्व बजारमा वान यु बराबर ५० हजार डलर लाग्ने बताइन्छ । वान यु साइजमा ४५.४४ एमएम उचाई हुन्छ । 


अर्थात १४ हजार करोड बजेट भएको मुलुकले सवा करोड जति खर्चेर गरेको काम आर्थिक दृष्टिले ठूलो पटक्कै होइन । तर कामको दृष्टिले यो नवीन आयाम भने हो । यो सामग्री पब्लिक न्युज एजेन्सीबाट लिइएको हो।

भू-उपग्रह नेपाली स्याटेलाइट

विशेष