मुख्य समाचार

गुठी संस्थानलाई नै थाहा छैन, आफ्नो जग्गा कति छ, कहाँ कहाँ छ ? 

गुठी संस्थानलाई नै थाहा छैन, आफ्नो जग्गा कति छ, कहाँ कहाँ छ ? 

काठमाडौं । भू–माफियाको चलखेल कतिसम्म हुँदो रहेछ भन्ने कुरा त काठमाडौं बालुवाटारको ११३ रोपनी जग्गा भूमाफियाले बेचेको घटनाबाट प्रष्ट हुन्छ । सार्वजनिक हितका लागि भनेर सरकारले पहिलेदेखि नै गुठीको प्रबन्ध गरी राखेको जग्गाको लगत पनि स्पष्ट नरहेको पाइएको छ । 

 

महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा गुठी संस्थाले आफूसँग रहेको जग्गाको लगत राख्न नसकेको औल्याइएको छ । गुठी संस्थानको नाममा मुलुकभर ७० जिल्लामा जग्गा छ । तर ती सबैजसो जिल्लामा रहेको गुठीको जग्गा अतिक्रमणमा परेको छ । 

 

जनकपुरमा विभिन्न गुठीहरुको १ हजार १८८ कित्ता, दाङको नारायणपुरमा रहेको १५७ रोपनी, काठमाडौं महानगरपालिका अन्तगर्त गुह्ेश्वरी सिन्दुर चन्दन तैनाथी गुठी, भण्डारेश्वर गुठी, एवं टेकु, जगन्नाथ मन्दिरको तैनाथी गुठीको जग्गा अतिक्रमणमा परेको महालेखाले उल्लेख गरेको छ । महालेखाले अतिक्रमित जग्गाको लगत राखेर अतिक्रमणमा परेको क्षेत्र खाली गराउन सुझाव दिएको छ । 

 

जनकपुरमा रहेको बाराही गुठीको जग्गामध्ये १० कित्ताका ६ विघा ३ कठ्ठा पाँच धुर जग्गा सञ्चालक समितिको ५० साल जेठ ३ गते को र नेपाल सरकारको ७५ साल जेठ १३ गतेको निर्णयअनुसार जनकहजारी विद्यापीठलाई अध्ययन कार्य सञ्चालन हुँदासम्मको लागि भोगचलन गर्न उपलब्ध गराउने गरी दिइएको थियो । यसरी भोगचलन भइरहेको जग्गामध्ये शिट नम्बर १३५४/१४ को  कित्ता नम्बर १, २, २८ र ४९ को २ विघा, १४ धूर जग्गा रत्नसागर मठको महन्थले कीर्ते गरी मठका पुजारीको नाममा मोही कायम गरी नामसारी गरेको उजुरी पनि परेको थियो । जग्गाधनी महलमा रत्नसागर गुठीको नाम  र सोही महलमा आफ्नै मठका पुजारीको नाम उल्लेख गरी लालपूर्जा बनाएको महालेखाले खुलासा गरेको छ । 

 

त्यसरी कब्जा गरिएको जमिन फिर्ता लिन महालेखाले सरकारलाई सुझाव दिएको छ । 

 

गुठी संस्थानको स्वीकृति बेगर पनि सरकारी निकायले समेत जमिन प्रयाग गरिरहेको प्रतिवेदनमा जनाइएको छ । त्यसरी गुठीको जग्गा प्रयोग गर्ने तर गुठीलाई मुआब्जा, क्षतिपूर्ति, बहाल नबुझाउँदा संस्थानको आय घटेको दावी गरिएको छ । 
 

विशेष