विश्वकप खेल्ने नेपाली युवा टोलीको लक्ष्य अधुरो
नमिता दाहाल, काठमाडौं। आइसीसी यू–१९ विश्वकपको एशिया क्वालिफायरमा आज अन्तिम खेलमा कुवेतलाई पराजित गरेपनि नेपालले आगामी विश्वकपमा स्थान भने बनाउन सकेन् । विश्वकप खेल्ने नेपालको सपना अधुरो बनाउदै यूएई भने विश्वकप खेल्ने भएको छ ।
प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई आठ विकेटले हराए पनि यसअघि वर्षाले प्रभावित युएईसँगको खेल गुमाएका कारण विश्वकपमा स्थान पनि गुमाउनुपरेको हो । मलेसियाको क्वालालामपुरस्थित किनरारा एकेडेमी ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले ४९.४ ओभरमा अलआउट हुदै १ सय ५७ रन बनाएको थियो ।
कुवेतका लागि नोमान बुद्रोले सर्वाधिक ७० रन बनाए भने गोकुल कुमारले ३६ तथा हामुद अमानुल्लाहले १७ रन बनाए । मीट भावसरले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेन् । नेपालका रोहितकुमार पौडेलले ३ विकेट लिए भने रासिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २/२ विकेट लिए ।
कुवेतले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा २८ ओभरमा पुरा गर्यो । नेपालका लागि दुई जना ओपनिङ ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका थिए । ८४ बलको सामना गरी रित गौतमले ५२ रन बनाए भने अर्का ओपनर पवन शर्राफले ६१ बलमा ५३ रन बनाए ।
नटआउट रहदै नेपाललाई खेल जिताएका आशिफ शेखले २० बलमा ३३ रन तथा सन्दीप जोराले ३ बलमा ५ रन बनाए । कुवेतका अब्दुल शदिक तथा हामुद अमानुल्लाहले समान १/१ विकेट लिए ।
यु-१९ विश्वकप छनोट