ओली सरकारको कृषि क्रान्तिः ६३ करोड बढी तिरेर रासायनिक मल किनियो
काठमाडौं । वर्सेनि नेपालका किसान रासायनिक मल नपाएर पीडित हुन्छन् । मल खरिद बिक्री गर्ने सरकारी निकाय भने कताबाट बढी कमिसन आउँछ र त्यतिबाट खरिद गर्ने भन्ने ध्याउन्नमा लिन हुन्छन् । जसका कारण यसपटक साल्ट ट्रेडिङले ६३ करोड रुपैयाँ बढी खर्च गरेको भेटिएको छ ।
महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा साल्ट ट्रेडिङले ७५ सालमा ६३ करोड रुपैयाँ बढी तिरेर चीनबाट युरिया मल खरिद गरेको औंल्याएको छ ।
साल्ट ट्रेडिङले बहराइनबाट प्रतिटन ( १ हजार केजी) ३२ हजार ६६८का दरले २७ हजार १९१ टन युरिया खरिद गरेको थियो । चीनबाट त्यही युरियाका लागि प्रतिटन ४१ हजार ३७का दरले ५७ हजार ७४६ टन खरिद गरियो । अर्थात चीनबाट किनिएको मल एक टनमै ८ हजार ३६९ रुपैयाँ बढी तिरिएको पाइएको छ । समयमै बहराइनबाट आवश्यक मल नकिन्दा युरियामा मात्रै साल्ट ट्रेडिङले ४८ करोड ३२ लाख ७६ हजार नोक्सानी व्यहोरेको छ ।
युरियामा मात्रै होइन, डिएपीमा पनि साल्ट ट्रेडिङले त्यस्तै गरेको छ । चीनबाट आयात गर्ने गरी डिएपी औसतमा प्रतिटन ४६ हजार ६९ का दरले खरिद गरेको छ । पछि चीनकै अर्को कम्पनीसँग ५३ हजार ९६२ रुपैयाँका दरले १९ हजार ५४१ टन डिएपी खरिद गरेर १५ करोड ४२ लाख ३९ हजार बढी खर्च गरेको छ ।
बढी मूल्यमा खरिद गरेपछि किसानले पनि बढी नै तिरेर किन्नु पर्छ । जसका कारण नेपाली कृषकको लागत मूल्य बढ्ने गर्छ । प्रतिस्पर्धी मूल्यमा फसल उत्पादन गर्न नसक्दा नेपाली उपज विदेशी उपजसँग प्रतिस्पर्धा गर्न नसक्ने हुन्छन् ।
सरकारले कृषिमा ठूला सपना देखिरहेको छ । तर साल्ट ट्रेडिङको यस्तो हचुवाको व्यापारका कारण नेपाली किसानमा परेको मारमा भने मौनता देखाइरहेको छ ।
‘माफ गर्नुहोला ! तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन’ भन्ने आवाज भूमिका थापा शाहको हो । नेपाल टेलिकमको सिम प्रयोगकर्ताले दिनहुँ सुन्ने आवाज शाहकै हो ।