प्रधानमन्त्री ओलीको संदेश: "नेपाल श्रीलंकाको साथमा छ"
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिष्फोटको निन्दा गरेका छन् ।
श्रीलंकाली समकक्षी रनिल विक्रेमेसिंगेलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले आज भएको बम विष्फोट मानवताविरोधी भएको र दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारवाही गर्नुपर्ने उल्लेख गरेका छन् । हरेक किसिमका आतङ्कवादी गतिविधिविरुद्ध नेपाल रहेको प्रधानमन्त्री ओलीको पत्रमा उल्लेख छ । बिष्फोटमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपाल तथा नेपाली जनता श्रीलंकाको साथमा रहेको उल्लेख गरेका छन् ।
श्रीलंकामा ८ वटा बम बिष्फोटमा परी अहिलेसम्म १ सय ९० जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् । सुरुमा भएको ६ बिष्फोटपछि सुरक्षा कडा पारिएपनि थप २ बिष्फोट भएका छन् । अहिलेसम्म कुनै संगठन बिष्फोटको जिम्मेवारी लिएको छैन् ।