प्रवास

आंशिक खुल्यो मलेसिया रोजगारी 

आंशिक खुल्यो मलेसिया रोजगारी 

काठमाडौं । लामो समयदेखि बन्द मलेसिया रोजगार आइतबारदेखि आंशिक खुला भएको छ । भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थालेका छन् । नयाँ भिसाका लागि प्रक्रिया सुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ ।

 

मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थालाई १५ दिनभित्र सूचीकृत हुन अनुरोध गरेको हो। मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए । दुई सय ३७ वटा संस्था संस्था दर्ता छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो।

 

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन । स्वास्थ्य परीक्षणका लागि मलेसियाले नयाँ मापदण्ड पठाएपछि सरकारले गृहकार्य गरेर मापदण्ड पुग्ने संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो । जेठदेखि रोकिएको मलेसिया रोजगार अब खुल्ने अन्तिम चरणमा पुगेकामा व्यवसायीसमेत खुसी देखिन थालेका छन् । प्रवक्ता डा. नारायण रेग्मीले मलेसियाले पठाएको मापदण्डका आधारमा सरकारले सूचना जारी सूचीकृत हुन आह्वान गरेको जानकारी दिए।

 

रेग्मीका अनुसार यसअघि स्वास्थ्य परीक्षण गर्दै आएका ३७ वटा बायोमेट्रिक संस्थासमेत सूचीकृत हुन पाउँछन्। ‘मापदण्ड पुग्ने सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनेछन्’, उनले भने । देशभर दुई सयभन्दा बढी स्वास्थ्य परीक्षण गर्ने संस्था छन्। १० महिनासम्म मलेसिया नखुल्दा रेमिट्यान्स पनि घट्ने देखिएको छ। गत वर्ष रेमिट्यान्समा मलेसियाको योगदान करिब एक तिहाइ थियो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
 

नयाँ मापदण्डका आधारमा प्रतिश्पर्धात्मक ढंगबाट स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट हुने प्रवक्ता रेग्मीले बताए। मलेसियाले विद्यमान संस्था हटाउन नचाहँदा र नेपाल सरकार त्यही संस्थाबाट कामदार पठाउन अनिच्छुक देखिँदा सम्झौता भएको चार महिना बितिसक्दा पनि पनि कामदार मलेसिया जान पाएका थिएनन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

मलेसिया रोजगारी

विशेष