खेल

आइपीएलः सन्दीप आवद्ध दिल्ली १४ रनले पराजित

आइपीएलः सन्दीप आवद्ध दिल्ली १४ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाव विजयी भएको छ । सोमबार राति भएको खेलमा दिल्लीलाई १४ रनले हराउँदै पन्जाव विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १५२ रनमा अल आउट भयो । पञ्जाबका साम कुरानले ह्याट्रिक विकेट लिएपछि दिल्ली पराजित हुन पुग्यो । उनले १८ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई बोल्ड आउट गरेका थिए । त्यसपछि २० औं ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै कुरानले ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो बलमा कासिगो राबडा र तेस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरेका थिए । 

 

रनको खाता नखोल्दै पृथ्वी शलाई गुमाएको दिल्लीका लागि शिखर धवन र श्रेयश अय्यरले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । शिखर ३० रनमा आउट हुँदा श्रेयस २८ रनमा पेभेलियन फर्किए । कोलिन इन्ग्राम र ऋषभ पन्तले उत्कृष्ट पारी खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए । १४४ रनमा चौथो विकेट गुमाएको दिल्लीले बाँकी ८ रन जोड्दा बचेका ६ विकेट खेर फालेको थियो । दिल्लीलाई रोक्न कुरानले ह्याट्रिकसहित चार विकेट लिए भने मोहमद शामीले र रविचन्द्र आश्विनले दुई–दुई विकेट लिए ।


 
टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रन बनायो । उसका लागि डेबिड मिलरले सर्बाधिक ४३, सरफराज खानले ३९, स्याम करनले २०, केएल राहूलले १५ र मन्दीप सिंहले नट आउट २९ रन बनाए । बलिङमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए । उनले स्याम करनलाई २० र सरफराज खानलाई ३९ रनमा आउट गरे । यस्तै, क्रिस मोरिसले ४ ओभरमा ३० रन खर्चिएर ३, कागिसो रबाडाले २ विकेट लिए ।  

इन्डियन प्रिमियर लिग सन्दीप लामिछाने

विशेष