सरकारलाई फापेको बाख्रा व्यापार
काठमाडौं। तपाईं ‘पहाडकी रानी’ पर्यटकीय नगरी बन्दिपुर जाँदै हुनुहुन्छ ? यदि त्यता जाने तर्खरमा हुनुहुन्छ भने सरकारी स्वामित्वमा रहेको बाख्रा अनुसन्धान केन्द्र घुम्न नविर्सनु होला । नेपालकै नमूना फार्मका रुपमा विकसित केन्द्रमा रहरलाग्दा खसी, बाख्रा देख्न पाउनु हुनेछ । केन्द्रले विभिन्न नौ जातका १६ प्रकारका बाख्राका साथै डाले घाँसको अनुसन्धान गरेर सफलता पाएपछि उक्त फार्म देशकै नमून बन्दै गएको छ ।
केन्द्रले जिल्लाका विभिन्न १२ स्थानमा शाखा केन्द्र सञ्चालन गरेर बाख्रापालन र बाख्रा अनुसन्धान कार्य गर्दै आएको छ । उक्त केन्द्रले हाइब्रिड पद्धतिबाट बाख्रा उत्पादन गर्ने, बाख्रापालनसम्बन्धी तालिम दिने र डाले घाँसको अनुसन्धान र कृषकलाई व्यावसायिक रुपमा उत्प्रेरित दिने काम गर्दै आइरहेको छ । अहिले यहाँ उत्पादित बाख्रा तथा बोकाको देशव्यापी माग बढेको छ ।
पहाडी क्षेत्रमा पाइने बोयर, जमुनापारी, खरी, वारवारी, सानेन, टोजेनवर्ग, नुवियानलगायतका उन्नत जातका बाख्रा कृषकलाई उपलब्ध गराउँदै आएको उक्त केन्द्रले जनाएको छ ।
कृषक लागि सो केन्द्रले जन्मदर बढी हुने, छिटो तौल बढ्ने, छिटो बाली जाने, कम रोग लाग्ने दूध मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुने र चाँडो फाइदा हुने जातका बाख्रा उपलब्ध गराउँदै आएकाले कृषक प्रत्यक्ष लाभान्वित हुने गरेका छन् । बोयर जातको खसी, बाख्रा त दिनमै चार सय ग्रामसम्म तौल बढ्ने खालको हुने पशुविज्ञ बताउँछन् ।