मुलुकमा नयाँ ‘व्यवस्था’ होइन ‘व्यवस्थापन’ को खाँचो (भिडियोसहित)
व्यवस्थापन बिज्ञ प्रमेस केसीको निष्कर्ष छ, ‘ अध्ययन र अनुभव बिनाका नेताहरुका कारण मुलुक अस्तव्यस्त भयो ।’
मुलुक हाँक्ने अधिकांश नेताहरुमा औपचारिक अनौपचारिक अध्ययन भएन । कुनै अनुभव पनि भएन । यसले उनीहरुको सोचको दायर साँघुरिएको छ । वरिपरि स्वार्थीहरुको झुण्ड छ । जसले जे सुनायो त्यही ठीक लाग्ने । आफनो कुनै विश्लेषण र दृष्टिकोण छैन । यसले गर्दा अपरिपक्व निर्णय हुन्छन् र त्यसले परिणाम पनि उल्टो दिइरहेको छ ।
नेताहरुसहित सरकारी सेवाको उच्च तहमा रहेकाहरुमा त्याग र समर्पणको भाव भएन । नेताहरुले राजनीतिलाई ‘करियर’ बनाए । आफनो परिवार, नातागोता, इष्टमित्र, शुभचिन्तक लगायतलाई जागिर ख्वाउनमै सम्पूर्ण ध्यान केन्द्रीत गरे । कसरी धन थुपार्न सकिन्छ भन्नेमै दिनरात लागे, राज्यश्रोतको दोहन गर्नु प्रमुख धर्म सम्झे ।
नेताहरुले राज्यका सबै निकायमा आफना निकटस्थहरुलाई मात्र भर्ती गरे । यहाँ दक्षता र क्षमताको कदर कहिल्यै भएन । यसले के कर्मचारी तन्त्र, के सेना, के प्रहरी, के अख्तियार, के न्यायालय....सबैतर्फ राजनीतिक प्रभाव छायो । सबै निकाय व्यावसायिक हुनुपर्नेमा ठीक उल्टो यसले राजनीतिक दल र नेताहरुको चाकडी गर्न सिकायो । जसले नेताहरुको चाकडी गरेन, त्यो समाप्त हुने स्थितिमा पुग्यो । व्यवसायिक, दक्ष र क्षमतावान मान्छेहरु पन्छिदै गए, पलायन भए ।
यो क्रम नेपालका हरेक कालखण्डदेखि अनवरत चलिरहेको छ । राणा शासन, पञ्चायत, राजसंस्था फालेर आज संघीय गणतान्त्रिक व्यवस्थामा आइपुग्दा समेत यसले निरन्तरता पाइरहेको छ । यसकारण मुलुकको समस्या कुनै अमुक व्यवस्था होइन ।
बिज्ञ केसी भन्छन्,‘ सफा नियत भएको नेतृत्व र असल व्यवस्थापन भए मुलुकका सबै समस्या हल हुन्छन् । व्यवस्थाले होइन व्यवस्थापनले समाधान दिन्छ । ’
सफा नियत भएको नेता र कुशल व्यवस्थापनका लागि नेताहरुको आफनै स्वधर्मले काम गर्ने केसी बताउँछन् । उनी भन्छन्, ‘ नेताहरुमा सोच राम्रो आउनु पर्यो, मरेर कसले के लैजान्छ ? यस्तो काम गरौं जसले अमर राखोस । सबैले सम्झिउन । त्यस्तो एउटा मात्रै नेता भएपनि उसको पछि लाग्न तीन करोड नेपाली तयार छन् । त्यस्तो नेता नेपाल र नेपालीका लागि भगवान हुनेछ । ’